+
+

संसदमा निरन्तर जाने १० सांसदको नाम अधिवेशनको अन्तिममा सुनाउने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १५:४३

२४ वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधिसभाको बैठकमा निरन्तर उपस्थित हुने १० जना सांसदको नाम अधिवेशनको अन्तिममा सुनाउने प्रस्ताव गरेका छन् ।

‘अनुपस्थित हुने सांसदको नाम मात्रै प्रस्तुत हुने परम्परा छ । अब लगातार संसदमै बस्ने कमसेकम १० जना सांसदको नाम अधिवेशनको अन्त्यमा बोलेर प्रस्ताव गर्नुपर्छ’ आइतबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा आफूले राखेको प्रस्ताव सुनाउँदै सांसद खतिवडाले भने ।

हाल संसद बैठकमा निरन्तर दश वटा बैठकमा अनुपस्थित हुने सांसदको नाम सुनाउने अभ्यास छ । संविधान र प्रतिनिधिसभा नियमावलीले समेत निरन्तर दश वटा बैठकमा अनुपस्थित रहने सांसदले सूचना दिनुपर्ने हुन्छ । अन्यथा बिना सूचना निरन्तर दश वटा बैठकमा अनुपस्थित भएको खण्डमा सांसद नै खारेज हुने सम्मको व्यवस्था छ ।

यसो हुँदा समेत सांसदहरुको संसद बैठकमा उपस्थिति कमजोर देखिएको भन्दै सांसद खतिवडाले निरन्तर उपस्थित हुने सांसदको नाम समेत सदनमै सुनाउने प्रस्ताव गरेका हुन् । यसो गर्दा संसद बैठकमा सांसदहरुको उपस्थिति बलियो हुन सक्ने उनको विश्वास छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले समेत संसद बैठकमा सांसदहरुको उपस्थिति कमजोर भएको गूनासो गरेका थिए । यसतर्फ ख्याल गर्न उनले राजनीतिक दलहरुको ध्यानाकर्षणसमेत गरेका छन् ।

सभामुखको सचिवालयका अनुसार बैठकमा सभामुख घिमिरेले भनेका छन्, ‘संसदमा माननीयहरुको उपस्थिति कमजोर भएको छ । सांसद तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ । दल तथा माननीयज्यूहरुलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?