+
+

बालकृष्ण खाँणको मोबाइलमा भेटिएन शरणार्थीसँग सम्बन्धित विवरण

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते १५:०८

८ जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौं असुली गरेको गिरोहसँग सम्बन्ध देखिएको भन्दै पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मोबाइलको डिजिटल जाँच रिपोर्ट प्रहरीले प्राप्त गरेको छ ।

त्यसक्रममा शरणार्थीसँग सम्बन्धित विवरणहरु फेला नपरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले अनलाइनखबरलाई बताए । खाँणको मोबाइलबाट रिकभर हुनसक्ने विवरणमार्फत नक्कली भुटानी शरणार्थी प्रकरणमा अझै माथिल्लो तहको नेक्सससम्म प्रहरी पुग्नसक्ने अनुमान गरिएको थियो ।

प्रहरीले २७ वैशाखमा खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो । पक्राउलगत्तै खाँणको मोबाइल नियन्त्रणमा लिएर प्रहरीले जाँचका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको थियो ।

तर, त्यसबाट प्राप्त रिपोर्टमा शरणार्थीसँग सम्बन्धित विवरणहरु छैनन् ।

खाँणले प्रहरी पुग्नुअघि मोबाइल डाटा ‘फ्याक्ट्री रिसेट’ गरेको प्रहरी आशंका थियो । त्यसैले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा लिइएको बयानमा पनि उनलाई मोबाइल किन रिसेट गरेको भनेर सोधिएको थियो ।

तर, उनले आफू त्यत्ति प्रविधिसँग जानकार नभएको भन्दै आफूलाई थाहा नभएको बताएका थिए । मोबाइलबाट नयाँ विवरण फेला नपरेपछि उनलाई गिरोहलाई अनुकूल हुने गरी निर्णयहरु गराएको आरोपमा पक्राउ गरिएकाले त्यति फरक नपर्ने अधिकृतहरु बताउँछन् ।

‘अझै माथिसम्म जानसक्छ कि भन्ने थियो, त्यो चाहिँ देखिएन’, एक अधिकृत भन्छन् ।

प्रहरीका अनुसार पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले आफूअनुकूल प्रतिवेदन नदेखिएपछि मन्त्रालय नेतृत्वलाई प्रभावमा पारेर गिरोहले त्यसलाई सच्याउन अर्को उपसमिति गठन गराएको थियो । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले झापाका सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको नेतृत्वमा त्यसलाई सच्याउन अर्को उपसमिति बनाएका थिए ।

तर, उपसमितिले काम गरेको थिएन । बयानमा तत्कालीन सचिव पाण्डेले आफूले गृहमन्त्रीकै निर्देशनमा सबै काम गरेको जिकिर गरेका थिए । यो प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् ।

१६ जनालाई नै फरार प्रतिवादी बनाएर प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन सोमबार बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?