+
+

ट्वीटर र माइक्रोसफ्ट बीचको विवाद बढ्दै, माइक्रोसफ्टले कानून तोडेको ट्वीटरको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते १८:००

७ जेठ, काठमाडौं । ट्वीटरले आफ्नो प्लाटफर्मका डाटाहरुको अनधिकृत प्रयोग गरेर माइक्रोसफ्टले एपहरुको निर्माण गर्नुका साथै ठूलो आम्दानी गरिरहेको दाबी गरेको छ ।

ट्वीटरका तर्फबाट मस्कका निजी वकिल अधिवक्ता एलेक्स स्पिरोले यस विषयमा एक हस्ताक्षरित पत्र माइक्रोसफ्टका सिइओ सत्या नाडेलालाई पठाएका छन् । त्यसमा माइक्रोसफ्टले सम्झौताका विभिन्न प्रावधानहरु उल्लंघन गरेको उल्लेख छ ।

पत्र अनुसार माइक्रोसफ्टले गत अप्रिलमा आफ्नो एप्लिकेसन प्रोग्रामिंग इन्टरफेस अर्थात् ब्एक्ष्क सम्म पुग्नका लागि ट्वीटरले मागेको शुल्क भुक्तान गर्न अस्वीकार गरेसँगै ट्वीटरले आफ्ना डाटाको पहुँच बन्द गरिदिएको थियो ।

ट्वीटरले माइक्रोसफ्टसँग पछिल्लो २ वर्षमा ट्वीटरका सबै डाटा तथा सामाग्रीहरुको प्रयोगका विषयमा प्रष्ट पार्न आग्रह गरेको छ । साथै उसका डाटाहरु कसरी स्टोर गरिएको छ र कहाँकहाँ प्रयोग गरिएको छ भनेर पनि सोधनी गरेको छ । यस विषयमा आगामी जुन ७ भित्रमा प्रष्ट जवाफ दिन ट्वीटरले आग्रह गरेको छ ।

पत्रमा भनिएको छ, ‘तपाइँलाई पक्कैपनि थाहै छ कि वर्षौँदेखि माइक्रोसफ्टले ट्वीटरको स्टाण्डर्ड एपिआई लाई निशुल्क रुपमा प्रयोग गर्दै आएको थियो । ट्वीटरका डाटा तथा सर्भिसलाई आफ्ना प्रडक्टहरुको सुधारमा प्रयोग गरेर माइक्रोसफ्टले वार्षिक अर्बौँ डलर आम्दानी गर्दै आएको छ।’

ट्वीटरबाट पत्र प्राप्त भएको माइक्रोसफ्टले पुष्टि गरेको छ । पत्रमा उल्लेखित विषयहरुको समीक्षा गरेर उचित जवाफ फर्काउने पनि उसले जनाएको छ ।

माइक्रोसफ्टले ट्वीटरसँगको आफ्नो साझेदारी दीर्घकालीन बनाउने मनसाय पनि प्रकट गरेको छ । माइक्रोसफ्टले आफ्ना डाटाहरुको वास्तवमा अपमानजनक ढंगले प्रयोग गरिरहेको विषयमा ट्वीटरले पनि अनुसन्धान गरिरहेको छ ।

स्मरण रहोस् पछिल्लो घटनाको सुरुवात गतवर्ष अक्टोबरमा भएको हो जब एलन मस्कले ट्वीटर खरीद गरे । एलन मस्कले ट्वीटरको प्लाटफर्मबाट आम्दानी गरिरहेका सबै डेभलपर्ससँगबाट शुल्क लिने घोषणा गरेका थिए । उनी आउनुअघि यो सबै निशुल्क थियो ।

केहीदिनअघि एलन मस्कले माइक्रोसफ्ट कम्पनीमाथि संगीन आरोप लगाउँदै माइक्रोसफ्टले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्सलाई तालिम दिनका लागि ट्वीटरका डाटाको दुरुपयोग गरिरहेको दाबी गर्दै अब मुद्दा हाल्नुपर्ने बताएका थिए । उक्त ट्वीटपछि माइक्रोसफ्टले आफ्नो विज्ञापन प्लाटफर्मबाट ट्वीटरलाई हटाएको थियो ।

माइक्रोसफ्ट ट्वीटरको एपिआईको नियमति प्रयोगकर्ता रहेको थियो । माइक्रोसफ्टले आफ्नो एक्सबक्स वान सोसल, बिंग पेजेज, एजुर तथा माइक्रोसफ्ट एड प्लाटफर्म लगायतमा ट्वीटरको एपिआई प्रयोग गरिरहेको र यसले ट्वीटरको सेवाका नियमलाई उल्लंघ गरेको दाबी पत्रमा गरिएको छ। सन् २०२२ मा मात्रै माइक्रोसफ्टका एपहरुले ७८ करोड पटक ट्वीटरको एपिआई प्रयोग गरेको र २६ अर्बवटा ट्वीट खोलेको दाबी ट्वीटरको छ ।

माइक्रोसफ्टले ट्वीटरका डाटा प्रयोग गरेको विषयमा कुनैपनि विवरणको खुलासा नगर्नुपनि नियमको उल्लंघन भएको जिकिर ट्वीटरले पठाएको पत्रका उल्लेख छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?