+
+

३ महिनामा कुखुराको मासु किलोमै ६० रुपैयाँ महंगो

पछिल्लो ३ महिनामा बोइलर कुखुराको तयारी मासुको मूल्य किलोमा ६० रुपैयाँसम्मले बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० असार १९ गते १९:५६

१९ असार, काठमाडौं । पछिल्लो ३ महिनामा ब्रोइलर कुखुराको तयारी मासुको मूल्य किलोमा ६० रुपैयाँसम्मले बढेको छ । बजारमा अहिले कुखुराको तयारी मासुको मूल्य ४३० रुपैयाँदेखि ४६० रुपैयाँसम्म पुगेको छ । जबकि ४ वैशाखमा प्रतिकिलो कोल्ड स्टोर मूल्य २८० रुपैयाँ हुँदा तयारी मासुको मूल्य ३८० देखि ४०० रुपैयाँ प्रतिकिलो हाराहारी थियो ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले गत साता मात्रै ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपैयाँले बढाउने निर्णय गरेको थियो । जस अनुसार बजारमा ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य प्रतिकिलो ३१० रुपैयाँ पुगेको थियो ।

संघका सचिव देवकुमार गिरीकाअनुसार वैशाखयता मात्रै कुखुराको कोल्ड स्टोर मूल्य ६ पटक बढेको छ । त्यसअघि चैतमा दुई पटक र फागुनमा एक पटक कुखुराको कोल्ड स्टोर मूल्य बढेको थियो । ४ वैशाखमा २८० रुपैयाँ प्रतिकिलो रहेको कुखुराको कोल्डस्टोर मूल्य ११ वैशाखमा पुनः किलोमा १० रुपैयाँले बढेर २९० रुपैयाँ पुगेको थियो ।

१७ वैशाखमा ३०० रुपैयाँ पुगेको कुखुराको मूल्य १ जेठमा भने किलोमा १० रुपैयाँले घटेर २९० रुपैयाँ कायम भएको थियो । तर, ३ असारमा पुनः बढेर कुखुराको कोल्ड स्टोर मूल्य ३०० रुपैयाँ पुग्यो भने १३ असारमा किलोमा १० रुपैयाँले बढेर ३१० रुपैयाँ कायम भयो ।

संघको दाबी मान्ने हो भने बजारमा मागअनुसार उत्पादन नहुँदा यसवर्ष कम खपत हुने सिजनमा पनि मासुको मूल्य बढेको छ । गत वर्ष ह्याचरी उद्योगले व्यहोरेको क्षतिका कारण चल्ला उत्पादन घटेको र बजारमा कुखुराको अभाव भएको सचिव गिरीको दाबी छ । यसबाहेक यस वर्ष रोग नै नलागे पनि कुखुराको तौल घटेको र मर्नेदर उच्च भएको उनले दाबी गरे ।

‘काठमाडौंमा मासु उपलब्ध गराउन चल्ला उत्पादन गर्ने करिब एक सय ह्याचरी बन्द अवस्थामा छन्,’ गिरीले दाबी गरे, ‘अर्को कारण भनेको कम तौलको कुखुरा र कुखुराको उच्च मर्नेदर मूल्य बढ्नुको कारण हो ।’

काठमाडौंमा दैनिक करिब ५ लाख तयारी मासुका माग रहेको र त्यसै अनुसार मासुको उत्पादन हुन नसकेको संघको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?