+
+

भारतसँगको दोस्रो ४०० केभी प्रसारणलाइनको शिलान्यास हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते १६:५६

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा ४०० केभी क्षमताको न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि ‘इम्प्लिमेन्टेसन अफ ट्रान्समिसन सर्भिस एग्रिमेन्ट’ हुने भएको छ । यो सम्झौतासँगै प्रसारणलाइनको शिलान्यास पनि नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने भएका छन् ।

यो ढल्केबर–मुजाफ्फरपुर प्रसारणलाइनपछि भारतसँग बन्न लागेको दोस्रो ४०० केभीको प्रसारणलाइन हो । न्यू बुटवल–गोरखपुर प्रसारणालाइन नेपालमा अमेरिकी अनुदान कार्यक्रम एमसीसीअन्तरगत बनिरहेको प्रसारणलाइनसाग जोडिने छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणमा यो प्रसारणलाइनको भारततर्फको खण्डको मात्रै शिलान्यास हुन लागेको हो । भारतीय खण्डको निर्माण बुटवल–गोरखपुर क्रस बोर्डर ट्रान्समिसन लिमिटेड (बीजीसीपीटीएल)ले गर्दैछ । बीजीसीपीटीएल नेपाल र भारतबीचको दोस्रो अन्तरदेशीय प्रसारण लाइनको निर्माण गर्न नेपाल विद्युत प्राधिकरण मिलेर स्थापित संयुक्त कम्पनी हो ।

यो कम्पनीले न्यू बुटवल–गोरखपुर ४०० केभी प्रसारणलाइनअन्तर्गत भारततर्फ पर्ने लाइन निर्माण गर्ने छ । यसमा नेपाल विद्युत प्राधिकरण र भारत सरकारको स्वामित्वको पावर ग्रिड कर्पोरेसन अफ इण्डिया लिमिटेडको ५०/५० प्रतिशत सेयर स्वामित्व छ ।

कम्पनीको ५० प्रतिशत स्वामित्व हुन आउने ४६ करोड भारतीय रुपैयाँ (७३ करोड ६० लाख रुपैयाँ) रकम लगानी गर्न नेपाल विद्युत प्राधिकरणले स्वीकृति पाइसकेको छ ।

नेपाल–भारत ऊर्जा सचिव तथा सहसचिवहरुको संयन्त्रको २०७६ असोज २७ र २८ गते भएको सातौं बैठकले प्रसारणलाइन निर्माणको लगानीको स्वरुपलाई टुंगो लगाएको थियो । अनुमानित लागत ७ अर्ब ३९ करोड रुपैयाँ रहेको आयोजनाको वित्तीय व्यवस्थापन ८० प्रतिशत ऋण र २० प्रतिशत इक्विटीबाट जुटाइने छ ।

नेपालतर्फको प्रसारणलाइन भने प्राधिकरण आफैंले गर्ने तयारी हुँदैछ । नवलपरासीको सुनवल नगरपालिका–१३ मा रहेको न्यू बुटवल सबस्टेसनबाट सुरु भई भारतको गोरखपुर सबस्टेसनसम्म पुग्ने ४०० केभी डबल सर्किट प्रसारण लाइन करिब १२० किलोमिटर छ । त्यसमध्ये नेपालतर्फ करिब २० किलोमिटर र बाँकी भारततर्फ पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?