+
+

‘कलाकारको लागि कमर्सियल र आर्टहाउस दुवै फिल्म उत्तिकै महत्वपूर्ण’

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १८ गते १४:११

काठमाडौं । महेश त्रिपाठी पछिल्लो समय घरेलु फिल्मका चर्चित अभिनेता हुन् । ‘चपली हाइट ३’ डेब्यु अभिनेताको पछिल्लो फिल्म ‘प्रसाद २’ हलमा चलिरहेको छ । सुदर्शन थापा निर्देशित यो पछिल्लो फिल्ममा उनले सानोकाजीको भूमिका निर्वाह गरेका छन् ।

दृश्यभाषाको हिसाबले उनको आगामी फिल्म ‘हल्कारा’ यस वर्षकै प्रतीक्षितमध्येको एक हो, जहाँ उनले शीर्ष भूमिका निर्वाह गरेका छन् । उनको करिअरमा पनि शीर्ष अभिनेताको रुपमा यो पहिलो फिल्म हो । एक हुलाकीको चरित्र निर्वाह गरेका त्रिपाठीलाई यो फिल्मले अन्तर्राष्ट्रिय तहमै चर्चा दिलायो । उनले वल्र्डफेस्ट ह्युस्टन फेस्टिभलमा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जिते ।

‘चपली हाइट ३’ जस्तो व्यावसायिक फिल्ममा काम गरेका त्रिपाठीलाई लाग्छ एक अभिनेताका लागि कमर्सियल र आर्टहाउस दुवै फिल्ममा काम गर्नु उत्तिकै महत्वपूर्ण हुन आउँछ ।

‘अभिनेताको रुपमा दुवैखाले फिल्मको प्रक्रिया एउटै हो । एक्टरलाई उत्प्रेरणा दिन कलात्मक फिल्म राम्रा हुन्छन् तर एक्टर बाँच्नका लागि कमर्सियल फिल्म उत्तिकै जरुरी छन्,’ उनी भन्छन्, ‘विदेशमा यस्तो समस्या नहोला । यहाँ फिल्मले राम्रो गर्‍यो भनिएको छ तर व्यावसायिक रुपमा सफल छैन भने त्यो संघर्ष बाँकी नै हुन्छ । त्यो दबाब अहिले पनि छ ।’

कमर्सियल र आर्टहाउस जुन फिल्मको अफर आए पनि आफूले निर्वाह गर्ने चरित्रलाई प्राथमिकता दिने उनी बताउँछन् । ‘व्यावसायिक रुपमा पनि हिट हुने फिल्म छ भने मैले कुन पात्र गर्न सक्छु भन्ने हेर्छु,’ उनी भन्छन् । को-एक्टरबिना एक एक्टर केही नरहेको त्रिपाठीको बुझाइ छ । ‘एउटा एक्टरको रुपमा काम कसरी राम्रो हुन सक्छ भन्ने कुरा उसको को-एक्टरमा पनि निर्भर हुन्छ । मैले विदेशमा पाएको चर्चाको हिसाबले यसको श्रेय मेरो को-एक्टरलाई पनि जान्छ । म मात्र भएर हुँदैन । मेरो पर्फमेन्सको ९९ प्रतिशत हिस्सा को-एक्टर हो,’ उनी भन्छन् ।

करिअरमा ‘हल्कारा’को स्थान टपमै हुने उनी बताउँछन् । उनले फिल्मको प्रमुख चरित्र हल्कारालाई बहुचरित्रकरण भएको पात्र रहेको बताए । ‘ठ्याक्कै हुलाकी भन्दा न्याय नहोला । त्यो चरित्र कसैको बाउ, कसैको श्रीमान, नागरिक केही होला,’ उनी भन्छन् । चरित्रलाई कसरी प्रस्तुत गर्न सकिन्छ भन्नेमा महेश भन्छन्, ‘पात्र आफूभित्र खोज्ने हो । पात्रमा आफू जाने होइन । यसको प्रमुख पात्र पनि कहीं न कहीं मसँगै जोडिएको पात्र हो । मैले पात्र रोज्नुअघि उक्त पात्र कति मानवीय छ भन्ने कुरा खोज्छु ।’

विक्रम सापकोटा निर्देशित ‘हल्कारा’मा विनिता थापा मगरको पनि शीर्ष भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?