+
+

सभापति भेलापछि गगन थापा : अब कुर्दैनौं, अघि बढ्यौं

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते २१:०२

कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका जिल्ला सभापतिहरूलाई काठमाडौं बोलाएर दुई दिन छलफल गरे । पार्टी सभापति शेरबहादुर देउवा अनुपस्थित रहे पनि भेला शुक्रबार सकिएको छ । उक्त भेलापछि महामन्त्री गगन थापासँग सभापति भेलामा केन्द्रित रहेर अनलाइनखबरले सोधेका प्रश्न :

तपाईं दुई महामन्त्री मिलेर डाकेको जिल्ला सभापति भेला कस्तो रह्यो ?

एकदमै सकारात्मक दिशातर्फ उन्मुख भयो । संगठनको तहमा अझै जागृत भएर काम गर्नका लागि योजनाहरू बनाएका छौं । दुई वटा एजेन्डामा हाम्रो छलफल अपेक्षा गरेभन्दा राम्रो रह्यो । पार्टीका जिल्ला सभापतिहरूले संगठनका विषयमा छलफल गर्न नपाइरहेको, कतिपय विषय केन्द्रीय समितिलाई जानकारी गराउनुपर्ने काम पनि हुन नसकिरहेका बेला यो भेलाले त्यो गतिरोध फुकायो । दोस्रो चाहिं पार्टीको विचार, संगठन परिचालन लगायत विषयमा केन्द्रले भन्नुपर्ने कुरा पनि भन्न नपाइरहेका, नसकिरहेका बेलामा यो भेला अवसर बन्यो ।

तर यत्रो अवसर बनेको भेलामा पार्टी सभापति देउवा किन आउनुभएन ?

हामीले उहाँलाई समयमै खबर गरेका थियौं । पार्टी कार्यालयमा भएको भेलाबारे सभापतिलाई थाहा नहुने कुरा हुँदै हुँदैन । संगठन परिचालन अनुगमन निर्देशनको जिम्मेवारी विधानले नै दिएको छ । हामीले त्यसै अन्तर्गत केही समयअघि स्थानीय सरकार प्रमुखसँग नीति, बजेट निर्माणका सन्दर्भमा छलफल तथा निर्देशन दिएका थियौं । अहिले जिल्ला सभापति भेला भयो । यसैगरी क्षेत्रीय सभापतिहरूसँग पनि बस्छौं । यसै गरी पार्टीलाई ऊर्जाशील बनाउने सन्दर्भमा अरू काम पनि फटाफट हुँदै जान्छन् ।

तपाईंहरूले ढिलो खबर गरेकाले सभापति देउवाको सेड्युल मिलेन रे हो !

पार्टी कार्यालयबाट हुने कार्यक्रमको बारेमा सभापतिलाई ढिलो जानकारी भन्ने कुरा हुनै सक्दैन । यसका बारेमा उपयुक्त समयमै जानकारी दिने कुरा भएको थियो । उहाँलाई थाहा थियो । अरू धेरै नभनौं ।

तीनै तहमा ठूलो दल भएर पनि कांग्रेसले अपेक्षा अनुसार भूमिका खेल्न नसकेको गुनासो सुनिन्छ । जिल्ला सभापतिहरूले पनि त्यस्तै राय दिनुभयो कि ? अरू के के कुराहरू राख्नुभयो ?

खासगरी भेलामा पार्टी संगठनबारे आन्तरिक छलफल थुप्रै भए । तर सभापतिहरूले राष्ट्रिय राजनीतिमा हामीले खेलिरहेको भूमिकाबारे खुलेर भाग लिनुभयो । कांग्रेस जस्तो पार्टीले चुनावअघिको गठबन्धन, भ्रष्टाचारका विषय, राष्ट्रियताका विषयमा खेलेको, खेल्नुपर्ने भूमिकाबारे उहाँहरूको तर्क सुनियो । कतिपय बेलामा कांग्रेसले सही अडान समयमै राख्न नसक्दा कठिनाइ भोग्नुपरेका गुनासा पनि आए ।

साथै उहाँहरूले भन्नुभयो, यसभन्दा अगाडि यस्ता कमजोरीहरूलाई हल्का लिएको भए पनि अब त्यस्तो गर्दा मूल्य चुकाउनुपर्ने हुनसक्छ । नेतृत्वलाई खबरदारी पनि हो त्यो । तीनै तहका सरकारहरू डेलिभरीमा चुक्नुहुन्न भन्ने आएको छ ।

यति धेरै कुराहरू उठेछन् । उसमाथि सभापति र महामन्त्री नमिलेको विभाजित सन्देश लिएर जिल्ला सभापति फर्केका त होइनन् नि ?

नेतृत्व तहका नेताहरूबीच भएका विभिन्न विचार उपयुक्त ठाउँमा नै छलफल भएर निदान होस् भन्ने उहाँहरूको अपेक्षा छ । पार्टीको महामन्त्रीहरूले संगठन परिचालन सन्दर्भमा जुन आफूले जिम्मेवारी प्राप्त गरे, त्यसलाई दायाँबायाँ नगरी पूरा गरुन् भन्ने चाहना छ । यो बैठक त्यस अन्तर्गतको कदम नै हो भन्ने साझा बुझाइ छ । यही गति र स्पिरिटमा महामन्त्रीहरूले काम बढाउन् भन्ने उहाँहरूको चाहना छ ।

तपाईंहरूले के जवाफ दिनुभयो ?

हामीले जुन बेला यो बैठक राख्यौं, त्यसबेला केन्द्रीय समिति बैठक डाकिएको थिएन । यसै बीचमा बैठक पनि डाकिएको छ । त्यसैले पार्टीलाई चलायमान बनाउने, मुद्दाहरूमा अग्रसर भएर नेतृत्व गर्ने कुरामा पनि हामीले थप अगुवाइ गर्छौं भनेर आश्वस्त गरायौं ।

यो बैठकका आधारमा अब केन्द्रीय समितिमा के इस्यु लगेर जानुहुन्छ ?

कांग्रेसमा लामो समयपछि केन्द्रीय समिति बस्दैछ । धेरै विषयमा छलफल गर्नुपर्नेछ । धेरै पुराना कुरामा अड्किने भन्दा आम कार्यकर्ताले पार्टीको दृष्टिकोण, ऊर्जा खोजेका छन् । फरवार्ड लुकिङ भएर पेश हुन्छौं ।

कतिपय कुराहरू प्रष्ट गर्नुपर्ने, र बाँकी अगाडि लैजानुपर्नेछ  । नेताहरू उपयुक्त समयमा सही ठाउँमा उभिनुहोस् भन्नेमा हाम्रो साथ समर्थन छ भन्ने जुन भावना सभापतिहरूले राख्नुभयो, हामी त्यसैलाई लिएर बैठकमा जान्छौं ।

यही बीचमा राष्ट्रियतासँग जोडिएको मुद्दामा प्रतिपक्षले प्रधानमन्त्रीको राजीनामा मागिरहेको छ । कांग्रेसले यसलाई कसरी हेरेको छ ?

अहिलेको विषय जस्तै कतिपय संवेदनशील विषयमा राष्ट्रिय राजनीति तरंगित भइसक्दा पनि कांग्रेसको ठोस धारणा नआउने, नेताहरूको अलग अलग विचार आउने हुँदा तल अलमल भयो भन्ने छ । तलसम्म एउटै विचार सम्प्रेषण हुनुपर्‍यो । जस्तो कि एमसीसीमा कांग्रेसले निर्णय गरेपछि अलमल सकिएको थियो, अरू मुद्दामा पनि त्यस्तै हुनुपर्‍यो भन्ने साझा तर्क धेरैबाट आयो । राष्ट्रिय राजनीतिमा कांग्रेसले यसैगरी अग्रसरता लिंदै अघि बढोस् भन्ने छ, हामी त्यसमा यसैगरी अघि बढ्छौं ।

क्षेत्रीय सभापतिहरूको भेला कहिले डाक्नुहुन्छ ?

अबको केन्द्रीय समितिमा हामी दुई महामन्त्रीले एक वर्षभरिकै वार्षिक कार्ययोजना प्रस्ताव लैजान्छौं । क्षेत्रीय सभापति भेलाको तिथिमिति पनि त्यहीं प्रस्ताव गर्छौं । बैठकबाटै पारित गरेर अघि बढाउने प्रयास हुन्छ ।

अन्तिममा, तपाईंले केही समयअघि उकुसमुकुस पोख्दै फेसबुक स्टाटस लेख्नुभएको थियो । अब त अति नै भयो, असह्य भयो भन्ने किसिमको सन्देश त्यसमा थियो । अहिलेको  जिल्ला सभापति भेला डाक्ने अभियान त्यसै उकुसमुकुसको समाधान खोज्ने कोसिस हो कि फरक हो ?

अहिले हामीले जुन बेला डाक्यौं, महामन्त्रीको ठाउँबाट पार्टी सिंगो पार्टीलाई एकठाउँ लिएर हिंडाउने जिम्मेवारी पालना गरेका हौं, त्यो पालना गरिरहन्छौं ।

नेतृत्वभित्रै भिन्न मत र संघर्ष पनि बढिरहन्छन् । तर महामन्त्रीले नै गर्नुपर्ने काममा पनि हामीले सकेसम्म सहमति र सरसल्लाहबाटै टुंग्याऔं भनेर निकै कुरेका थियौं । जति कुरे पनि नतिजा नआउने देखेपछि हामी अब कुर्दैनौं । अघि बढ्यौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?