+
+
‘द समिट होटल एण्ड रेसिडेन्स’ :

नक्सा पासबिनै ठूलो संरचनाको जग खन्दा बस्ती नै जोखिममा

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ चैत २६ गते २२:०५

२६ चैत, काठमाडौं । कुपण्डोल हाइटको होटल ग्रिनवीच भिलेजमा शुक्रबारसम्म २० वटा कोठामा पाहुनाहरु थिए । तर, एक्कासी राति साढे २ बजेदेखि रातारात होटलमा कोलाहल मच्चियो ।

तीन तारे होटलका रिसेप्सनिस्ट मिलन सापकोटाका अनुसार होटलका कोठा, लविदेखि स्वीमिङ पुल र कोठाहरु चर्किन थाले । होटलले आफ्ना पाहुनालाई त्यहाँबाट निकालेर अन्यत्रै लैजानुपर्यो ।

होटलको जस्तै रुवाबासी नजिकैको अन्य घरहरुमा पनि भयो । सोही होटलको पछिल्तिरको एक घर मध्यरातमै गर्लमै लड्यो ।

घर मालिक पवित्र विष्टका अनुसार शुक्रबार राति उनका दुई छोराहरु आफ्नो भाडाको घरको छतमा बसेर खाना खाँदै रमाइलो लिइरहेका थिए । नजिकै बन्दै गरेको होटल तथा अपार्टमेन्टको संरचनाका कारण घर चर्किन थालेपछि केही समयदेखि बाहिरबाट घर हेर्न कुरुवा नै राख्नुपरेको थियो । कुरुवाले उनका छोराहरुलाई त्यो घरमा रात बस्न दिएनन् ।

‘घर चर्किएको भन्दै मेरा छोराहरु यहाँबाट राति निस्किएर हामी बस्ने घरमा आए, राति २ बजे घर लड्यो’, विष्टले भनिन् ‘मेरो बच्चाहरु भाग्यले बाँचे, पुर्ख्याैली सम्पत्ति ध्वस्त भयो । कसैको व्यवसायिक स्वार्थका लागि मेरो र मसँगैका थुप्रै घरहरु ध्वस्त भयो ।’

‘द समिट होटल एण्ड रेसिडेन्स’ नाममा विभिन्न व्यवसायिक घरानाको लगानीमा यो संरचना निर्माण भइरहेको थियो । गत भदौदेखि नै जग खन्न थालिएको थियो ।

पीडित विष्टका अनुसार रातभरि चर्को आवाजमा जग खन्न थालेदेखि वरपरका घरहरु चर्किन सुरु भएको थियो । यसबारे ललितपुर महानगरपालिकालाई पटक-पटक जानकारी पनि गराइएको थियो । तर, कसैले नसुनेको विष्टले बताइन् ।

निजी संरचनामा समिट अपार्टमेन्टका कारण क्षति पुग्न थालेपछि समस्याहरु लिएर भवन निर्माणकर्ता र ललितिपुर महानगरसम्म पटक-पटक पुगेका छन् ।

तर, समस्या समाधानका लागि कसैले नसुनेको होटल ग्रिनवीचका सञ्चालक सशांक आचार्य बताउँछन् । ‘हामीले पनि पटक पटक भन्यौं, एक जना स्थानीयले त मेरो घर यसै पनि भत्किन थालिसक्यो, बरु भत्काइदेउ भनेर पनि भन्नुभयो’, सशांक भन्छन्, ‘अहिले वरपरका सबै संरचना लड्न थालेपछि बल्ल हाम्रो सरकारले देख्यो ।’ समिटको हेपाइका कारण आफ्नो होटलको मुख्य सिजनका सबै कार्यक्रम रद्द भएको आचार्यले बताए ।

नक्सापास छैन, बल्ल रोकियो निर्माण

साबिकको समिट होटललाई भत्काएर १६ रोपनी क्षेत्रफलमा ‘द समिट होटल एण्ड रेसिडेन्स’ बनाउन गत भदौमा काम सुरु भएको थियो । कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीको चौधरी ग्रुप र व्यवसायी रविभक्त श्रेष्ठ तथा अमृतरत्न शाक्य लगायतको व्यवसायिक समूहले ‘द समिट होटल एण्ड रेसिडेन्स’ नाममा यो संरचना बनाउन ६ अर्ब लगानी गर्ने दाबी गरेका छन् ।

होटल तथा अपार्टमेन्टका लागि बुकिङ खुला गरेर पैसा समेत उठाइएको संरचना भने नक्सापास बिनै निर्माण सुरु भएको खुलेको छ । एक सय २९ वटा अपार्टमेन्ट रहने होटलको संरचनामा निकै छिटो करिब ३२ फिट गहिरो जग खनेको र आवश्यक सुरक्षाका उपाय अबलम्बन नगरिएको पीडितहरु बताउँछन् ।

बन्दै गरेको होटल तथा अपार्टमेन्ट संरचनाका कारण दर्जन बढी घर ढलेपछि गुहार माग्दै स्थानीय बासिन्दा शनिबार बिहानैदेखि महानगर पुगे । यसअघि पटक पटक गुनासो गर्दा नसुनेको महानगरले घर नै ढलेपछि भने पीडितको क्षतिको स्थलगत अनुगमन गर्यो ।

आफ्नो क्षेत्रमा बन्दै गरेको यति ठूलो संरचनाबारे महानगरले सोधीखोजी गर्दा ‘द समिट होटल एण्ड रेसिडेन्स’को कुनै कागजात महानगरमा फेला नपरेको जवाफ दियो । कानुनी रुपमा अनुमति समेत नलिइ ‘द समिट होटल एण्ड रेसिडेन्स’ निर्माण भइरहेको थाहा पाएपछि स्थानीय बासिन्दा झन् आक्रोशित भएका छन् ।

‘हामीले सबै हेर्यौं, यति ठूलो पूर्वाधार बनाउन नक्सापासको अनुमति नै नलिई काम थालिएको रहेछ,’ ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले अनलाइनखबरसँग भने, ‘महानगरमा कुनै पनि फाइल नै पेश नगरी यति ठूलो संरचना बनाइएको रहेछ । यो गैरकानुनी हो ।’

मेयर महर्जनका अनुसार महानगरमा कुनै फाइल पेश नभएका कारण माटोको गुणस्तर परीक्षण, वातावरणीय प्रभाव मूल्यांकन र इन्जिनियरिङ डिजाइन केही नगरी बनाइएको भन्ने पुष्टि हुन्छ । ‘यो भवन बन्नेबारे कुनै फाइल नै महानगरसँग छैन,’ महर्जनले भने ।

आइतबार ललितपुर महामनगरका मेयर आफैंले पीडित र निर्माण पक्ष राखेर दुर्घटनाबारे छलफल गरेका छन् । महानगरले गरेको अध्ययनमा निर्माण भइरहेको संरचनाको इन्जिनियरिङ त्रुटिपूर्ण र असफल देखिएको छ । त्यहाँ सबै निर्माण कार्यमा रोक लगाइएको मेयर महर्जनले बताए । कम्पनीलाई स्थानीयलाई सुरक्षाको प्रत्यभूति गराउन भनिएको उनले दाबी गरे ।

तत्काल भएको क्षतिको उपचारका लागि निर्माणकर्ताबाट एक करोडको आपतकालीन कोष खडा गरिएको र महानगरका उपमेयरको संयोजकत्वमा छानबिन समिति गठन गरिएको पनि महानगरले जनाएको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?