+
+

मार्टिन स्कोरसिजले नेपाली फिल्म ‘डाकिनी’लाई प्रशंसा गर्दै लेखे पत्र

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते १७:४६

काठमाडौं । बौद्ध धर्मगुरु खिन्से नोर्बु निर्देशित नेपाली फिल्म ‘डाकिनी : लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’लाई विश्व प्रतिष्ठित टोरन्टो फेस्टिभलमा स्क्रिनिङ गर्न हलिउड निर्देशक मार्टिन स्कोरसिजले पत्र लेखेका छन् । मंगलबार ललितपुरमा आयोजित प्रेसमिटमा फिल्मको निर्माण कम्पनी षट्कोण आर्ट्सले यो पत्रबारे खुलाएको हो ।

३० जुलाई २०१९ को मितिमा लेखिएको उक्त पत्रमा स्कोरसिजले आफू अध्यक्ष रहेको फिल्म फाण्डेसनको लेटरप्याडमार्फत टोरन्टो फेस्टिभलका प्रमुखलाई सम्बोधन गरेका छन् । स्कोरसिजले पत्रमा लेखेका छन्, ‘फेस्टिभलमा फिल्म छनोटको अन्तिम तयारी भइरहँदा म चाहिं खिन्से नोर्बुको नयाँ फिल्म लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाचलाई बलियोसँग समर्थन गर्छु ।’

‘मैले हालै सो फिल्म हेर्ने मौका पाएको थिएँ । म लामो समयदेखि नोर्बुका सुन्दर कामको प्रशंसक पनि हुँ । तीव्ररुपमा मेसिनजस्तो बनिरहेको आधुनिक विश्वमा नोर्बुले तिब्बती रहस्यवादमार्फत मानवीयताको वकालत गरेका छन् । फिल्मले अन्तर्मनतर्फको यात्रा गराउँछ र निकै सुन्दर छ । महान् ताइवानी छायाकार मार्क-ली-पिङ-लीले नेपाललाई आकर्षक ढंगले खिचेका छन्,’ स्कोरसिजको पत्रमा उल्लेख छ ।

स्कोरसिज अगाडि लेख्छन्, ‘नोर्बुले परम्परागत विश्वास, पात्रहरुको द्वन्द्व र दृष्टिकोण, डाकिनीको उच्चतम चित्रणमा केन्द्रित गर्दै सिनेमा अनुभव दिलाएका छन् । बौद्ध भिक्षुको रुपमा विशिष्ट दृष्टिकोण प्रस्तुत गरेका छन् । म नोर्बुका फिल्मबाट सधैं दुर्लभ र बलियो सौन्दर्यको अपेक्षा गर्छु ।’

उनले सन् २०१६ को टोरन्टो फेस्टिभलमा नोर्बुकै अघिल्लो फिल्म ‘सिङ मी अ सङ ह्वाइल आइ वेट’ प्रदर्शन गरेको प्रसंग कोट्याउँदै ‘डाकिनी ः लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’मार्फत यो परम्परालाई निरन्तरता दिन आग्रह गरेका छन् । तर विडम्बना विविध कारणवश फिल्मलाई टोरन्टो फेस्टिभलमा सहभागी गराउन नसकिएको निर्माण कम्पनी षट्कोण आर्ट्सले जनाएको छ ।

स्कोरसिज प्रमुख रहेको उक्त फिल्म फाउण्डेसनको बोर्ड सदस्यमा ओस्कार विजयी आङ ली पनि छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा षट्कोण आर्ट्सका म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँले ‘डाकिनी’लाई शुक्रबारदेखि नेपालमा रिलिज गर्न लागिएको जानकारी दिए । ‘फेस्टिभलपछि ह्याप्पी इन्डिङको रुपमा हलमा रिलिज गर्न लागेका हौं,’ खत्रीले भने, ‘सोही अवसार आर्ट विकेन्ड पनि आयोजना गर्दैछौं । कलाप्रेमी दर्शकले फिल्मसँगै मास्टरक्लास, नाटक र कला प्रदर्शनीको मज्जा लिन पाउनेछन् ।’

निर्माता तथा अभिनेता बानियाँले पैसा कमाउनुपर्छ भन्ने दवावलाई अलग राखेर फिल्म रिलिज गर्न लागिएको बताए । ‘हामीसँग साढे ८ करोड खर्च गर्ने औकात थिएन । कलामा ‘लेट गो’ भन्नुजस्तो राम्रो कुरा अर्को हुँदैन । हाम्रो दुबै हातमा लड्डु पाएको महसुस भएको छ ।’ बौद्धमा लिच्छवि हाउसको निर्माण भैरहेको पनि जानकारी सो अवसरमा दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?