+
+

गर्मी र वर्षातको मौसम छ, कस्तो छाता रोज्ने ?

रेणु त्वानाबासु रेणु त्वानाबासु
२०८० जेठ ५ गते १५:५७

अहिले गर्मीसँगै वर्षातको मौसम पनि छ । यस्तो बेला घरबाट बाहिर निस्किंदा छुटाउनै नहुने कुरा हो छाता । छाताका दुवै फाइदा छन्, घाम लाग्दा पनि र पानी पर्दा पनि ओढ्न सकिने । हिंड्दै गर्दा चर्को घाम लाग्यो भने छाता ओढेर शीतलता महसुस गर्न सकिन्छ भने पानी परेमा ओत लाग्न पनि सकिन्छ ।

चर्को घाममा छाता ओढेर हिंड्दा सूर्यको विकिरणबाट छालामा पर्न सक्ने असरलाई समेत न्यून गर्न सकिन्छ । अर्थात् छालाको सुरक्षाका लागि छाता उपयोगी हुन्छ । यसरी छाता बहुउपयोगी त छ, तर कस्तो छाता रोज्ने भन्नेमा भने धेरैले खासै चासो नदिएको हुन सक्छ ।

छाताको छनोट

बजारमा रंगीबिरंगी छाता देखिन्छन् । तीमध्ये कस्तो उपयुक्त हुन्छ त ?

काठमाडौंको नयाँ बानेश्वरका छाता व्यापारी अर्जुन घिमिरे भन्छन्, ‘छाताको समाउने डण्डी मोटो, नहल्लिने र बाक्लो खालको छाता किन्नु राम्रो हुन्छ । छातामा बाहिर अर्कै रंग भित्रपट्टि कालो भएको राम्रो हुन्छ । यसले गर्मीको साथै पानीबाट पनि बचाउँछ ।’

बाहिर र भित्र उस्तै प्रिन्ट देखिने छाता राम्रो नहुने उनी बताउँछन् । यस्तो छातामा ठूलो वर्षा हुँदा पानी चुहिने सम्भावना हुन्छ । ‘त्यसैले छाता मूल्य हेरेर भन्दा पनि गुणस्तर हेरेर किन्दा उत्तम हुन्छ,’ उनी भन्छन् ।

उमेरअनुसार छाता

छाताको रोजाइ उमेर अनुसार फरक–फरक हुन्छ । बच्चालाई कार्टुन प्रिन्ट भएका सानो फोल्ड गर्न नमिल्ने छाता मन पराउने अर्का छाता व्यापारी युवराज पौडेल बताउँछन् । युवतीहरुले फोल्ड गर्न मिल्ने फूलबुट्टे, छेउछेउमा जाली भएका, विभिन्न खालका प्रिन्टेट छाता मन पराउने उनी बताउँछन् । ‘अहिलेका युवतीले बलियो र टिकाउ भन्दा पनि फेसनेबल देखिने छाता धेरै रोज्छन्,’ उनी भन्छन् ।

बुढापाकाहरुको रोजाइमा भने फोल्ड गर्न नमिल्ने ठूलो छाता पर्छ । यसले पानी र घाम राम्रोसँग छेक्नुका साथै बुढेसकालको लौरोको रुपमा पनि प्रयोग गर्न सकिने पौडेल बताउँछन् ।

‘तर अहिलेका युवायुवतीले भने ठूलो छाता बोक्न झ्याउ मान्छन्, बरु पानीमा रुझेर जान्छन् यो छाता बोक्दैन्न्,’ उनी भन्छन् ।  ठूलो छाता टिकाउ पनि हुने उनको अनुभव छ ।

छाताको मूल्य कति ?

अहिले ३०० देखि ६०० रुपैयाँ मूल्यका छाता बढी बिक्री हुने व्यापारीहरु बताउँछन् । डिजाइन र गुणस्तरअनुसार मूल्य फरक पर्न सक्ने छाता व्यापारी घिमिरे बताउँछन् ।

डिजाइन र रंग

रातो, निलो, हरियो, कालो, गुलाबी, खैरो र कालो रंगका छाता बजारमा पाइन्छन् । यसबाहेक प्रिन्टेटमा कार्टुन प्रिन्ट, चेक प्रिन्ट, फूलबुट्टा प्रिन्ट रोजाइमा परेका छन् ।

अनलाइन पसलहरुमा अहिले मिनी छाता, क्याप्सोल छाता, ट्रान्सपरेन्ट, टोपी छाता पनि चल्तीमा देखिन्छ । अधिकांश छाता चीनबाट आयात गरिन्छ ।

लेखकको बारेमा
रेणु त्वानाबासु

अनलाइनखबरकी संवाददाता त्वानाबासु समाज र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?