+
+

हार्दिक पाण्ड्या भन्छन्- धोनीसँग हार्दा मलाई केही चिन्ता छैन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १६ गते १५:४८

१६ जेठ, काठमाडौं । साविक विजेता गुजरात टाइटन्स आईपीएल २०२३ को फाइनलमा चेन्नाई सुपर किंग्ससँग पराजित भएपछि उसका कप्तान हार्दिक पाण्ड्याले महेन्द्रसिंह धोनीसँगको हारमा आफूलाई कुनै चिन्ता नरहेको बताए । पाण्ड्याले धोनीलाई आफ्नो गुरु मान्छन् ।

वर्षाले प्रभावित खेलमा चेन्नाईलाई अन्तिम २ बलमा १० रन आवश्यक थियो । मोहित शर्माको बलमा रविन्द्र जडेजाले लगातार छक्का र चौका प्रहार गरी टिमलाई जित दिलाए ।

‘म धोनीका लागि धेरै खुसी छु,’ खेलपछि पाण्ड्याले भने, ‘भाग्यले उनका लागि यही लेखेको थियो । यदि मलाई हार्नु छ भने उनीसँग हार्नुमा आनन्द छ । मैले गत वर्ष पनि भनेको थिएँ, राम्रो मान्छेहरुसँग नै राम्रो कुरा हुन्छ । उनी मैले अहिलेसम्म भेटेका सबैभन्दा राम्रो मान्छेमध्येका हुन् । भगवानले मलाई सहयोग गरेका छन् । मेरो विचारमा आज भगवानले उनलाई थोरै बढी आशिर्बाद दिए ।’

२१ वर्षे युवा खेलाडी साइ सुदर्शनले ४६ बलमा ९६ रन बनाएको खेलमा गुजरातले पहिले ब्याटिङ गरी २१४ रनको योगफल खडा गरेको थियो । तर, दोस्रो इनिङ्स सुरु भएलगत्तै वर्षाले खेल रोकियो । वर्षा रोकिएपछि ओभर घटाइएको खेलमा चेन्नाईले जितका लागि १५ ओभरमा १७१ रन बनाउनुपर्ने भयो ।

वर्षाले गुजरातको सम्भावना कमजोर बनाइदिएको हो ? भन्ने प्रश्नमा हार्दिकले भने, ‘म ती मान्छेहरुमा पर्दिन जो बहाना बनाउँछन् । चेन्नाईले हाम्रोभन्दा राम्रो क्रिकेट खेल्यो । जसरी हामीले ब्याटिङ गरेका थियौं त्यो वास्तवमै अदभूत थियो । विशेष रुपले साईको भूमिका राम्रो थियो । म उनको राम्रो भविष्यको कामना गर्दछु ।’

गुजरातले उपाधि रक्षा गर्न नसके पनि पूरा सिजन उनीहरुका लागि सकारात्मक थियो । कुल ८९० रन बनाएका शुभमन गिल आईपीएलको एक सिजनमा सबैभन्दा धेरै रन बनाउने दोस्रो खेलाडी बने । मोहम्मद सामी २८ विकेटका साथ सर्वाधिक विकेट लिगे बलर बने । मोहित शर्मा र राशिद खान २७–२७ विकेटका साथ संयुक्त रुपमा दोस्रो बने ।

‘म उनीहरुका लागि खुसी छु,’ पाण्ड्याले भने, ‘उनीहरुको सर्वश्रेष्ठ प्रदर्शनका लागि हामी सबै साथमा थियौं । मोहित, शामी, राशिद र अरु सबैले जसरी तयारी गरे र आआफ्नो जिम्मेबारी लिए त्यसैले हामी यहाँ छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?