+
+

मन्त्री किरातीमाथि सांसद खतिवडाको आरोप : जहाज खरिदमा १८ करोड कमिसनको खेल भएको सूचना छ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १३:०८

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका कारण नेपाल वायु सेवा निगम झन् समस्यामा परेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले निगम आर्थिक रुपमा धरासायी भएका बेला पर्यटनमन्त्रीले जहाज किनेर झन् धरासायी बनाउन खोजेको आरोप लगाएका हुन् ।

‘अब नेपाल एयरलाइन्सलाई कहाँ पुर्‍याउने हो ? कुन अवस्थामा पुर्‍याउने हो ? यो बारेमा सोच्नुपर्ने बेला भइसकेको छ’, उनले भने ।

नेपाल वायु सेवा निगमले गठन गरेको समितिले नै अहिले जहाज किन्न नसक्ने भनेको भन्दै सांसद खतिवडाले भने, ‘थ्री हन्ड्रेड जी भन्ने प्लेन ल्याइँदैछ जुन अहिले उत्पादनमा छैन । त्यो ल्याएर झण्डै १८ करोड कमिसन खाने खेलमा लागेको सूचना प्राप्त भएका छन् ।’

नेपाल एयरलाइन्स अहिले ४८ अर्ब रुपैयाँ घाटामा रहेको र चार वर्षदेखि ब्याज पनि तिर्न नसकेको उनले बताए । निगमका चार वटा जहाजमध्ये दुई वटा न्यारोबडी र दुईवटा वाइडबडी अहिले घाटामा चलिरहेको भन्दै सांसद खतिवडाले आन्तरिक उडानका लागि ८ अर्ब रुपैयाँमा किनिएका ६ वटा चिनियाँ जहाज लिलाम गर्दा अहिले ३८ करोडमा पनि बिक्री हुन गाह्रो भएको स्मरण गराए ।

निगममा हाल १२ सय कर्मचारी स्थायी र आउट सोर्सिङ गरिएका झण्डै ८०० कर्मचारी रहेको उल्लेख गर्दै उनले भने, ‘वर्तमान पर्यटनमन्त्रीले ६२ जना नयाँ कर्मचारीहरुलाई करार र ज्यालादारीमा नियुक्त गरेर राखिएको छ । जसलाई हाजिर गरेर हिँडेपछि पुग्ने गरी नियुक्तिको व्यवस्था गरिएको छ ।’

मन्त्री किराती भने लोकरिझ्याइँका काम गरेर आफूले असाध्यै सुधार गर्न लागेको भान पार्न खोजेको सांसद खतिवडाले आरोप लगाए । ‘मन्त्रीज्यू एउटा झाडु र क्यामेरा लिएर मन्त्रालय प्रवेश गरेर फोटो खिचेर बाहिर ल्याउने पद्धतिको विकास भएको छ । यसरी मुलुक कहाँ जाने हो ?’ सांसद खतिवडाले पर्यटनमन्त्री किरातीमाथि प्रश्न उठाए ।

उनले अगाडि भने, ‘सस्तो पपुलिजमका लागि आफ्नो मन्त्रालयको कार्यकक्ष सफा गरेर त्यो भिडियो हालिदिएपछि सबैभन्दा क्रान्तिकारी र राम्रोमन्त्री हुने हो भने मुलुक कसरी विकास गर्ने ?’

सांसद खतिवडाले मन्त्री किरातीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्त गरेको विषयमा पनि प्रश्न उठाए ।

‘गौतम बुद्ध शान्तिका दूत, शान्तिका दूतको नामममा लक्करमा गोली राख्ने मान्छेलाई नियुक्त गरेपछि देशको हालत के होला सभामुख महोदय ?’ उनले प्रश्न गरे ।

सरकारी नियुक्ति कामका आधारमा नभई दामका आधारमा हुन थालेको सांसद खतिवडाले बताए । ‘चाहे नेपाल एयरलाइन्समा भएको नियुक्ति होस्, चाहे नेपाल एयरलाइन्समा होस्, चाहे पशुपति विकास कोषमा होस्, चाहे लुम्बिनी विकास कोषमा होस् भएका नियुक्ति एकचोटी हेरियोस्’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?