+
+

निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्नुका कारण

निजगढ विमानस्थल विकासको पूर्वाधारका रूपमा नभएर राजनीतिक महत्वाकांक्षा आपूर्तिको माध्यम हुन पुगेको छ । यो महत्वाकांक्षाले प्रकृति र मानव सभ्यताका सम्पूर्ण बन्धन तोड्न खोजेको देखिन्छ ।

श्रवण शर्मा श्रवण शर्मा
२०८० असार ११ गते १९:०६

‘कोही त भने जहाजमा सरर,
कोही को भने पसिना तरर,
हाम्रो नेपालमा…’

यही गीत गाएर आफ्नो राजनीतिक संगठन र दलिल बलियो बनाएका नेपालका वामपन्थी नेताहरू जहाजको ‘सरर’ प्रति अति आकषिर्त छन् । जापान, युरोप र अमेरिकाका अत्याधुनिक विमानस्थलबाट दर्जनौं पटक आवतजावत गरेका शीर्ष नेताहरूमा नेपालमा पनि त्यस्तै सुन्दर, सुविधाजनक विमानस्थलको परिकल्पना आउनु स्वाभाविक नै हो ।

तर, यस प्रसंगको अस्वाभाविक कुरा के भने, किन विमानस्थलका लागि वनको जमिनमा आँखा लगाइएको भन्ने नै प्रमुख प्रश्न हुन आएको छ । आम नागरिक र वातावरणीय चेतनाले उठाएका प्रत्येक प्रश्नको सारभूत जवाफ दिने काम सरकार र राजनीतिक दलहरूको हो । राजनीतिक दललाई पनि किन जिम्मेवार मान्नुपर्छ भने सरकारका प्रत्येक जसो साना-ठूला काममा दलका नेताहरूको संंलग्नता हुने गरेको छ ।

निजगढको जंगलमा ८,०४६ हेक्टर क्षेत्रफलमा विमानस्थल निर्माण गर्ने राजनीतिक चाहना पुरानो होइन । यो लेखमा, निजगढमै विमानस्थल बन्नुपर्छ भन्नु पछाडि रहेका संभावित कारणहरूको विश्लेषण गर्न खोजिएको छ । विमानस्थल निर्माण विकासको पूर्वाधारका रूपमा नभएर राजनीतिक महत्वाकांक्षा आपूर्तिको माध्यम हुन पुगेको छ । यो राजनीतिक महत्वाकांक्षाले प्रकृति र मानव सभ्यताका सम्पूर्ण बन्धनहरू तोड्न खोजेको देखिन्छ ।

२ हजार हेक्टर क्षेत्रफलमा ६ करोड यात्रु ओसारपसार

तल उल्लिखित तथ्यांकले बताउँछ यात्रु व्यवस्थापन र यात्रा सञ्चालनका लागि विमानस्थलहरूको आकार वा क्षेत्रफल कति हुनुपर्छ वा कति हुनुपर्ने रहेछ । मेरो आफ्नो स्वाध्ययनबाट संकलित सूचना अनुसार, मुम्बईको छत्रपति शिवाजी राव अन्तर्राष्ट्रिय विमानस्थल ७५० हेक्टरमा फैलिएको छ । यसले वर्षको ३ करोड २० लाख ७० हजार यात्रुलाई सेवा दिइरहेको छ । त्यस्तै २,०६६ हेक्टरमा स्थापित इन्दिरा गान्धी विमानस्थलले वर्षको ६ करोड ७० लाख ३० हजार यात्रु ओसारपसार गर्दछ ।

यस्तै संसारका व्यस्तमध्ये एक नेदरल्याण्ड्सको सिफोल विमानस्थल २,७८७ हेक्टरमा निर्मित छ, जबकि यो विमानस्थल भएर वर्षको ५ करोड २५ लाख यात्रु उड्दछन् । अझ वार्षिक ६ करोड बढी यात्रु उडाउने हिथ्रो विमानस्थल १,२२७ हेक्टर जमिनमा रहेको छ ।

त्यसैगरी ६ करोड ५० लाख यात्रु व्यवस्थापन गर्ने फ्रयांकर्फट विमानस्थल २,२३० हेक्टरमा फैलिएको छ । धेरै नेपालीले प्रयोग गरेको दुबई विमानस्थलले २९०० हेक्टर जमिन ओगटेको छ तर वर्षको ६ करोड ६० लाख यात्रु उडाउँछ । ४ हजार हेक्टर क्षेत्रफलमा बनेको सांघाइ पुदोङ विमानस्थलले वर्षको ३ करोड मानिस उडाइरहेको छ ।

नेपालको क्षेत्रफल, जनसंख्या, अर्थतन्त्र, प्रतिव्यक्ति आय, संभावित उडान र यात्रु अनुमान गर्ने हो भने निजगढ विमानस्थल बोका माथि घोडाको सवारी चलाउनु हुनेछ । झण्डै सिंगो भक्तपुर जिल्ला जत्रै हुनेछ, यो विमानस्थल । त्यहाँ प्रस्तावित ‘विमानस्थल सिटी’ चाहिं मध्यपुर थिमि नगरपालिका बराबरी आकारको हुनेछ ।

नेपाल सरकार हवाई उड्डयन प्राधिकरणका अनुसार, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु उडान क्षमता वाषिर्क बढीमा २ करोड हुने अनुमान छ तर कोरियन कम्पनीले १ करोड ५० लाख मात्रै यात्रु उडान गर्न सकिने भनेको छ । अब भन्नुस् हामीलाई किन चाहियो ८,०४६ हेक्टर जमिनको विमानस्थल ? यति जमिन प्रयोग गर्ने निर्णय लिन खोज्नु पछाडि के कारण छन् ?

निजगढमै किन हुनुपर्ने अन्तर्राष्ट्रिय विमानस्थल ?

विकास र प्रशासनिक निर्णयहरूको मूल्यांकन गरिरहेका कतिपय विश्लेषकहरू प्रस्तावित निजगढ विमानस्थल निर्माण चरणमा निर्णयकर्ताहरूलाई सात किसिमका अतिरिक्त लाभ प्राप्त हुने संभावना देख्दछन् । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले पनि यस्ता आशंकाहरूलाई बल पुर्‍याएको छ ।

त्यस्ता सम्भावित लाभका क्षेत्र हुन्- (१) विमानस्थल नजिक विकास गरिने शहरका लागि छुट्याइएको ११ हजार ७९० रोपनी जमिन (२) ७० अर्ब बराबरको काठ व्यापार (३) ५१ हजार ८१५ ट्रक दाउरा बिक्री (४) विमानस्थल निर्माणको ९ खर्ब १० अर्ब रकमको ठेक्का (५) नर्सरी स्थापना र बिरुवा खरिद (६) बिरुवा रोप्नका लागि १ खर्ब ३९ अर्ब लगानी (७) रोपिएका बिरुवा संरक्षणका लागि तारबार र हेरालु खर्च ।

लगानीको सुनिश्चितता पूर्व नै रूख काट्न गरिएको हतारोले राजनीतिक लाभको आशंका झन् बलियो भएको छ । प्राध्यापक गोविन्द शाहले सार्वजनिक रूपमा भनेका छन्, ‘लगानीको सुनिश्चय नभएसम्म एउटै पनि रूख ढाल्नुहुँदैन । विमानस्थल निर्माणको सवालमा प्रमुख राजनीतिक दलहरूबीच राजनीतिक नाममा कुनै गोप्य सहमति भएको हो कि भन्ने आम आशंकालाई सरकार र राजनीतिक दलहरूले अहिलेसम्म चित्तबुझ्दो जवाफ दिन सकिरहेका छैनन् ।’

नेपाल सरकारको २०८०/८१ को बजेट वक्तव्यको बुँदा १९५ मा ‘निजगढ विमानस्थल निर्माणका लागि बजेट छुट्याएको छु’ मात्रै भनिएको छ । अर्थमन्त्रीले धेरै शीर्षकमा यसरी बजेट छुट्याउनुभएको छ । तर, आम मान्छेका आँखा निजगढ विमानस्थलतिर तानिएका छन् ।

सरकारी दाबी र नागरिक दृष्टिकोण

सामान्य अर्थमा निजगढ पूर्व-पश्चिम राजमार्गमा अवस्थित एउटा सानो भूगोल हो, जसमा निजगढ नाम दिइएको सानो बजार छ । बजारको वरिपरि प्राकृतिक वन छ । पर्यावरणीय र प्रकृतिको कुरा गर्ने हो भने निजगढ एक घाँसेमैदान, जंगली जनावर, कीराफट्याङ्ग्रा, कमिला लगायत वनौषधियुक्त प्राकृतिक वन हो । यसले पूर्वी तराईको पर्यावरणीय सन्तुलनमा ठूलो योगदान गरिरहेको छ ।

निःसन्देह, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताले हवाई यात्रुहरूको चाप धान्न सकिरहेको छैन । राजधानी काठमाडौं नजिकै अर्को अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ भन्ने नितान्त सान्दर्भिक र जायज कुरा हो ।

अनि नेपाल सरकार विमानस्थल कहाँ, कसरी र किन बनाउने भन्ने आफ्नो पूर्ण क्षेत्राधिकारको विषय हो भन्ने दाबी गरिरहेको छ । राजनीतिक दलहरू सरकारको यस्तो भनाइको पुष्टि गर्न बल गरिरहेका छन् । राजनीतिक दलहरू र सरकारकोे दाबी अनुसार नेपाल सरकार देशको कुनै पनि भाग आफ्नो योजना अनुसार प्रयोग गर्ने प्राधिकार पनि राख्दछ ।

एकछिनका लागि सरकारको यो हठलाई मानिदिऊँ, र अर्को प्रश्न गरौं, उसो भए नागरिकहरूको दृष्टिकोण, त्यस क्षेत्रमा बसोबास गर्ने मान्छेहरूको भावनाको चाहिं कुनै मूल्य छैन ? मूल्यहीन हुन् वन संरक्षण र वातावरणीय सवाल ?

लगानीका स्रोत नजुटाई जंगल फाँडिहाल्ने हतारो पनि प्रश्नको घेरामा छ । प्रशस्तै विकल्प हुँदाहुँदै निजगढको वन नै रोजिनु, सिमरातिर ध्यान नदिइनु, तराईका अरू स्थान नखोजिनुका पछाडि ठूलो आर्थिक स्वार्थ यसमा जोडिएको छ भन्ने आशंका बलशाली हुँदैछ

निजगढ विमानस्थलप्रति उठाइएका वातावरणीय प्रश्नहरू तिरस्कार गर्न योग्य नै छन् त ? के हामी पर्यावरणीय क्षेत्रमा काम गरिरहेका मानिस विकास विरोधी दर्ज हुनकै लागि आफ्ना धारणा र वैज्ञानिकहरूका वर्षौंका अध्ययन प्रतिवेदन, पुस्तक र नागरिक दृष्टिकोणहरूको निचोड लेखिरहेका छौं ?

साँच्चै नै निजगढ विमानस्थलले नेपालीलाई वातानुकुलित जीवनका लागि जीविकोपार्जन उपलब्ध गराउँछ त ? लगानी र प्रतिफलको तुलनात्मक अध्ययन गर्दा देखिने भयावह चित्रको पछिल्ला अनुच्छेदहरूमा वर्णन गरिएको छ ।

जंगल फाँडिहाल्ने हतारो

गुगल म्यापबाट नै हेर्न सकिन्छ काठमाडौंबाट हवाई दूरीका हिसाबले ६८ किलोमिटर र सडकमार्गबाट १३५ किलोमिटर दक्षिणतिर रहेको छ निजगढ । निजगढ चुरे पहाडको ठीक दक्षिणपट्टकिो समथर जमिनमा रहेको एक प्राकृतिक वन हो ।

निजगढ एक प्राकृतिक जीवनचक्र हो । वन वा वनजन्य प्राणीहरूको मात्र नभएर मानिसका लागि पनि प्राकृतिक जीवनचक्र प्रदायक हो, यो वन ।

विनाशक विकासभन्दा आज हामी नेपालीले भोगिरहेको अविकास कैयौं गुणा सुन्दर छ, प्राणीजगत अनुकूल छ, जीवन देखिन्छ र मानिसको भावना काव्यात्मक शैलीमा व्यक्त हुन्छ, सृष्टिको सुन्दरता देखेर ।

नेपाल सरकार र नेपालका प्रमुख राजनीतिक दलहरू नेपाली नागरिकहरूको मगजको आवेग उत्पन्न गर्ने भित्री संयन्त्रमा निरन्तर प्रहार गरिरहेका छन् । जब, मानिसको मगजको रिस वा आक्रोश उत्पन्न गर्ने तन्तुमा बढी प्रेसर वा दबाब पर्छ, मान्छेहरू सहने क्षमता बाहिर पुग्छन् । नेपाल सरकार, सरकारी र विपक्षी राजनीतिक दलहरू यही समयको प्रतीक्षामा छन् भन्ने देखिन्छ ।

चुरे र निजगढ ती प्राकृतिक तत्व हुन् जसका लागि मानिसलाई तथाकथित विकास भन्दा प्राकृतिक जीवनचक्र धेरै महत्वपूर्ण छ । हाल मधेशमा बसिरहेका मेरा धेरै मित्र के भन्छन् भने अबको १० वर्षभित्र नै मधेशले सामना गर्न नसक्ने पर्यावरणीय जोखिमहरू भोग्नेछ ।

पानीको अभाव सामना गरिरहेका मधेशका नागरिकहरूमा भावी जीवन र आफ्ना सन्ततिहरूको जीवनवृत्तिको चिन्ता उत्पन्न हुन थालेको छ । चुरे दोहन र निजगढको जंगल काटिनुले त्यसमाथि आगोमा घिउ थप्ने छ ।

पर्यावरणविद् तथा चुरे संरक्षणका सैद्धान्तिक प्रस्थापनाहरू तय गर्ने राष्ट्रपति चुरे-मधेश तराई संरक्षण विकास समितिका पूर्व सदस्य डा. विजयकुमार सिंह मधेश मरुभूमिकरण हुने खतरा औंल्याउँछन् । उनी यस विषयमा निरन्तर बोलिरहेका छन् ।

धनुषा र सिरहाका ठूलो संख्याका नागरिकहरू कमला नदी संरक्षणका प्राविधिक योजना र आम सचेतना सम्प्रेषणका लागि स्मरणीय काम गरिरहेका छन् । नदी प्रणाली, नदीको पर्यावरणीय महत्व, नदी र वनको शाश्वत सम्बन्धका विषयमा मानिसहरूमा आइरहेको नवचेतनालाई सरकारले प्रस्फुटित हुने वातावरण तयार पार्नुपर्नेमा सरकार उल्टै पर्यावरणीय जोखिम पैदा गर्ने काम गरिरहेको छ भन्ने आक्रोश पैदा भइरहेको छ मानिसमा ।

प्रस्तावित दोस्रोे अन्तर्राष्ट्रिय विमानस्थल, निजगढमा गरिएको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको विस्तृत अध्ययन पछि अमेरिकाको इण्डियाना विश्वविद्यालयका प्राध्यापक गोविन्द शाहले ‘विकासोन्मुख देशहरूमा वातावरणीय प्रभाव मूल्यांकन राजनीतिबाट उत्प्रेरित हुने गरेको’ भनेका छन् । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि वैकल्पिक स्थानतिर ध्यान नदिइनुमा पनि उनले प्रश्न उठाएका छन् ।

निजगढ विमानस्थल तराई आर्क ल्याण्डस्केप परियोजना क्षेत्रभित्र पर्दछ । विमानस्थलले प्रयोग गर्न प्रस्ताव गरिएको ८०.४६ वर्ग किलोमिटर (अर्थात् ८ हजार ४५ हेक्टर) क्षेत्रको ९४ प्रतिशत भूमिमा जंगल रहेको वातावरणीय प्रभाव मूल्यांकनकर्ताहरूको प्रतिवेदनमा उल्लेख छ ।

प्रस्तावित विमानस्थलसँग सम्बन्धित धेरै सूचनाले यसमा राजनीतिक लगानीका स्वार्थहरू जोडिएको देखाउँछ । उदाहरणका लागि विमानस्थलको ५ किलोमिटर दूरीमा प्रस्तावित स्मार्ट सिटी निजगढ छ भने किन फेरि ६०० हेक्टर जमिनमा विमानस्थल शहर बनाउनुपर्ने हो ? भन्ने प्रश्न पनि गोविन्द शाहले उठाएका छन् ।

त्यस्तै लगानीका स्रोत नजुटाई जंगल फाँडिहाल्ने हतारो पनि प्रश्नको घेरामा छ । प्रशस्तै विकल्प हुँदाहुँदै निजगढको वन नै रोजिनु, सिमरातिर ध्यान नदिइनु, तराईका अरू स्थान नखोजिनुका पछाडि ठूलो आर्थिक स्वार्थ यसमा जोडिएको छ भन्ने आशंका बलशाली हुँदैछ ।

खासमा विमानस्थललाई रौतहटतर्फ छुवाउने जुन प्रयास भइरहेको छ त्यसले पनि प्रश्नको घेरालाई फराकिलो पार्दै गएको छ । स्वयं वातावरणीय मूल्यांकन प्रतिवेदनको विस्तृत अध्ययनबाट पनि यी आशंका गर्न सकिने भनेका छन् अध्येताहरूले ।

मधेशको पर्यावरणीय सन्तुलनमा ठूलो योगदान दिइरहेको चुरे र त्यहाँ रहेको प्राकृतिक वन मासिंदै गएको छ । फार्म फरेष्ट्री अनुसन्धाता प्रदीपमणि दीक्षितको भनाइमा, चुरे पर्वत शृंखलाकोे सतह खण्ड चिरेर मदन भण्डारी राजमार्ग बनाइनु नै चुरेमाथिको मानवीय दबाब बढ्दै जानु हो ।

यसमा पनि तुलनात्मक रूपमा हेर्‍यो भने देशका बाँकी सडकहरू दशकौंदेखि निर्माण अलपत्र अवस्थामा छन् तर चुरेमा शीघ्र सडक निर्माण चलिरहेको छ । यो अवस्था बोध गरेका कतिपय पर्यावरण सम्बद्ध कार्यकर्ता स्वयं चुरे पहाड दोहन, जंगल दोहन र चुरेमा बस्ती विस्तारका लागि यसरी शीघ्र काम भइरहेको बताउँछन् ।

डा. विजय सिंह चुरे सम्पूर्ण तराईको लाइफलाइन हो, चुरे नै तराईको पानीको स्रोत हो भन्छन् । चुरे र निजगढको वनबीच सम्यक् सम्बन्ध स्थापित छ । निजगढको वनले चुरेको लागि पर्यावरणीय दायित्व पूरा गर्छ भने चुरेले निजगढको वनलाई प्राकृतिक सहयोग पुर्‍याउँछ ।

काखमा सुतेर आमाको दूध चुस्दा संस्कृतका श्लोक र सांस्कृतिक कहानी सुनेका राजनीतिक नेताहरू महाकालेश्वरमा गेरुबस्त्र पहिरिएको फोटो मात्र प्रदर्शन गर्छन् कि, त्यसका शाश्वत चिन्तन र ज्ञान सम्प्रदाय अवलम्बन पनि गर्छन् ? महाकालेश्वरसँग वैचारिक सामीप्यको भृगु चिन्तनधाराको तलको श्लोक हेरौं ।

वायूनां शोधकाः वृक्षाः रोगाणामपहारकाः
तस्माद् रोपण मेतेषां रक्षणं च हितावहम्

अर्थात्, रूखले वायु शुद्ध पार्छन्, रोग भगाउनमा सहयोग गर्छन् । यसकारण, वृक्ष रोप्नु र यसको रक्षा गर्नु सदा हितकारी हुन्छ ।

दश कूप समा वापी, दशवापी समोहद्रः
दशहृद समः पुत्रो, दशपुत्रो समो द्रुमः

अर्थात्, दश कुवा खने एक पोखरी बनाए सरह पुण्य मिल्छ, दश पोखरी खनाए एक तलाउ बनाए सरह पुण्य हुन्छ, दश तलाउ बनाए एक पुत्र प्राप्ति बराबर यश मिल्छ र एक रूख हुर्काए दश पुत्र बराबर पुण्य मिल्छ । सन्तान हुने नेताहरूका लागि यी श्लोक सोचनीय हुनुपर्ने हो ।

तथ्य तथ्यांकमा निजगढ

सांसारिक तापमान वृद्धिको निरन्तरता, खडेरी र भल-बाढीको प्रकोप, पानीको अभाव बोध गर्ने हो भने पर्यटक होइन सन् २०५० उता पानी खान नपाएर मरेका मानव र पशुहरूको लाशको तस्वीर खिच्न फोटोग्राफरहरू मात्रै पो नेपाल आउने हुन् कि ?

वातावरणीय मूल्यांकन प्रतिवेदनमा दिइएको तल उल्लेखित तथ्यहरूले निजगढ विमानस्थलको समग्र पक्ष, लगानी वातावरण र जंगलको अवस्था बारे बताउँछन् । निजगढमा जंगल छैन भन्नेहरूका लागि सरकारले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको अंश नै सटिक जवाफ हुनेछ । तीन चरणमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने सरकारी योजना छ ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाका लागि गोविन्द साहले गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार, विमानस्थलले प्रयोग गर्ने ८ हजार ४५ हेक्टर जमिनमध्ये ७ हजार ५८२ हेक्टरमा अहिले जंगल छ । यस वनमा साना-ठूला गरेर २४ लाख ५० हजार ८२७ वटा रूख छन् । सबै रूखहरूबाट ३ करोड ६९ लाख क्युफिट काठ र ३९ हजार ६२ ट्रक दाउरा उत्पादन हुने अनुमान छ । काठ तथा दाउरा पैदावर समेत हिसाब गर्दा ६९ अर्ब २ करोड रुपैयाँ बराबरीको काठजन्य वस्तुको मूल्य अनुमान गरिएको छ ।

वातावरणीय प्रभाव प्रतिवेदनले निजगढको १ रूख वा बिरुवा बराबर २५ बिरुवा रोप्न सिफारिस गरेको छ । तर, वातावरणीय प्रभाव प्रतिवेदनले प्राकृतिक वन र मानवनिर्मित वनबीचको टड्कारो भिन्नता उल्लेख गरेको छैन । मानव निर्मित वन प्राकृतिक वन जसरी जैविक विविधतायुक्त हुँदैन । पर्यावरणीय चक्र सन्तुलनका लागि जैविक विविधतायुक्त वन आवश्यक हुन्छ ।

विमानस्थल परियोजनाका लागि काटिने रूखहरूको क्षतिपूर्ति वापत वृक्षरोपण गर्नुपर्ने शर्त वातावरणीय मूल्यांकन प्रतिवेदनको रहेको छ । सो अनुसार बिरुवा लगाउनका लागि ३६ हजार २९४ हेक्टर जमिन चाहिन्छ जसमा ६ करोड १२ लाख ७० हजार बिरुवा लगाउनुपर्नेछ । यसका लागि सरकारले ३६ हजार हेक्टर जमिन उपलब्ध गराउनुपर्नेछ । जुन जमिन उपलब्ध गराउन लगभग असंभव नै छ । यसका लागि १ खर्ब ३९ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान छ ।

सांसारिक प्रवृत्तिबाट हेर्दा प्रति हवाई यात्रु विमानस्थलले प्राप्त गर्ने शुल्क अमेरिकी डलर ७.४४ अर्थात् नेरु ९६७.२० रहेको छ । तर, नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रति यात्रु शुल्क ३ हजार शुल्क तोकिएको छ । यसलाई महँगो शुल्क भन्छन् पर्यटन व्यवसायीहरू ।

पोखरा र लुम्बिनी विमानस्थल जसरी नै महँगो ब्याजमा ऋण लिएर निजगढ विमानस्थल बनाउने हो भने ९ खर्ब १० अर्बको वाषिर्क व्याज कति हुने हो ? ३ प्रतिशत ब्याज हो भने वर्षको २८ अर्ब त ब्याजमै जाने हुन्छ । श्रीलंकाले ब्याज तिर्न नसकेर हम्बनटोटा पोर्ट नै साहुलाई बुझाएको छ ।

आजको हवाई शुल्क अनुसार ब्याज तिर्ने २८ अर्ब कमाउन मात्र पनि वर्षको ९३ लाख यात्रुले निजगढ विमानस्थल प्रयोग गर्नुपर्ने हुन्छ । विमानस्थलको संचालन खर्च, सुरक्षा आदिको लगानी कति हुन आउला, त्यसको अनुमानित प्रतिवेदन शायद तयार गरिएकै छैन ।

पोखरामा अवस्थित फूलबारी रिसोर्टले काठमाडौंका धनाढ्य परिवार अमात्य समूहलाई टाट पल्टाइदियो । निजगढ विमानस्थल पनि देशलाई टाट पल्टाउने एक कारक बन्ने त होइन ? एकातिर विमानस्थलको निर्माणले पर्यावरणीय क्षति पुग्छ भने अर्कातिर विमानस्थलले अपेक्षित आम्दानी दिन नसके देशको अर्थतन्त्र असन्तुलित हुन जान्छ ।

आज निजगढ, निजगढ भन्ने कति नेताहरू त त्यसबेलासम्म जीवित नरहलान् । जीवितमध्ये कतिपय युरोप, अमेरिका पलायन भइसकेका हुनेछन् । ती जो यहीं बसेका हुनेछन् तिनको राजनीतिक हैसियत शायद खोसिएको हुनेछ तर निजगढको प्राकृतिक स्वरुप पुनर्स्थापना गर्न सकिंदैन ।

जहाँसम्म पर्यटन प्रवर्द्धनको कुरा छ, पर्यटकहरू विमानस्थल हेर्न आउने होइनन् । पर्यटकहरू नेपालको भौगोलिक बनोट, हिमाल, नदी, संस्कृति र यहाँको इतिहास, परम्परा र सभ्यताबाट लोभिएका हुन् ।

जलवायु परिवर्तनका कारण हिमाल कालापहाडमा रूपान्तरण हुँदैछन्, नदीहरूमा पानीको मात्रा घटिरहेको छ, जंगल र जंगली जनावरहरू लोप हुँदै गएका छन् । यहाँको मौलिक सभ्यता र संस्कृतिमाथि राज्य, सरकार र राजनीतिक दलहरूको हस्तक्षेप र उपेक्षा बढिरहेको छ । दीनदुःखी नेपाली भोकै-नांगै बसेर कति लामो समयसम्म यी अहं सभ्यता र संस्कृतिको जगेर्ना गर्न सक्छन् ?

सांसारिक तापमान वृद्धिको निरन्तरता, खडेरी र भल-बाढीको प्रकोप, पानीको अभाव बोध गर्ने हो भनेे पर्यटक होइन सन् २०५० उता पानी खान नपाएर मरेका मानव र पशुहरूको लाशको तस्वीर खिच्न फोटोग्राफरहरू मात्रै पो नेपाल आउने हुन् कि ?

राजनीतिक दलहरूमा संलग्न वा असंलग्न लामो उमेर भएका नेपाली युवाले सोच्नुपर्ने वास्तविकता हो यो । राजनीतिको आजको गति र सांसारिक तापमानमा आएको बढोत्तरी विचार गर्दा नेपाली पीडा, अभाव र महारोगहरूको डरलाग्दो सच्चाइ सामना गर्न तयार भएर बसे हुन्छ !

लेखकको बारेमा
श्रवण शर्मा

शर्मा राइट्स अफ नेचर अभियानमा संलग्न छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?