+
+

ऋण नउठ्दा बैंकहरुको नाफा प्रभावित, निष्क्रिय कर्जा ह्वातै बढ्यो

विजय पराजुली विजय पराजुली
२०८० वैशाख ७ गते २०:१९

७ वैशाख, काठमाडौं । निष्क्रिय कर्जा बढ्दाको प्रभाव बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणमा परेको छ । अर्थतन्त्रमा देखिएको शिथिलताले कर्जा असुलीमा समस्या हुँदा बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणमा असर परेको छ ।

सञ्चालनमा रहेको सबै वाणिज्य बैंकको आम्दानीको मुख्य स्रोत खुद ब्याज आम्दानीमा उल्लेख्य वृद्धि हुँदा पनि नाफामा भने त्यसको प्रभाव देखिन सकेन । २१ वटै वाणिज्य बैंकको निष्क्रिय कर्जा वृद्धि हुँदा बैंकहरुले सम्भावित कर्जा नोक्सानी व्यवस्थाको लागि ठूलो रकम प्रोभिजन गर्नुपरेको छ । जसको प्रभाव वित्तीय विवरणमा परेको हो ।

नेपालमा लागु भएको लेखाप्रणाली नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस)अनसार, असुल नभएको ब्याजलाई पनि आम्दानी जनाउनुपर्ने हुन्छ । जसले समग्रमा बैंकहरुको नाफा केही बढेको देखिए पनि राष्ट्र बैंकले असुल नभएको ब्याजलाई रेगुलेटरी रिजर्भमा छुट्याएर बाँकी रहेको नाफा मात्रै सेयधनीलाई बाँड्न सक्ने (वास्तविक नाफा) को अवस्था भने खराब देखिएको हो ।
वाणिज्य बैंकहरुको चालु आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमामसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कुल नाफा ४८ अर्ब ७० करोड पुगेको छ । जुन गत आव ०७८/७९ को यही अवधिको तुलनामा ११.६६ प्रतिशत बढी हो । गत आवमा बैंकहरुको कुल नाफा ४३ अर्ब ६१ करोड ९० लाख रुपैयाँ थियो ।

बैंकहरुले चैत मसान्तसम्म कमाएको नाफामा कुमारी बैंकमा गाभिएको एनसीसी बैंकले मर्जर अगाडि कमाएको नाफा जोडिएको छ । सेञ्चुरी, सिभिल, मेगा, बैंक अफ काठमाण्डुले मर्जर अगाडि कमाएको नाफा भने त्यसमा जोडिएको छैन ।

यस्तै गत असार अन्तिम साना नबिलले पनि नेपाल बंगलादेश बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गरेको थियो । चालु आवमा नबिल बैंकको मर्जरपछिको एकीकृत विवरण हो भने गत आर्थिक वर्षमा नबिल बैंकमा मर्जर भएको नेपाल बंगलादेश बैंकको नाफा छुट्टै रहेको थियो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा यी ६ बैंकले ७ अर्ब ४० करोड रुपैयाँ नाफा कमाएको नेपाल बैंकर्स संघको तथ्यांक छ । यसलाई समेत जोड्दा गत आर्थिक वर्षको तेस्रो त्रैमासमा वाािणज्य बैंकहरुले ५१ अर्ब भन्दा बढी नाफा कमाएको थिए । चालु आर्थिक वर्षको प्रभुमा गाभिएको सेञ्चुरी, हिमालयनमा गाभिएको सिभिल, ग्लोबल आईएमईमा गाभिएको बैंक अफ काठमाण्डु, नेपाल इन्भेष्टमेन्टमा गाभिएको मेगा बैंक नेपाल र कुमारीमा गाभिएको एनसीसी बैंकले मर्जर अगाडि कमाएको नाफा जोड्दा गत आर्थिक वर्षकै हाराहारी हुने बैंकर्सहरु बताउँछन् ।

नेपाल बैंकर्स संघका उपाध्यक्ष समेत रहेका माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला निष्क्रिय कर्जा वृद्धि भएको र अब थप बढ्न दिन नहुने बताउँछन् । ‘बीचमा बैंकविरुद्ध विभिन्न अफवाह आउने, बैंकरलाई कालोमोसो दल्ने, असारमा मात्र कर्जा तिर्ने भनेर आन्दोलन नै भयो भने नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी सडकमै आएर आन्दोलन गर्ने जस्ता कारणले कर्जा रिकभरी प्रभावित भयो,’ उनले भने, ‘त्यसले ब्याज उठ्न नसकेर निष्क्रिय कर्जा बढ्यो । निमार्ण व्यवसायीको कर्जामा धेरै नै निष्क्रिय कर्जा बढेको छ । सरकारले पनि समयमा भुक्तानी गर्नुपर्छ ।’

सरकार, बैंकर्स र व्यवसायी सबै जिम्मेवार हुनपर्ने उनको तर्क छ । व्यवसायीले ऋण तिर्दिन अथाव ऋण तिर्न समय चाहियो भन्ने जस्ता गैरजिम्मेवार कुरा गर्न नहुने उनि बताउँछन् । यस्तै राष्ट्र बैंक पनि लचिलो हुने हो भने अबको दिनमा अर्थतन्त्र सुधार भएर जाने कोइराला बताउँछन् ।

नाफामा नबिल अगाडि, नाफा बढाउनेमा एभरेष्ट

मर्जरपछि बढेको नाफाले गर्दा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नबिल बैंकको नाफा सबैभन्दा धेरै पुगेको छ । बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब ३५ करोड नाफा कमाएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब १२ करोड नाफा कमाएको छ ।

यस्तै बैंक अफ काठमाण्डुलाई गाभेको ग्लोबल आईएमई बैंकले ४ अर्ब ३६ करोड नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ३ अर्ब ७३ करोड नाफा कमाएको थियो । यस्तै एनआईसी एशिया बैंकले ११.३८ प्रतिशत नाफा गरेर ४ अर्ब १ करोड पुर्‍याएको छ ।

मेगालाई गाभेर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले करिब ३ अर्ब ५ करोड नाफा कमाएको छ । नेपाल इनभेटमेन्ट बैंकले गत आर्थिक वर्षमा करिब २ अर्ब ४८ करोड नाफा कमाएको थियो ।
एनसीसी बैंक गाभेको कुमारी बैंकको नाफा १ अर्ब ८२ करोड पुगेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८० करोड नाफा कमाएको थियो । सिभिल बैंक गाभेको हिमालयन बैंकले चैत मसान्तमा १ अर्ब ७४ करोड नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आबको सोही अवधिमा बैंकले १ अर्ब ३९ करोड नाफा कमाएको थियो ।

मर्जरमा गएको अर्को बैंक प्रभुले चैत मसान्तसम्म १ अर्ब ९५ करोड नाफा कमाएको छ । सेञ्चुरीलाई गाभेको प्रभु बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ७५ करोड नाफा कमाएको छ ।

यस अवधिमा सबैभन्दा धेरै नाफा बढाउने बैंक भने एभरेष्ट बैंक छ । बैंकको नाफा तेस्रो त्रैमासमा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६२.६४ प्रतिशतले बढेर करिब २ अर्ब ४७ करोड पुग्दा स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ६०.२५ प्रतिशतले वृद्धि भएर २ अर्ब ६१ करोड पुगेको छ ।
यस्तै लक्ष्मी बैंकको नाफा ४७.३० प्रतिशतले वृद्धि करिब १ अर्ब २७ करोड पुग्दा नेपाल एसविआई बैंकको नाफा पनि ३८.७२ प्रतिशतले वृद्धि भएर १ अर्ब ८० करोड पुगेको हो । पुर्ण सरकारी स्वामीत्वको राष्ट्रिय वाणिज्य बैंकको पनि नाफा ३६.६९ प्रतिशतले वृद्धि हुँदा करिब ३ अर्ब ५८ करोड पुगेको छ ।

कृषि विकास, सिद्धार्थ, माछापुच्छ्रे, नेपाल बैंक लगायत ७ वटा बैंकको नाफामा भने गिरावट भएको छ । कृषिको नाफा सर्वाधिक ४५.३७ प्रतिशतले गिरावट भएर १ अर्ब ४ करोडमा झरेको छ । यस्तै सिद्धार्थ बैंकको नाफा २८.६६ प्रतिशतले गिरावट भएर १ अर्ब ४९ करोडमा झर्दा सिटिजन्स बैंकको नाफा २२.२४ प्रतिशतले घटेर करिब १ अर्ब २४ करोडमा झरेको हो ।

प्रोभिजनले प्रभावित बन्यो नाफा

बैंकहरुको कर्जा असुली प्रभावित भएर सम्भावित नोक्सानीको लागि गरेको प्रोभिजनमा उच्च वृद्धि हुँदा बैंकहरुको नाफा प्रभावित भएको हो । चैत मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार २१ वाणिज्य बैंकले सम्भावित कर्जा नोक्सानीको लागि ३१ अर्ब ३२ करोड ६ लाख रुपैयाँ प्रोभिजन गरेका छन् । गत आवको सोहि अवधिमा उनीहरुले कुल ७ अर्ब १ करोड रुपैयाँ मात्रै प्रोभिजन गरेका थिए ।

सबैभन्दा धेरै प्रोभिजन गर्नेमा कुमारी बैंक छ । यो बैंकले ३ अर्ब ९६ करोड रुपैयाँ प्रोभिजन गर्दा नबिल बैंकले ३ अर्ब ३३ करोड र ग्लोबल आईएमई बैंकले २ अर्ब ७१ करोड रुपैयाँ प्रोभिजन गरेको छ । यस्तै हिमालयन बैंकले २ अर्ब ४५ करोड रुपैयाँ, सिद्धार्थ बैंकले २ अर्ब १६ करोड तथा कृषि विकास बैंकले २ अर्ब १२ करोड रुपैयाँ सम्भाविक कर्जा नोक्सानीको लागि प्रोभिजन गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले असल वर्गमा वर्गीकरण गरेको कर्जालाई १.३ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले निष्क्रिय कर्जालाई विभिन्न भागमा वर्गीकरण गर्दै सोही अनुसार प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तै सूक्ष्म निगारानीमा राख्नुपर्ने कर्जालाई ५ प्रतिशत र ३ महिनादेखि ६ महिनासम्म भाखा नाघेका कर्जा/सापटलाई कमसल वर्गमा वर्गीकरण गरी २५ प्रतिशत प्रोभिजन गर्नुपर्छ ।

यस्तै ६ महिनादेखि बढीमा १ वर्ष भाखा नाघेका कर्जा÷सापटलाई शंकास्पद कर्जामा वर्गीकरण गर्दै ५० प्रतिशत प्रोभिजन गर्नुपर्छ । १ वर्षभन्दा बढी भाखा नाघेका कर्जा÷सापटलाई खराब कर्जामा वर्गिकरण गर्दै शतप्रतिशत प्रोभिजन गर्नुपर्छ ।

एनआईसी एशिया बैंकले सबैभन्दा कम २३ करोड ५३ लाख रुपैयाँ मात्रै प्रोभिजनिङ गरेको छ । यो बैंकलेअसुल नभएको कर्जाको धितो लिलाम गर्दा बिक्री नभएको धितो सरकारले गैर बैंकिङ सम्पत्ति कायम गरेको छ । जसले गर्दा बैंकले निष्क्रिय कर्जा व्यवस्थापन गर्दै नाफा बढाउन सफल भएको देखिन्छ ।

गैरबैंकिङ सम्पत्तिको १ अर्ब ६६ करोड नियामकीय जगेडा कोषमा छुट्याउँदा वितरणयोग्य नाफा भने नेगेटीभ देखिएको छ । एनआईसी एशियाले उक्त गैरबैंकिङ सम्पत्ति बिक्री गरेपछि मात्रै त्यसबाट आर्जन हुने आम्दानीबाट लाभांश बाँड्न सक्नेछ ।

स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, नेपाल एसबिआई बैंकले निष्क्रिय कर्जा व्यवस्थापन गर्दा गर्दै पनि प्रोभिजन भने बढाएर गएका छन् । स्ट्यान्डर्ड चाटर्ड बैंकले करिब ४४ करोड प्रोभिजन गर्दा एभरेष्ट बैंकले ५५ करोड र नेपाल एसबिआई बैंकले करिब ६२ करोड रुपैयाँ प्रोभिजन गरेको छ ।

सबै बैंकको निष्क्रिय कर्जा बढ्यो

२१ वटै वाणिजय बैंकको निष्क्रिय कर्जामा भारी वृद्धि भएको छ । कृषि विकास बैंक, हिमालयन बैंक र नेपाल बैंकको निष्क्रिय कर्जा अनुपात ४ प्रतिशत नाघेको छ ।

संयुक्त लगानीका स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट र एसविआई बैंकले भने निष्क्रिय कर्जा व्यवस्थापन गर्दै १ प्रतिशत भन्दा तल राखेको छन् । सबभन्दा कम निष्क्रिय कर्जा एभरेष्ट बैंकको ०.७ प्रतिशत छ । यस्तै एनआईसी एशिया बैंकको ०.८५ प्रतिशत छ । यो बैंकले असुल नभएको कर्जाको धितो लिलाम गर्दा आफै स्वीकार गरी गैरबैंकिङ सम्पत्तिमा राखेको छ ।

स्ट्यान्डर्ड चार्टर्डको ०.९ प्रतिशत र नेपाल एसविआई बैैंकको०.९७ प्रतिशत निष्क्रिय कर्जा छ । हिमालयन बैंकको निष्क्रिय कर्जा ४.५६ प्रतिशत, कृषि विकास बैंकको ४.३५ प्रतिशत र नेपाल बैंकको ४.१६ प्रतिशत पुगेको छ । सिटिजन्स बैंकको ३.९८ प्रतिशत, कुमारी बैंकको ०.९६ प्रतिशतबाट बढेर ३.९७ प्रतिशत पुगेको छ ।

ठूलो बजार हिस्सा रहेका बैंकहरु ग्लोबल आईएमई, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट, राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकको निष्क्रिय कर्जा अनुपात ४ प्रतिशत नजिक पुग्दा यसले समग्र बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा अनुपात समेत माथि गएको छ ।

रेगुलेटरी जगेडामा गयो बैंकको नाफा

बैंकहरुको नाफा करिब ४८ अर्ब ७० करोड पुगेपनि सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने ७ अर्ब ४१ करोड ५८ लाख रुपैयाँ मात्र छ । हिमालयन बैंकले गाभेको सिभिल बैंकको १ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ सञ्चित नोक्सानी रहेको उल्लेख गरेको छ ।उक्त नोक्सान्ी घटाउँदा बैंकहरुको वितरणयोग्य नाफा करिब ६ अर्ब मात्र हुने देखिन्छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले मेगा बैंकको सञ्चित नोक्सानी सामायोजन गर्दा चैत मसान्तमा करिब १ अर्ब २८ करोड नोक्सानी देखाएको छ । कुमारी बैंकले एनसीसी बैंकको विवरण समेत समावेश गर्दा २४ लाख वितरणयोय मुनाफा निकालेको छ ।

यस्तै, प्रभुले सेञ्चुरी गाभ्दा देखिएको सेञ्चुरीको सञ्चित नोक्सानी करिब ७४ करोड वित्तीय विवरणमा समावेश गरेको छ । बैंक अफ काठमाण्डुलाई गाभेको ग्लोबल आईएमईले भने त्यसको सञ्चित नाफा नोक्सानलाई विवरणमा उल्लेख गरेको छैन ।

कृषि विकास बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक, कुमारी बैंक र एनआईसी एशिया बैंकको भने नियामकिय व्यवस्थापछि सेयरधनीलाई बाँड्न मिल्ने रकम नोक्सानीमा देखिएको छ । बैंकहरुले मुल्तबी ब्याज र कर्जा असुली नभएर धितो लिलाम स्वीकार गरेको गैरबैंकिङ सम्पत्तिको प्रोभिजनवापत रेगुलेटरी रिजर्भमा १९ अर्ब ५० करोड लाख छुट्याएका छन् ।

प्रभु, सनराइज, नेपाल बैंक, एनआईसी एशिया, सिद्धार्थ कृषि विकास बैंकको पनि चैत मसान्तमा सञ्चित नोक्सानीमा छ । हिमालयनको पनि सिभिलको सञ्चित नोक्सानीले गर्दा सञ्चित नोकसानीमा छ ।

चालु आवको तेस्रो त्रैमाससम्म सबैभन्दा धेरै वितरणयोग्य नाफा राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब २९ करोड छ । यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकको १ अर्ब ९२ करोड, नबिलको करिब १ अर्ब ५० करोड र एभरेष्ट बैंकको १ अर्ब ४४ करोड वितरणयोग्य नाफा छ ।

२० अर्बभन्दा बढी ब्याज उठेन

नेपाल राष्ट्र बैकले उठ्न नसकेको ब्याजलाई रेगुलेटरी रिभर्जमा ब्याज मुल्तबी खातामा देखाउनुपर्ने व्यवस्था गरेको छ । गैरबैंकिङ सम्पत्तिलाई पनि उक्त सम्पत्ति बिक्री गरेर बैंकिङ सम्पत्ति कायम नहुँदासम्म रेगुलेटरी रिर्जभमा राख्नुपर्ने हुन्छ । अन्य विविध घाटालाई पनि यसैमा राख्नुपर्ने हुन्छ । तर मुख्य रुपमा नउठेको ब्याज र लिलामी गर्दा नबिकेको धितो स्वीकार गरेको गैरबैंकिङ सम्पत्ति नै हुने गर्छ । २१ वटै वाणिज्य बैंकको चैत मसान्तमा यस्तो रकम २० अर्ब ६९ करोड रेगुलेटरी रिजर्भमा छुट्याएका छन् ।

चैत मसान्तमा यस्तो रकम सबैभन्दा धेरै एनआईसी एशिया बैंकको २ अर्ब ६२ करोड छ । बैंकले लिलाम गर्दा नबिलको धितोलाई सकार्दै स्थीर सम्पत्ति कायम गरेको छ । जसवापत मात्रै १ अर्ब ६६ करोड र ९६ करोड नउठेको ब्याज रेगुलेटरी रिर्जभमा राखेका छ ।

ग्लोबल आईएमई बैंकले १ अर्ब ८७ करोड, नबिल बैंकले १ अर्ब ८२ करोड र प्राइम कमर्सिलय बैंकले १ अर्ब ७१ करोड रेगुलेटरी रिजर्भमा छुट्याएको छ । राष्ट्रिय वाणिज्य बैंकले भने ४ करोड मात्रै छुट्याउँदा स्ट्यान्नर्ड चार्टर्डले करिब १४ करोड र नेपाल इन्भेष्टमेन्ट मेगाले करिब ४४ करोड रुपैयाँ रेगुलेटरी रिर्जभमा राखेको छ ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?