+
+
Shares

देवतालाई सगुन चढाउन लाइन लागेका भक्तपुरका महिला (तस्वीरहरू)

रेणु त्वानाबासु रेणु त्वानाबासु
२०८० वैशाख ४ गते १४:४३

४ वैशाख, भक्तपुर । नेवारी पहिरन हाकुपटासी (परम्परागत कालो फरिया) मा सजिएका महिलाको लामो लस्करले सोमबार भक्तपुर नगर रोमाञ्चक देखिएको थियो ।

लाइनको बीचबीचमा दौरा सुरुवाल लगाएका र खर्पन बोकेका युवाहरुले पुरानो शैलीको मौलिक भक्तपुरको स्मरण गराएको थियो ।

नगरभित्रका सडकका पेटीमा जात्रा हेर्न बसेका जात्रालुको भीडले भक्तपुरलाई जात्रामय बनाएको छ । सोमबार बिस्का जात्राको आठौं दिन देवतालाई सगुन दिने जात्रा छ ।

नेपाल भाषामा यसलाई द्यो स्वगं वियगू जात्रा भनिन्छ । सोमबार भक्तपुरबासी आफ्नो मौलिक पोशाकमा नगरभित्रका देवस्थलको परिक्रमा गर्छन् ।

नौ दिन आठ रात लामो बिस्का जात्राको यो विशेष दिन पनि हो । बिस्का जात्राको क्रममा अरु दिन एउटा टोलमा मात्रै सीमित भएर जात्रा चल्ने भए पनि यो दिन भने भक्तपुर नगरभरि सबैतिर जात्रा चल्ने गर्छ ।

जात्राका क्रममा सयौं महिला लस्करै परम्परागत हाकुपटासीमा हिँड्छन् । उनीहरू प्रत्येकको हातमा देवतालाई चढाउन केही न केही खाद्य सामग्री हुन्छ । जसमा भोजका हरेक परिकार समावेश हुन्छ । जस्तै चिउरा, हरियो लसुन, अण्डा, चटामारी, बारा, गेडागुडी, माछा, आलु, चना, काउली, राँगाको मासुका परिकार, योमरी, भुटन, दही, मसला पाकेट, सिसा फुसा, पान, रक्सी, छ्यांग इत्यादि । साथमा खजुरी, जेरी, स्वारी, बिस्कुट, चकलेट, फलफूल चढाउनेको संख्या पनि उत्तिकै हुन्छन् ।

यी सामग्री उनीहरुले देवस्थलमा चढाउँछन् । इच्छाअनुसार दक्षिणा पनि चढाइन्छ । जात्राका क्रममा भक्तपुर नगरभरि विभिन्न टोलमा छरिएका ३३ स्थानका छुट्टाछुट्टै देवस्थलमा सगुन चढाइन्छ । नगरका विभिन्न स्थानमा रहेका अष्टमातृकाका आठसहित भैरव, गणेशलगायत ३३ गरी कुल ४१ वटा देवीदेवतालाई सगुन दिइन्छ ।

परिक्रमा गर्ने स्थान

सगुन यात्रा सूर्यमढीबाट सुरु भएर दत्तात्रय, गोल्मढी, सुकुलढोका हुँदै टौमढी पुग्छ । त्यस्तै गहिटी, लाकुलाछें, नासमना, भार्वाचो, इताछें, खौमा हुँदै दरबार क्षेत्र हुँदै तलेजू, चोछें, भोलाछें, थालाछें, नागपोखरी, तचपाल घुमेर पुनः सूर्यमढीमै पुगेको थियो । सूर्यमढी पुगेपछि जात्रा समापन हुने गर्दछ ।

सगुन चढाउने देवदेवीलाई यसअघि नै देवघर (द्योछेँ) बाट निकालेर नजिकैका चोकमा राखिएको हुन्छ । ३३ देवतामध्ये भद्रकाली र भैरवनाथलाई भने बिस्का जात्राको पहिलो दिन २७ चैतमा नै देवघरबाट निकाली रथमा राखिएको हुन्छ । जात्रापछि यी देवतालाई पुनः देवताघरमा फर्काइन्छ । यीमध्ये भैरव र भद्रकालीलाई भने वैशाख ५ गते जात्रा सकेपछि मात्रै देवघर फिर्ता गरिन्छ ।

संस्कृतिविद् ओमप्रसाद धौभडेल घरपरिवारमा महिलाले खाना खुवाइदिने अर्थमा देवतालाई पनि महिलाले नै सगुन दिने चलन रहको बताउँछन् । तथापि जात्रामा पुरुष पनि सहभागी हुन्छन् । उनीहरु बाजागाजा बजाउन, स्वयंसेवक हुन र पानी बोकेर खुवाउन व्यस्त हुन्छन् ।

धौभडेलका अनुसार सबै देवताको एकैदिन पूजा गर्ने यो जात्राको विशेषता होे । अरु बेला कुनै दिन ब्रह्मायणी त कुनै दिन अर्कै कुनै देवताको मात्रै पूजा हुने तर यो दिन सबै देवताको एकैदिनमा पूजा हुने भएकाले यसको छुट्टै महत्व रहेको उनी सुनाउँछन् ।

बो छायगू स्थान (देवतालाई सगुन चढाउने स्थानहरु)

मुलाखु गणेश, श्वेत भैरव, मनकामना, तेखाचो गणेश, बाराही अजिमा, च्वाङा गणेश, फैध्वाका गणेश, ईटाछेँ गणेश, ईन्द्रायणी, बलाखु गणेश, त्रिपुरा सुन्दरी, छुमा गणेश, महाकाली, योछेँ गणेश, महालक्ष्मी, थालाछेँ गणेश, बालकुमारी, सल्ला गणेश, नित्यनाथ, भाजं भैरव, कृति प्वाक गणेश, यातु गणेश, नवदुर्गा, बालकुमारी, यामिसिंके बालकुमारी, तालातुंछी गणेश, मचो भैरव, ब्रम्हायणी देवी, महेश्वरी देवी, सिद्धि गणेश, तँच्वय गणेश, दहि बिनायक, कुमारी देवी, भद्रकाली, बेताल, भैरबनाथ, गय भीमसेम, लाकोलाछेँ गणेश, श्वेत (वटुक) भैरव, ज्याठा गणेश, सूर्यविनायक गणेश ।

जात्रा विहान ४ बजेदेखि बेलुका ९–१० बजेसम्म हुन्छ ।

हेर्नुहोस् तस्वीरहरु

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर 

लेखक
रेणु त्वानाबासु

अनलाइनखबरकी संवाददाता त्वानाबासु समाज र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?