+
+

लोग्नेको सम्पत्ति रुँग्ने श्रीमतीका पीडा

आफू नकमाउनु अनि लोग्नेको सम्पत्तिको रुँगालो बस्नु साहै्र गाह्रो काम रहेछ । कहिलेकाहीं सोच्छु ‘यी छोराछोरी र यो लोग्नेदेखि टाढा कसैले नदेख्ने ठाउँमा गएर बस्न पाए कस्तो हुन्थ्यो होला !’

समीक्षा दाहाल समीक्षा दाहाल
२०८० जेठ ३ गते १३:१४

हाम्रो गाउँकी कन्काई -परिवर्तित नाम) दिदीले आत्महत्या गरिन् । गाउँ-समाजले भन्यो, ‘कस्ती नामर्द रहिछ । आफ्नो लोग्ने, छोराछोरी रिझाएर, खान नसकेर मरिछ । मर्नु भन्दा त बरु पोइल गएकी भए हुन्थ्यो, संसार देख्न त पाउँथी !’

केही महिना अगाडिको कुरा हो विदेशमा रहेको श्रीमान्सँग कुरा मिल्न नसक्दा गाउँकी सुमित्रा दिदी आफ्ना २० र २२ वर्षका छोराछोरी अनि गाउँ-समाज छोडेर अर्को बजारमा एक्लै बसेर गरिखान थालिन् । त्यही समाजले भन्यो ‘कस्ती रहिछ, त्यत्रा त्यत्रा छोराछोरी छोडेर यो उमेरमा एक्लै बस्न थाली । के बस्थी एक्लै कुन ‘पेसो’ अपनाएकी छे नि !’

कन्काई दिदी मेरो छिमेकी थिइन् । श्रीमान् रोजगारीका लागि विदेशमा बसेको धेरै वर्ष भयो । दुई छोरा र दुई छोरी छन् । जेठी छोरीले १० कक्षामा पढ्दापढ्दै विवाह गरी । एउटा छोरो जन्मिएपछि ऊ त्यो केटालाई छोडेर माइतीमा आएर बसेकी छ ।

दिदीको एउटा छोरा कक्षा १२ मा र अर्को १० कक्षामा पढ्छन् । सम्पत्तिका नाममा चार कट्ठा जग्गा छ । मेरी आमा भन्नुहुन्थ्यो, ‘यो कन्काई साह्रै दुःखी छे । पहिले नै नराम्रो रोग लागेको थियो । धेरै दिन तुलसीको मोठमा सुताउँदा पनि मरिनँ । त्यसको बुढो उपचार गर्न नसकेर भागेको थियो । गाउँका सबै भएर पैसा उठाएर उपचार गरेर निको पारेको, अझै दुःख भोग्नै रहेछ किन मर्थी र !’

हो, कन्काई दिदीले धेरै दुःख भोगेकी थिइन् । घरमा सँगै हुँदा लोग्नेले कहिल्यै माया गरेन । सधैं रक्सी खाएर कुट्ने-पिट्ने गर्थ्यो । तथानाम गाली गर्ने, जे मुखमा आयो त्यही भन्ने । कहिलेकाहीं गुनासो पोख्थिन्, ‘उहिले नै मलाई मर्न दिएका भए हुन्थ्यो, सबै भएर बचाए, यो दिन भोग्नै रहेछ ।’

केही समयपछि उनको श्रीमान् विदेश गए । उनी भन्थिन्, ‘अहिले अलि ढुक्क छ । कुटाइ खानुपर्दैन त्यत्ति हो । तर, उहींबाट पनि तथानाम गाली गर्छन् । मैले दुःख गरेर कमाएको पैसाले तँ मस्ती गर्ने ? कुन नाठोसँग बोल्छेस् अहिले ? मैले फोन गर्दा तेरो फोन किन विजी देखाउँछ, भन्छन् ।’

उनले दुःखको बेलिबिस्तार लगाउँदै सुनाएको कथा लामो छ । घरव्यवहारले कहिले कसलाई फोन गर्नुपर्छ । फोन उठेन भने कुन केटासँग घुम्न गएकी थिइस् भन्छन् । छोराछोरी उकासेर मेरै विरोधमा लगाउँछन् । छोराछोरीले जति पैसा माग्छन् त्यति दे भन्छन् । पैसा भने पठाउँदैनन् । छोराछोरीले गलत बाटो समातिसके । जेठो गाँजा खान थालिसकेको छ । हप्काईदप्काई गरेर पैसा माग्छ । दिएन भने कुटुँला झैं गर्छ । बुवालाई भनिदिन्छु भनेर धम्की लगाउँछ ।

छोरी पनि दिनभरि कता जान्छे कता ! पैसा मात्रै माग्छे । कन्छो छोरो साथीहरूसँग घुम्न जाने, १० हजार रुपैयाँ दे भन्छ । मैले कहाँबाट ल्याउनु पैसा ? बुढोलाई भन्यो भने तँ आफैं कमाएर दे भन्छन् ।

पुरुष समान महिलाले घरव्यवहार, रोजगारीमा अवसर पाउनुपर्छ । श्रीमानले नै बाहिर गएर कमाउने र श्रीमतीले नै घरको काम गर्नुपर्छ भन्ने छैन । वैदेशिक रोजगारीमा महिला पनि जाने, आफैं कमाउने वातावरण बन्यो भने महिलामा हीनताबोध हट्दै र यस्ता घटना पनि कम हुँदै जान्छन्

एक साँझ यति भन्दै घरतिर लागेकी थिइन् कन्काई दिदी । बेलुका अबेरसम्म लोग्नेसँग कुरा गरेको रे ! राति नै मुसालाई राख्न ल्याएको औषधि खाइछन् । बिहानै छोराले पैसा माग्न आमालाई उठाउन खोज्दा त मरिसकेको भेटेछ । भर्खरै मात्रै १३ दिनको काम सकियो ।

अहिले त्यो घरमा कसैलाई दुःख परेजस्तो देखिन्न । लोग्ने पनि विदेशबाट आए । अब दुई वर्ष बसेर आउँछु अनि अर्को विवाह गर्छु भन्छन् । आमा हुँदा सधैं झगडा गर्ने केटाकेटी अहिले मिलेर बसेका छन् । आमा हुँदा कहिल्यै पैसा नपठाउने बाबुचाहिं अहिले खुरुखुरु पैसा पठाउँछन् रे ! घरको काम कहिल्यै नसघाउने छोराछोरी जसोतसो मिलेर काम गर्छन् । लाग्छ त्यो घरमा कन्काइ दिदी नै तुष थिइन् ।

अनि सुमित्रा दिदी चाहिं मेरो टाढाको आफन्त पर्ने मान्छे । पहिले मेरो माइतीघर नजिकै उनको घर थियो । पछि श्रीमान्ले विदेश गएर पैसा कमाएर विराटनगरमा घर बनाएर उतै बस्न थालिन् । गाउँमा कुरा गरेको सुनिन्थ्यो । बुहारी हुन् त सुमित्रा जस्तो । बत्तीसै लक्षणले युक्त, कति मिठो बोलीवचन । हुन पनि गाउँमा हुन्जेल श्रीमान्-श्रीमतीको सम्बन्ध पनि राम्रै थियो Û उनका श्रीमान् पनि गाउँमा सबैले मन पराउने मान्छे । सहयोगी र मिलनसार ।

विराटनगर गएपछि पनि राम्रो थियो । श्रीमान् पैसा पठाउने सुमित्रा दिदी घर बनाउने, घर बनाउँदा बनाउँदै अलिक ठूलो बनाएछन् । विदेशबाट पठाएको पैसाले नपुगेपछि सल्लाहमा नै त्यही घर बैंकमा राखेर पैसा निकालेछन् । दिनदिनै छोराछोरी ठूला भए उनीहरूको खर्च बढ्न थाल्यो । महिनै पिच्छे आउने किस्ता र व्याज छोराछोरीको पढाइ खर्च विदेशमा बसेको श्रीमानको कमाइले धान्न छोड्यो । अनि खटपट सुरु भयो ।

गुनासो विस्तारै झगडामा बदलियो । अब लोग्नेले ‘मैले पठाएको पैसा कुन नाठोलाई खुवाउछेस् र जहिले पैसा छैन भन्छेस्’ भन्न थाले । छोराले खराब सङ्गत समातिसक्यो । ऊ अहिले आमालाई मलाई गाली मात्र गरिस् भने तँलाई उडाइदिन्छु भन्छ । छोरी जुन महँगो त्यही लुगा लगाउने भन्छे । जहिल्यै साथीहरूसँग घुम्न जाने आज यति र भोलि उति पैसा दे भन्छे ।

सुमित्रा दिदीको भनाइ थियो- घरबाट भ्याइने कलेज नपढ्ने, काठमाडौं गएर होस्टेल बस्छु भन्छे । मैले केको खर्चले धान्नु । लोग्ने मलाई नै अर्घेलो देख्छन् । दुईवटा छोराछोरी मिलाएर राख्न नसक्ने, घर व्यवहार धान्न नसक्ने, भन्छन् । उसले पठाएको पैसाले बैंकको किस्ता तिर्न पनि पुग्दैन । अलिअलि भएको सुन पनि बेचिसकें ।

अब लोग्ने विदेशबाट आएर सबै भएको सुन पनि बेचेर खाइछे भन्छन् होला । मैले मेरा लागि खर्च गरेको एक पैसा छैन । सुमित्रा दिदी भन्छिन्, ‘आफू कमाउने नहुँदा र अर्काको सम्पत्तिको रुँगालो बस्नुपर्दा साह्रै गाह्रो रहेछ ।’

उनी भन्छिन्, ‘कहिलेकाहीं सोच्छु- यी छोराछोरी, यो लोग्ने र यो व्यवहारदेखि टाढा कसैले नदेख्ने ठाउँमा गएर बस्न पाए कस्तो हुन्थ्यो होला !’ नभन्दै सुमित्रा दिदी एकदिन घर छोडेर हिंडिछन् । उनकै नाममा घरजग्गा थियो । घरपट्टकिाले खोजेर पत्तो लगाए । धरानतिर ज्यालादारी गरेर खाँदी रहिछन् । सानो डेरामा बस्दी रहिछन् । उनी अहिले खुसी छिन् । भन्छिन्, ‘त्यो महल भन्दा यो सानो कोठामा म राम्ररी निदाउँछु । यहाँ मलाई कसैले राति राति फोन गरेर गाली गर्दैन । जति कमाउँछु त्यति खर्च गर्छु ।’

हिजो उनलाई छोराछोरीले पनि कहिल्यै साथ दिएनन् । लोग्नेले पनि माया गरेनन् । उनी भन्छिन्, ‘त्यो घरमा पनि म एक्लै नै थिएँ । यहाँ पनि एक्लै छु । बस फरक यत्ति हो, त्यहाँ छोराले मार्ला कि भन्ने डर, लोग्नेले तथानाम गाली गर्ला कि भन्नेे, छोरी रिसाउँछे कि भन्ने डर थियो । यहाँ केही छैन, सन्तानप्रतिको कर्तव्य र श्रीमानको माया सबै सकेर आएकी ।’

घरपट्टकिाले फर्काउन अनेक प्रयत्न गर्दा पनि जान मानिनन् । त्यसको एक रुपैयाँ पनि लिन्नँ, मलाई त्यसको पैसाले पोल्छ भनेर घर जग्गा फिर्ता गरिदिइछन् ।

केही महिनापछि लोग्ने पनि विदेशबाट आए । सम्बन्धविच्छेद गरेर अर्की केटी विवाह गरेछन् । हाम्रो घरतिर पनि देखाउन लिएर आएका थिए । कति निर्धक्क एउटी खेदेर अर्की लिएर हिंडेको भन्दै गाउँका महिला दुःखेसो पोख्थे- आखिर हामी महिलाको खै के नै रहेछ र ? दुःख गरेर सुमित्राले घर बनाई, अहिले अर्कीको राज छ । विचराको केही गल्ती थिएन । ऊ खराब थिई भने त्यति सजिलै घरजग्गा फिर्ता दिने थिइनँ ।

हो गाउँ, समाज, छरछिमेकी कसैले गल्ती नदेख्दा नदेख्दै पनि कन्काई दिदीले संसार छोडिन् र सुमित्रा दिदीले घर । यसको कारण के हुन सक्छ ? पक्कै पनि स्वनिर्भरता, सम्पत्ति, शिक्षा र अवसरको अभाव ।

निर्भर हुनलाई पढेकै हुनुपर्छ भन्ने छैन । आफ्नै ठाउँमा सानोतिनो काम गरेर, पसल चलाएर आफ्नै हातले पैसा समाउन सकिन्छ । उद्योग, कलकारखानामा काम गर्न सकिन्छ । खेतबारीमा उत्पादन बढाएर वा गाई पालेर दूध बेचेर पनि आफैंले पैसा समाउने बाटो बनाउन सकिन्छ ।

एकजना दिदी भन्नुहुन्थ्यो, ‘म केही महिना जागिर छोडेर बसेकी छोराछोरी, श्रीमान, सासूससुरा सबैको नजरिया नै परिवर्तन पो भयो । छोराछोरी ममीसँग पैसै छैन के माग्नु भन्छन् । श्रीमान् दुईचार हजार माग्दा सजिलै दिने अहिले एकहजार दिनु न भन्दा नि किन चाहियो पो भन्छन् ।’

सम्पत्तिमा छोराछोरी दुवैको समान अधिकार हुने भएकोले विवाह अघि नै उसले पाउने अंश छोरीको नाममा गरिदिने हो भने म श्रीमानको घरमा बस्न नसके पनि मेरो आफ्नै सम्पत्ति खाएर बस्छु भन्ने हिम्मत बढ्छ । निरीह बनेर आत्महत्याको बाटो रोज्नुपर्दैन ।

महिला शिक्षित छे भने एउटा रोजगारी समातेकी हुन्छे । अन्याय सहनु हुँदैन भन्ने ज्ञान पाएकी हुन्छे । घरपरिवार मिलाउने, तर्क गर्ने क्षमता हुन्छ । धेरै कुरा बुझेकी हुन्छे र श्रीमान् र घरपरिवारबाट कमै उपेक्षित हुन्छे ।

त्यसैले पुरुष समान महिलाले घरव्यवहार, रोजगारीमा अवसर पाउनुपर्छ । श्रीमानले नै बाहिर गएर कमाउने र श्रीमतीले नै घरको काम गर्नुपर्छ भन्ने छैन । वैदेशिक रोजगारीमा महिला पनि जाने, आफैं कमाउने वातावरण बन्यो भने महिलामा हीनताबोध हट्दै र यस्ता घटना पनि कम हुँदै जान्छन् । नत्र उनीहरूको काम लोग्नेको सम्पत्ति रुँग्ने भूमिकामा सीमित हुन्छ । त्यसको पीडा कन्काई र सुमित्रा दिदीको जस्तै हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?