+
+

गगन थापाको प्रस्ताव : कांग्रेस–एमाले तर्साउनेलाई सधैंको लागि बन्द गरिदिऔं

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २ गते १५:१६

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँग निर्वाचन सम्बन्धी कानुन संशोधनको प्रस्ताव राखेका छन् ।

थापाले निर्वाचनमा कम सिट प्राप्त गर्ने तर ठूला दललाई तर्साउने शक्तिको अन्त्यका लागि संविधान वा राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्नुपर्ने विकल्प रहेको बताएका हुन् ।

संवाद यात्राको तेस्रो चरणमा आइतबार बाँकेको खजुरामा बोल्ने क्रममा थापाले कांग्रेस र एमाले मिलेको अवस्थामा कानुन संशोधन गर्न सकिने बताए । ‘सानोसानो पसल खोलेर धन्दा चलाउने अवस्था सधैंको लागि बन्द गरिदिऔं,’ थापाले भने, ‘१५ सिटे, २० सिटे, ३० सिटे पार्टीले कहिले कांग्रेस तर्साउने, कहिले एमाले तर्साउने गर्न थाले । यो खेललाई सधैंका लागि बन्द गर्ने कानुन बनाऔं ।’

एमालेसँगको संवाद निर्वाचन अघि गठबन्धन नगर्ने विषयमा हुनुपर्ने उनले बताए । निर्वाचन अगाडि गठबन्धन नगर्ने कांग्रेसले निर्णय गरेको जस्तै नेकपा एमालेलाई त्यस्तै निर्णय गराउन संवाद आवश्यक रहेको उनले बताए ।

‘त्यो कसरी पुर्‍याउन सकिन्छ ? निर्वाचन प्रणाली बदलेर सकिन्छ । सकिन्छ भने संविधान बदलौं । सकिन्न भने कानुन भए पनि बदलौं,’ थापाले भने । एमालेसँगको छलफल सरकार बनाउन केन्द्रित नहुने उनले बताए ।

२०८१ साल कांग्रेसको पुनर्जागरणको साल बनाऔं भन्ने पार्टीमा आफ्नो प्रस्ताव रहेको उनले सुनाए । कांग्रेसभित्रै सामर्थ्य र शक्ति रहेकाले त्यसलाई चिन्नुपर्ने उनले बताए ।

पार्टीलाई यो वर्ष शुद्ध र सुदृढ बनाउन सरकार बनाउनमा ध्यान दिन नहुने थापाले बताए । ‘२०८१ सालभर बालुवाटारतिर आँखा नलगाउने, सिंहदरबारतिर आँखा नलगाउने,’ थापाले भने, ‘कम्युनिस्ट पार्टी मिलेर सरकार बनाउनु भएको छ । चलाउन दिऔं । उहाँहरूले मजाले चलाउनुस् । हामीले फर्केर पनि नहेरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?