+
+

नेपालमा छायांकन हुने तयारीमा रहेको डिज्नीको फिल्म ‘तेन्जिङ’ पोस्टपोन्ड

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३१ गते ११:२५

काठमाडौं । प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पामाथि हलिउड स्टुडियो वाल्ट डिज्नीले बनाउने भनिएको फिचर फिल्म ‘तेन्जिङ’को छायांकन सरेको छ । डिज्नीले यो फिल्मका लागि २०७८ सालको मंसिरमा नेपालसहित विश्वभर अडिसन कल आयोजना गरेको थियो ।

यो फिल्मलाई सन् २०२२ को अक्टोबरदेखि छायांकन गर्ने योजना थियो । फिल्मको नेपाल कास्टिङमा संलग्न निर्देशक छिरिङरितार शेर्पाका अनुसार स्क्रिप्टकै कारण छायांकन केही समय पछि सरेको हो । ‘प्रोजेक्ट क्यान्सिल भएको होइन । केही समयलाई धकेलिएको मात्र हो । गत वर्षको अक्टोबरदेखि नै सुटिङ गर्ने योजना थियो,’ शेर्पाले अनलाइनखबरसँग भने ।

नेपाल र न्युजिल्याण्डमा छायांकन गर्ने योजना रहेको फिल्मका सबै कलाकारको अडिसन सकिएको छ । त्यतिबेला तेन्जिङ शेर्पाको भूमिकामा अभिनय गर्ने कलाकारको उमेर २५ देखि ४० हुनुपर्ने उल्लेख थियो । यसबाहेक थुप्र्रै सहायक कलाकारको समेत अडिसन गरिएको थियो । मुख्य पात्रको लागि शेर्पा, तिब्बती अर्थात् हिमाली क्षेत्रमा बसोबास गर्ने पुरुष वा महिला हुनुपर्ने सर्त थिए ।

शेर्पाको मिला प्रोडक्सनले नेपालको कास्टिङ जिम्मा लिएको थियो । यो कम्पनीले तिब्बती, नेपाली र अंग्रेजी भाषामा कास्टिङ गरेको थियो । सगरमाथामाथि बनेको चर्चित डकुमेन्ट्री ‘शेर्पा’का निर्देशक जेनिफर पीडमले यो फिल्मलाई निर्देशन गर्नेछन् भने स्क्रिप्ट ‘लायन’ फेम्ड लेखक ल्युक डेभिसले लेखेका हुन् ।

सुरुमा यो फिल्मलाई अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको कम्पनी हाइअर ग्राउण्ड प्रोडक्सन र नेटफ्लिक्सले मिलेर निर्माण गर्ने योजना थियो । तर यी दुईले निर्माणबाट हात झिकेपछि डिज्नीले निर्माणको जिम्मा लिएको हो । यो फिल्मलाई डिज्नी प्लस प्लेटफर्ममा स्ट्रिमिङ गर्ने योजना छ ।

तेन्जिङले सन् १९५३ को मे २९ मा न्युजिल्याण्डका एडमन्ड हिलारीसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । टाइम म्यागजिनले उनलाई २० औं शताब्दीका सय प्रभावशाली व्यक्तिको सूचीमा राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?