+

भारतमा गरेको अभ्यासले विश्वकप छनोटमा सजिलो हुन्छ : कप्तान इन्दु

२०८२ वैशाख  २२ गते १३:४१ २०८२ वैशाख २२ गते १३:४१
भारतमा गरेको अभ्यासले विश्वकप छनोटमा सजिलो हुन्छ : कप्तान इन्दु

२१ बैशाख, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु वर्माले आईसीसी महिला टी२० विश्वकप छनोट अघि भारतको तयारीले सहयोग पुग्ने बताएकी छिन् ।

थाइल्याण्डमा हुने आईसीसी टी-२० विश्वकप एसिया छनोट अघि नेपालले भारतको दिल्लीमा गएर तयारी गरेको थियो । जहाँ केही अभ्यास खेलपनि खेलेको थियो । कप्तान इन्दुले भारतको तयारी सकारात्मक रहेको अनलाइनखबरसँग बताइन् ।

‘भारतमा अभ्यास एकदम सकरात्मक भयो । टिमले केही म्याचहरु पनि खेलेको थियो । राम्रो प्रदर्शनहरू भयो’ उनले भनिन्, ‘थाइल्याण्डमा हुने क्वालिफायरको लागि टिमले जुन तरिकाले क्लियर भिजन तयार गरेको छौं आफूलाई मानसिक रूपले बलियो बनाएका छौं ।’

टिमले फिटनेसमा पनि ध्यान दिएको उनले बताइन् । ‘मुख्य केन्द्रित फिटनेस र टिम समन्वयमा काम गरिरहेका छौं । हाम्रो मुख्य लक्ष्य एसिया छनोट पार गर्ने र अन्तिम लक्ष्य विश्वकप पुग्ने हो’ इन्दुले भनिन् ।

नेपालले डीडीसीएको टिमसँग चार अभ्यास खेल खेल्ने तालिका भएपनि तीन खेल मात्र खेल्यो । एक खेल वर्षाको कारण हुन सकेन । तीनवटै खेलमा नेपाल पराजित भएको थियो । यस्तै आरसीपीएसँग पनि एक अभ्यास खेल खेलेको नेपाल पराजित भएको थियो ।

यसपटक एसिया छनोटमा ९ टिमले प्रतिस्पर्धा गर्नेछन् । टिमलाई तीन समूहमा विभाजन गरेर खेलाइनेछ । नेपाल रहेको समूह सी मा हङकङ र बहराइन छन् ।

हरेक समूहको खेल डबल राउण्ड रोविनको आधारमा हुनेछ । अर्थात एक टिमले अर्को टिमसँग दुई-दुई खेल खेल्नेछ । त्यसपछि तीनवटै समूहको शीर्ष स्थानमा रहने टिम सुपर राउण्डमा पुग्नेछ ।

सुपर राउण्डमा तीन टिमको लिग म्याच हुनेछ र एकआपसिमा खेलेपछि शीर्ष दुई टिम ग्लोबल क्वालिफायरमा पुग्नेछ । नेपालले पहिलो खेल हङकङसँग खेल्नेछ ।

फरक खालको छनोट भएकोले हरेक खेल महत्वपूर्ण हुने र जित्नुपर्ने इन्दुले बताइन् । ‘यसपटकको छनोटमा समूह विजेता मात्र सुपर राउण्डमा पुग्ने भएकोले हरेक खेल जित्नुपर्छ, उनले भनिन्, ‘सुरुबाटै मानसिक रुपमा फोकस भएर राम्रो प्रदर्शन दिनुपर्छ । क्वालिफायर पुग्नका लागि हरेक खेल महत्वपूर्ण हुन्छ र सजिलो पनि हुन्छ।’

नेपालले समूह विजेता बनेर सुपर राउण्ड पुग्ने लक्ष्य रहेको कप्तान इन्दुले बताइन् । ‘हाम्रो लक्ष्य भनेको हरेक खेल जित्दै समूह टप बन्ने हो । त्यसपछि ग्लोबल क्वालिफायर पुग्ने हो अनी विश्वकप ।’

नेपाली टोली दिल्लीबाटै थाइल्याण्ड जानेछ । नेापली टोलीका मुख्य प्रशिक्षक मनोज कटुवाल भुटानमा लेभेल ३ कोचिङ कोर्स सकाएर दिल्ली पुगिसकेका छन् र टिमसँग जोडिएका छन् ।

अर्का प्रशिक्षकमा रिजन प्रजू छन् भने भारतका मनिष झा कन्सल्ट्यान्ट कोच छन् ।

इन्दु बर्मा नेपाली महिला क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय