+
+

अर्शदीपको उत्कृष्ट बलिङमा पञ्जाबले मुम्बईलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १० गते ६:२२

१० वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई १३ रनले पराजित गरेको छ ।

घरेलु मैदान वाङखडे स्टेडियममा पन्जाबले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २०१ रन मात्र बनायो ।

मुम्बईलाई जितका लागि अन्तिम ओभरमा १६ रन चाहिएको थियो । तर पञ्जाबका बलर अर्शदीप सिंहले उत्कृष्ट बलिङ गर्दै २ रन मात्र दिएर २ विकेट लिएपछि मुम्बई पराजित भएको हो ।

मुम्बईका लागि क्यामरुन ग्रीन र सूर्यकुमार यादवले अर्धशतक बनाए पनि जितका लागि पर्याप्त भएन । ग्रीनले ४३ बलमा ६ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ६७ रन बनाए । सूर्यकुमारले २६ बलमा ७ चौका र ३ छक्का प्रहार गरी ५७ रन बनाए ।

कप्तान रोहित शर्माले २७ बलमा ४४ रन बनाए । टिम डेभिडले १३ बलमा २ छक्का प्रहार गर्दै अविजित २५ रन बनाए ।

पन्जाबका लागि अर्शदीप सिंहले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले कप्तान साम करन र विकेटकिपर वितेश शर्माको विष्फोटक ब्याटिङ मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २१४ रन बनाएको थियो ।

करनले २९ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ५५ रन बनाए । हरप्रित सिंहले २८ बलमा ४ चौका र २ छक्काको मद्दतमा ४१ रन बनाए । अथर्व ताइडेले १७ बलमा २९ र प्रभसिमरन सिंहले १७ बलमा २६ रन जोडे । जितेश शर्मा ७ बलमा ४ छक्का प्रहार गर्दै अविजित २५ रन बनाए ।

मुम्बईका लागि पियुष चावला र क्यामरुन ग्रीनले समान दुई–दुई तथा जेसन बेहरनडोफ, जोफ्रा आर्चर र अर्जुन तेन्दुल्करले समान एक–एक विकेट लिए ।

चौथो जितपछि ७ खेलबाट ८ अंक जोडेको पञ्जाब पाँचौ स्थानमा उक्लेको छ । शीर्ष चारमा रहेका राजस्थान, लखनउ, चेन्नाई र गुजरातको पनि समान ८ अंक नै छ ।

तेस्रो हार बेहोरेको मुम्बई ६ खेलबाट ६ अंकसहित सातौं स्थानमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?