+
+
एक दिवसीय विश्वकप छनोट :

नेपालले पहिलो पटक आयरल्याण्डसँग ओडीआई खेल खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०८० असार १९ गते ६:३६

१९ असार, काठमाडौं । जिम्बाब्वेमा भइरहेको आईसीसी एक दिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफको लागि नेपालले आज मंगलबार टेष्ट राष्ट्र आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

विश्वकप छनोटबाट बाहिरिसकेको नेपालका लागि आयरल्याण्डविरुद्धको खेल यो प्रतियोगितामा अन्तिम हुनेछ ।

नेपाल र आयरल्यान्डबीचको खेल हरारेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुनेछ ।

अर्कोतर्फ नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा आयरल्याण्डसँग पहिलो पटक खेल्दैछ । टी-२० अन्तर्राष्ट्रियमा भने नेपालले आयरल्याण्डसँग ३ खेल खेलिसकेको छ र सबैमा पराजित भएको थियो ।

यस्तै नेपालले जारी विश्वकप छनोटमा तेस्रो पटक टेष्ट मान्यता टोलीसँग खेल्दैछ । जुन नेपालको लागि अर्को महत्वपूर्ण अवसर समेत हो ।

समूह ए मा रहेको नेपालले यसअघि घरेलु टोली जिम्बाब्वे र दुई पटकको विश्वकप विजेता वेष्ट इन्डिजसँग खेलिसकेको छ । दुवै टोलीसँग नेपाल पराजित भएको थियो ।

समूहमा पाँच टोलीमध्ये चौथो भएको नेपाल सुपर सिक्समा पुग्न असफल भएपछि सातौंदेखि दशौं स्थानसम्मको वरीयताका लागि प्लेअफ खेलेको थियो । जहाँ प्लेअफ सेमिफाइनलमा नेपालले समूह बी को पाँचौ स्थानमा रहेको यूएईलाई हराएर आयरल्याण्डसँग सातौं स्थानको प्लेअफका लागि भेट पक्का गरेको हो ।

नेपालले समूह चरणमा तीन खेल हार्दा अमेरिकालाई मात्र पराजित गरेको थियो । जिम्बाब्वेसँग पहिलो खेलमै ८ विकेटले पराजित भएको नेपालले अमेरिकालाई ६ विकेटले हराएर सुकर सिक्स आशा कायम राखेको थियो । तर वेष्ट इन्डिजसँग १०१ रन र नेदरल्याण्ड्ससँग ७ विकेटले हारेपछि नेपाल सुपर सिक्समा पुग्न सकेन ।

समूह बी मा खराब प्रदर्शन गर्दै शीर्ष तीनमा अटाउन असफल  भएपछि आयरल्याण्डको पनि विश्वकप खेल्ने सपना समाप्त भयो र प्लेअफमा धकेलियो । जहाँ आयरल्याण्डले अमेरकालाई हराएर सातौं स्थानको प्लेअफका लागि स्थान बनाएको हो ।

आयरल्याण्डले आफ्नो समूहमा यूएईलाई मात्र हराउन सकेको थियो भने ओमान, स्कटल्याण्ड र श्रीलंकासँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?