+
+
गणतन्त्र दिवस :

कृष्णलाई १५ वर्षअघि लागेको घाउले पोल्छ, चहर्‍याउँछ

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० जेठ १५ गते १०:५७
अहिले र घाइते हुँदा उपचाररत कृष्ण गिरी ।

१५ जेठ, दाङ । संसदीय प्रणालीकै विकल्प खोज्दै २०५२ सालदेखि सशस्त्र विद्रोहमा होमिएको नेकपा माओवादीको गतिविधि उत्कर्षतिर बढिरहँदा २०५९ सालमा राजदरबार नरसंहार भयो । तत्कालीन राजा वीरेन्द्रको परिवारकै हत्या भएपछि नयाँ राजा बनेका ज्ञानेन्द्र शाहले राजनीतिलाई थप जटिलतातिर धकेले ।

ज्ञानेन्द्रसँग अरु दलको विश्वास पनि कमजोर हुँदै गयो । २०६२ सम्म पुग्दा राजतन्त्रकै विकल्पमा दलहरुले गाउँगाउँ पुगेर जनता जागृत गराउन थाले । ‘जनताकै आडमा राजतन्त्र फालिनेछ । मुलुकले कोल्टो फेर्नेछ’ दलहरु भन्थे, ‘जनताका दिन फेरिनेछन् । सुखका दिन आउनेछन् ।’

सात राजनीतिक दल र माओवादीबीच १२ बुँदे सहमति जुटेपछि राजतन्त्रविरोधी आवाज अझ सशक्त बन्यो । २६ माघ २०६२ मा शाही सरकारले घोषणा गरेको नगर चुनाव प्रमुख दलहरुले बहिष्कार गरे । दाङको घोराही नगरसभा चुनावको विरुद्धमा पनि दलहरु सडकमा उत्रिए ।
राजतन्त्रकै विकल्पमा भएका यी आन्दोलनहरुको अग्रपंक्तिमै थिए, दाङका कृष्ण गिरी । ‘यो देश राजतन्त्रकै कारण पछि पर्‍यो । आन्दोलनपछि देशले पक्कै कोल्टो फेर्नेछ’ गिरीलाई त्यसबेला लागेको थियो ।

नगरसभा चुनाव बहिष्कारको आन्दोलन फैलिंदै २४ चैत २०६२ पुग्दा दोस्रो जनआन्दोलनमै बदलिएको थियो । एकप्रकारले घोराही बजार प्रदर्शनकारी र तत्कालीन शाही सेनाले मार्च गर्ने भूमिमा परिणत भएको थियो ।

राजतन्त्र विरुद्धको त्यो प्रदर्शनकै क्रममा शाही सेनाले गोली चलायो । शान्तिपूर्ण प्रदर्शनमा गोली चल्दा कृष्णसँगै उभिएका उमेश चन्द्र थापा ढले ।

‘उमेशजी मदेखि सात मिटर पर ढल्नुभएको थियो’ कृष्ण भन्छन्, ‘तीन वटा गोली मेरो शरीरमा लागेको रहेछ ।’ उमेश बाँच्न सकेनन्, जनआन्दोलनका शहीद भए ।

गोली लागेर घाउ भएको खुट्टा ।

खुट्टा र करङ गरी तीन राउण्ड गोली लागेका कृष्ण चाहिं संयोगले बाचे । तर शरीर सद्दे रहेन । त्यसपछिको करिब ६ महिना अस्पतालमै बिताए । अढाइ वर्षसम्म ओछ्यानमै थलिए । कृष्ण जस्तै थुप्रैका योगदान र बलिदानले अन्ततः २०६२/६३ को जनआन्दोलनले सार्थकता पायो । निरंकुश राजतन्त्रले घुँडा टेक्यो र मुलुकमा गणतन्त्र स्थापना भयो ।

गणतन्त्रका अधुरा सपना

आज गणतन्त्र प्राप्तिको १५ वर्ष हुँदा कृष्ण भने जनआन्दोलनका दिनहरु स्मरण गरिरहेका छन् । त्यही बेला दलहरुले जनतामाझ बाँडेका सपना र प्रतिबद्धताहरु सम्झिरहेका छन् । विद्रोहका बेला देखेको गणतान्त्रिक नेपाल र अहिलेको गणतान्त्रिक प्राप्ति पछिको नेपाललाई तुलना गरिरहेका छन् । ‘जनआन्दोलनका थुप्रै सपना अुधरै रहे’ उनलाई लाग्छ ।

आन्दोलनका घाउँ र शरीरका छर्राले उनी धेरै बेर हिंडडुल गर्न सक्दैनन् । ‘शरीरभरि ६ वटा छर्रा बोकेको छु’ उनी भन्छन्, ‘अहिले पनि घाउहरु उस्तै छन् । कहिले पोल्छ, कहिले चहर्‍याउँछ ।’

वर्षा, हिउँद र गर्मीमा त असह्य दुख्छ । तर त्योभन्दा धेरै आफूहरुले लडेर ल्याएको व्यवस्थामा जनताले पाएको दु:ख सम्झेर उनको मन पोल्छ । ‘राजतन्त्र फालेपछि जनताले आमूल परिवर्तनको सपना देखेका थिए । मुलुकले कोल्टे फेर्छ भन्ने सोचेका थियौं’ उनले भने, ‘तर गणतन्त्रमा हामीले सोचे जस्तो परिवर्तन आएन ।’

हिजो उनी जीउ ज्यान नभनी राजतन्त्र विरुद्ध लड्न तयार भए । ‘हामीले गणतन्त्रका लागि लड्दै गर्दा व्यवस्थासँगै अवस्थामा पनि बद्ल्नुपर्छ भनेका थियौं’ उनी भन्छन्, ‘तर अहिले व्यवस्था मात्रै फेरियो, जनताकाे अवस्था फेरिएन ।’

जनआन्दोलनका घाइतेसँग कृष्ण गिरी (ढाकाटोपी-दायाँबाट दोस्रो)

उनी गणतान्त्रिक व्यवस्थाले जनताको जीवनलाई छुन नसकेको बताउँछन् । ‘जनताकाे स्थिति बदल्नकै लागि लडेका थियौं’ उनी भन्छन्, ‘तर आज जनताको जीवनस्तर जहाँको त्यहीं छ । गरिबी, विभेद उस्तै छ । गणतन्त्रले केही व्यक्तिलाई मात्र लाभ भयो ।’

जनताका दुःख उस्तै रहेको उनी बताउँछन् । ‘आज किसानले मल पाएका छैनन् । तरकारीले बजार पाएकाे छैन । देशमा रोजगारी नपाउँदा युवाहरु विदेशिएका छन्’ उनले भने, ‘जताततै महँगीले थिचेको छ । भ्रष्टाचार मौलाएको छ ।’ उनी अहिले जनताका मुहारमा अभाव र नैराश्यता मात्र देख्छन् ।

यो सबैको कारण चाहिं उनी राजनीति गर्ने दलहरुलाई मान्छन् । दलहरु दलगत स्वार्थमा लाग्दा जनताको अवस्था बदलिन नसकेको उनी बताउँछिन् । ‘यो दोष व्यवस्थाको होइन, राजनीति गर्ने दलहरुको हो’ उनले भने, ‘नेतृत्व गर्ने व्यक्तिहरु जनताका चाहना, आवश्यकतालाई बिर्सेर दलगत स्वार्थमा लागे । त्यही कारण जनताका अवस्था ज्यूँका त्यूँ भए ।’

सबैभन्दा ठूलो समस्या त उनी दलहरुको आएको नैतिक विचलन देख्छन् । ‘नेताहरु जनताका सपना छोडेर धनसम्पत्ति आर्जन गर्न लागे’ उनले भने, ‘नेताहरुमा नैतिक विचलन आएको छ ।’ दलहरु जनताका सपना भन्दा पनि व्यक्तिगत स्वार्थको दलदलमा फसेको उनको बुझाइ छ ।

‘हाम्रा राजनीतिक नेतृत्वहरु भ्रष्टाचारका काण्डै काण्डैमा मुछिएका छन्’ उनले भने, ‘अहिले त आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर बेचेको पनि सुन्छु । यो जत्तिको लज्जाको विषय अरु के हुन सक्छ ?’

केही उपलब्धिहरू पनि

दु:खको कुरा त के भने नेताहरु चुनावको बेला मात्र झुटो बाचा लिएर जनतामाझ जान्छन् । चुनाव जितेपछि त्यो सबै बिर्सन्छन् । तर सधैं यही झारा टार्ने कामले मात्रै नहुने उनी बताउँछन् । दलहरु समयमै नसच्चिए जनताले नै दलहरुको विकल्प खोज्ने उनी सुनाउँछन् ।

त्यसो त उनी गणतन्त्रले उपलब्धि नल्याएको भन्ने ठान्दैनन् । गणतन्त्रको फलस्वरुप नेपालको संविधान २०७२ निर्माण, संघीयता कार्यान्वयन, धर्मनिरपेक्षता, समावेशिता लगायत थुप्रै उपलब्धि भए। सबैभन्दा ठूलो त राजतन्त्रका बेला विरोध गरेर बोल्न पाइँदैनथ्यो’ उनले भने, ‘गणतन्त्रले जनताले आफ्नो बोल्न पाउने, लेख्न पाउने स्थापित गर्‍यो । यो नै सबैभन्दा ठूलो उपलब्धि हो ।’ २०७२ को संविधान पनि ठूलो प्राप्ति भएको उनी सुनाउँछिन् । जहाँ जनताका थुप्रै अधिकार उल्लेख गरिए ।

तर ती सबै प्राप्ति कागजमा मात्र सीमित भएको उनी बताउँछन् । ‘जनताले आज बोल्न त पाएका छन्, तर त्यो स्वर कहाँ सुनिएको छ ?’ उनले भने, ‘भ्रष्टाचारका काण्ड प्रशस्त बाहिर आउँछन्, तर ती कति अनुसन्धान भएका छन् त ?’

अहिले उनलाई लाग्छ, दलहरुले जनताका लागि त सोचेकै रहेनछन् । कहिलेकाहीं उनी सोचिबस्छन्, ‘सडकबाट सत्तामा पुगेपछि नेताहरु कसरी दलगत स्वार्थहरुमा लागे ? सायद सत्ता र सडकबीचको फरक यही हो कि ?

जनआन्दोलनका घाइतेहरु भने यो सबै देख्दा मनभित्र पीडा बोध हुने उनी सुनाउँछन् । अर्काेतिर उनको पीडा राज्यले मूल्याङ्कन नगरेको प्रति छ । ‘म जस्ता थुप्रै साथी जीउभरि गोली बोकेर बाँचेका छौं’ उनले भने, ‘हाम्रो मूल्याङ्कन कहीं कतै गरिएन । आज हामीलाई बिर्सने काम भयो ।’

त्योभन्दा बढी पीडा उनलाई दलहरुको अहिलेसम्म चेत नआएको देख्दा हुन्छ । राजनीतिक दलहरुको यिनै गतिविधिले जनतामा वितृष्णा बढ्दै गएको र गणतन्त्रमाथि नै प्रश्न उठिरहेको उनी बताउँँछन् ।

‘यो व्यवस्था नै ठीक हैन भन्ने स्वहरु पनि उठिरहेको छ’, उनी भन्छन् । तर यो नै सर्वाेत्कृष्ट व्यवस्था भएको उनी सुनाउँछन् । ‘यो समस्या व्यवस्थामा होइन, राज्य सञ्चालन गर्ने नेतृत्वहरुमा हो । नेताहरुको आचरण ठीक नहुँदा गणतन्त्रमाथि प्रश्न उठेको हो’ उनले भने, ‘यो नै उत्तम व्यवस्था हो । बरु यसमा भएका कमजोरीहरु सुधार गर्दै लैजानुपर्छ ।’

त्यसका लागि राजनीतिक दलहरु नै सच्चिनुपर्ने उनी बताउँछन् । त्यसपछि मात्र गणतन्त्र प्राप्तिको अनुभूति जनताले गर्ने उनी बताउँछन् । ‘पहिलो कुरा त नेताहरु सच्चिनुपर्छ । आफ्नो आचारण सुधार्नुपर्छ’ उनले भने, ‘व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताबारे सोच्नुपर्छ ।’ त्यसका लागि नेताहरु प्रत्येक गाउँ–गाउँमा पुगेर जनतासँग माफी माग्नुपर्ने उनी बताउँछन् ।

दु:खको कुरा त के भने नेताहरु चुनावको बेला मात्र झुटो बाचा लिएर जनतामाझ जान्छन् । चुनाव जितेपछि त्यो सबै बिर्सन्छन् । तर सधैं यही झारा टार्ने कामले मात्रै नहुने उनी बताउँछन् । दलहरु समयमै नसच्चिए जनताले नै दलहरुको विकल्प खोज्ने उनी सुनाउँछन् ।

‘यतिका वर्ष जनताले विकास होला, समृद्धि आउला भनेर पर्खिए’ उनले भने, ‘अब चाहिं धैर्यको बाँध भरिसक्यो । जुन दिन यो बाँध भत्किनेछ, त्यसदिन सबैलाई बगाउनेछ ।’ तर त्यो ढिला हुनुअघि नै दलहरु सच्चिनुपर्ने उनी सुनाउँछन् । ‘दलहरुले बुझ्नुपर्छ कि यिनै जनताले हिजो राजतन्त्र फालेका छन्’ उनी चेतावनी दिन्छन्, ‘यही जनता फेरि सडकमा उर्लिए दलहरुको खैरियत हुनेछैन ।’

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?