+
+

क्यान अध्यक्ष र कार्यवाहक सचिव किन गए जिम्बाव्वे ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार १९ गते १४:०६

१९ असार, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कार्यवाहक सचिव दुर्गाराज पाठक जिम्बाव्वे पुगेका छन् ।

जिम्बाव्वे क्रिकेटको निमन्त्रणामा चन्द र पाठक सोमबार जिम्बाव्वेको हरारे पुगेका हुन् ।

‘विश्वकप छनोटमा सहभागी १० मध्ये ९ टिमका अध्यक्षहरुलाई निमन्त्रणा गर्नुभएको थियो । त्यसमा जिम्बाव्वे, आयरल्याण्ड जस्ता देशहरुसँग अफिसियल कुराकानी पनि गरौँ भन्ने उदेश्यले आएका हौँ । हामीले यी राष्ट्रसँग खेल्ने मौका पाउन सक्यौं भने राम्रो हुन्छ,’ जिम्बाव्वेको हरारेमा रहेका चन्दले अनलाइखबरसँग भने, ‘जिम्बाव्वेसँग वार्षिक रुपमा शृंखला खेल्ने गरी छलफल गरौँ भन्ने हाम्रो उदेश्य हो ।’

नेपालले गत वर्ष जिम्बाव्वेको ए टोलीसँग काठमाडौंमा एकदिवसीय र टी-२० शृंखला खेलेको थियो । जसमा नेपालले आफूभन्दा बलिया र अनुभवी खेलाडीसँग खेल्न पाएका थिए ।

कार्यवाहक सचिव दुर्गाराज पाठकको जिम्बाव्वे भ्रमणलाई लिएर भने क्यानकै केही पदाधिकारीले प्रश्न उठाइरहेका छन् ।

तर पाठकले बुधबार जिम्बाव्वे क्रिकेट बोर्डका पदाधिकारीसँग छुट्टै बैठक रहेको बताए । ‘बुधबार जिम्बाव्वे क्रिकेटका अध्यक्षसँग हाम्रो बैठक छ । त्यसैका लागि म अध्यक्षज्युसँग आएको छु । निमन्त्रणा भएर नै आएको हो’, पाठकले हरारेबाट भने, ‘अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार हुनपर्छ भन्ने हाम्रो चाहना हो । तर कही साथीहरु यसको विरोध गरिरहनु भएको छ ।’

क्यानका केन्द्रीय सदस्य दाउद अन्सारीले पाठक अवैधानिक रुपमा सचिव बनाइएको र जिम्बाव्वे पठाएको भन्दै भ्रमणलाई लिएर आपत्ति जनाएका छन् ।

‘आईसीसीबाट अध्यक्षज्युलाई मात्र बोलाएको थियो । तर दैनिक २०० डलर भत्ता र अन्य सुविधा समेत लिएर कार्यवाहक सचिव पनि भ्रमणमा जाँदा क्यानमाथि आर्थिक भार पर्नेछ ।’

पाठकले भने बोर्डबाटै पारित गरेर नै आफू कार्यवाहक सचिव बनेको र भ्रमणबारे बोर्ड बैठकमा जानकारी गराएको बताए ।

‘आईसीसी, एसीसीदेखि राष्ट्रिय खेलकुद परिषदले मानेको छ, साधारण सभामा बहुमतबाट स्वीकृत भएको छ’, आफ्नो नियुक्तिबारे पाठकले स्पष्ट पारे ।

बुधबार जिम्बाव्वे क्रिकेटका अध्यक्ष ताभेङग्वा मुकुहलानीसँग बैठकपछि अध्यक्ष चन्द र सचिव पाठक उतैबाट दक्षिण अफ्रिका जानेछन् । जहाँ उनीहरुले आईसीसीको वार्षिक सम्मेलनमा भाग लिने छन् ।

सम्मेलनमा अन्तर्राष्ट्रिय क्रिकेट बोर्डहरुसँग साइडलाइन छलफल हुने जानकारी पाठकले दिए । नेपालाई फण्ड बढाउन, नेपालको क्रिकेट विकासलाई हेर्ने नजर राम्रो बनाउन आईसीसीसँग आग्रह गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?