+
+
चीन शृङ्खला– १ :

उहान : त्रासदी होइन एक रोमाञ्चक यात्रा

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०८० असार २३ गते ९:१७

यो ०८० जेठ २२ गतेको कुरा हो,

झण्डै तीन सय मानिस बोकेर आकासिदै गरेको चाईना साउदेन एयरलाइन्सको चिलगाडीले बादलुसँग लुकामारी गरिरहँदा मेरो मन भने एउटा सुखद यात्राको रोमाञ्चमा गन्तव्य पहिल्याउँदै थियो ।

चिलगाडीले नेपालको सिमा नाघेर चीनको आकासलाई गोरेटो बनाउँदै निरन्तर हुँइकिरहँदा मैले सम्झनाको तख्तामा केही योजनाहरु कोचिरहेको थिएँ । गन्तव्य पुगेपछि ती योजनाहरु खोलेर कार्यान्वयनको चरणमा कसरी प्रवेश गर्न सकिएला ? मस्तिष्कले आफैलाई प्रश्न गरिरहेको थियो । जवाफमा सलबलिएका मेरा योजना कार्यान्वयनका पाईलाहरु बादल भित्र हराउँदै गर्दा चलमलाउने चिलगाडीको कम्पनले लर्खराउन समेत भ्याएका थिए ।

***

त्यसो त म यस अघि दुई पटक पुगिसकेको थिएँ, चीन । पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल र अग्रज पत्रकार किशोर श्रेष्ठको सिफारिसमा । तर चीन जाने र त्यहाँको चमत्कारी परिर्वतनलाई नजिकबाट नियाल्ने मेरो लालसा कायमै थियो । त्यसैले मैले नेपाल चीन हिमालयन फ्रेडशिप शोसाईटीका महासचिव रिनन पोखरेललाई सम्झाउदै थिएँ, ‘लु है उताबाट बोलाओट आउँदा मेरो नाम छुट्ला नी !’ उनी लगभग रेडिमेड जवाफ दिन्थे, ‘कोरोनाका कारण त्यस्तो अवसर आएकै छैन ।’

सायद जेठको पहिलो हप्ताताका हुनुपर्छ, एक बिहान रिननले फोन गरेर पासपोर्ट पठाईदिन भने । मैले पासपोर्ट पठाईदिएँ । हो यसरी मेसो मिल्यो तेस्रो पटक चीनको गन्तव्य पहिल्याउने ।

चिरञ्जीवी मास्के

पत्रकार गोकर्ण भण्डारी र आईटी इन्जिनियर किरण दहाल मेरा सहकर्मी थिएँ । हाम्रो चीन गन्तव्य थियो हुवे प्रान्तको राजधानी उहान । चीन जाने हल्ला हल्लाकै बीच-बीचमा धेरैले त्रासद भावमा भन्थे ‘उहान ?! कोरोनाको उद्गम थलो ! जोगिएर आउनु है, कोरोना बोकेर ल्याउनु होला ।’

मेरो मनको अन्तर-कुन्तरमा पनि उहानको कोरोना त्रास, रहलपहल छँदैथियो ।  कोरोनाको उद्गम थलो उहान भनेका छन्, विश्वभर हजारौं  मानिसको मृत्यु भयो त्यहि कोरोनाले । साच्चै उहान त भयङ्कर त्रासमा होला । एउटा सेमिनारको लागि उहान पुगेको म थोरै चिन्तामै थिएँ । मनले भन्दै थियो- खै कसरी पो २० दिनको चीन बसाई सुखद बनाउने !

नेपालबाट उडेको पहिलो रात चीनको छेन्डुमा बिताउनु पर्यो । त्यहि दिन अर्को विमानबाट उहान उड्ने निर्धारित कार्यक्रममा केही परिर्वतन भएर एकरात छेन्डुमा बस्ने कार्यतालिका बनेको थियो । छेन्डुको अन्तराष्ट्रिय विमानस्थलबाट एकरातको गन्तव्य होटलतर्फ लम्कदै गर्दा चीनको सफाई सभ्यताले मनलाई सुगन्धित र आनन्दित तुल्याई सकेको थियो ।

भोलिपल्ट साउदेनकै चिलगाडीबाट आन्तरिक उडान मार्फत उहानको आकाश चुम्दै गर्दा जमिनमा देखिएको विकास मोडलले कोरोना भयलाई विस्तारै छोप्दै लगिरहेको थियो । एयरपोर्ट उत्रिएर बाहिरिने क्रममा एकजना सानो गाठीको हँसिली युवती इमीले हामीलाई आत्मिय मुस्कान सहित स्वागत गरिन् । र ट्याक्सीमा राखेर चीनको हाम्रो मुख्य गन्तव्य युच्याङ डिस्ट्रीकको लुज्यास्यान स्ट्रीटमा रहेको सुईफिउ होटल पु¥याईन् । त्यहाँ उस्तै आत्मिय स्वागतमा तयार थिए माई फ्रेण्ड (ब्रायन) र डान । यी तीन जनाको मुस्कानसहितको आतिथ्यताले अघिल्लो दिनसम्मको कोरोना त्रास करिब-करिब अन्त्य नै भयो ।

उहान चामल, माछा र नदी तथा पोखरीहरुको लागि सिंगो चीनभर प्रसिद्ध छ । उहान रिर्सच इस्टिच्युट अफ पोष्ट एण्ड टेलिकमनिकेसनका प्रमुख थाउ चु योङ भन्दै थिए- ‘उहानले उत्पादन गरेको चामल र माछा आधा चीनलाई पुग्छ ।’ यहाँको विशाल याङ्जी नदीले उहानलाई तीन भागमा बिभाजन गरिदिएको छ । हान स्टेटमा रहेको चु नदी पनि पर्यटकलाई आकर्षित गर्न दिनरात तल्लिन देखिन्छ । उहानका बिभिन्न स्ट्रेटमा रहेका सुपरमार्केट, बजार र पर्यटकीय पार्कहरु सधैजसो आन्तरीक पर्यटकलेनै भरीभराउ देखिन्छ । यो सहर सफा, सुन्दर र सभ्य ढङ्गले आर्थिक लयलाई पछ्याउँदै चिनको राजधानि बेईजिङ, सङ्घाई, गोन्जाओ, छेन्डु जस्ता अन्य सहरहरुसँंग अनवरत दौडमा रहेको छ ।

कोरोना महामारीले विश्वभरनै हलचल मच्चाई रहेको बेला उहान समाचारको हेडलाईनमा थियो । हामीले घर-टोलको चौघेरामा कुँजिएर बसेको बेलै पढेका हौ–उहानका नागरिकलाई चिन सरकारले घरभित्रै थुनेर राखेको छ, बेला- बेलामा ब्रेड र केही खान्कीहरु सरकारका प्रतिनिधिले ढोकाको चेपबाट दिने गर्छन् । यो समाचार पढिरहदा हामीले उहानलाई मृत सहर कल्पना गरेका थियौ । ओ हो ! बरु हामी पो सुरक्षित रहेछौ, कमसेकम सीमित क्षेत्रमा खुल्लम खुल्ला हिँडडुल त गरिरहेका छौं । खानेकुरामा स्वतन्त्र त छौं । यो हाम्रो आत्मरती थियो । मलाई लाग्छ त्यहि आत्मरतीले धेरै नेपालीलाई जीवित राखिदियो त्यतिबेला ।

तर, त्यतिबेलाको आत्मरतीको प्रभाव अहिले भोगिरहेका छौं हामी । हाम्रो आर्थिक अवस्था निकै गम्भीर मोडमा पु¥याईदियो । कोरोनाबाट तङ्ग्रीएको तीन बर्ष लाग्दै गर्दा पनि हामी आर्थिक दुरावस्थाबाट भने अझै तङ्ग्रीन सकेका छैनौं । कोरोना कहरकै कारण धेरैको व्यवसाय चौपट भयो, घरबार विहिन बन्नुपर्ने अवस्था बन्यो, कतिले त आत्महत्यालाई आफ्नो अन्तिम विकल्प बनाए ।

हामीले मृत सहर कल्पना गरेको उहान भने अझ बढी उर्वर बनेको छ । उहानका चोक र बजारमा टहलिदा लाग्दैन यो सहरले कुनै बेला कोरोनाको भयङ्कर पीडा खेपेको थियो ।

चीनको विकास मोडल हामी नेपालमा बसेर कल्पनै गर्न सक्दैनौं । उहानले हरेक विकास मोडललाई मिहिन ढङ्गले कार्यान्वयन गरिरहेको छ । जमिन मुनिको मेट्रो रेल, सव–वे, सुपरमार्केट हाम्रो लागि कहालीलाग्दो छ । एउटा प्रवेशद्वारबाट भित्रिए पछि त्यहि ठाँउबाट निस्कने कुरा कमसेकम हाम्रो लागि कल्पना बाहिरकै लाग्यो । जता हेर्‍यो उस्तै मोडल ।

उहानमा कोरोना पछि इन्टरनेट प्रयोग कर्ताको संख्या दश प्रतिशतले बृद्धि भयो रे । उहानको मात्र हैन सिंगो चीको समाज हाईटेक प्रविधिमा गैसकेको छ । इन्टरनेट विना एकछाक खानेकुरा पनि असम्भव जस्तै बनेको छ उहान र सिंगो चीनमा । रेल चड्नुस, पार्कमा घुम्न जानुस, बजारमा सामान खरीद गर्न जानुस, ट्याक्सी चढ्नुस, रेष्टुरेन्टमा नास्ताको लागि जानुस सबैठाँउमा अनलाईन पेमेन्ट छ । कहि कतै हामीले कागजी नोट निकालेर दिदा चिनियान्हरु आश्चर्य मानिरहेका हुने ।

सेमिनारको खाली समय हामी कतै घुमेर बसमा फर्कदै थियौं । बाटोमा साना गाडीहरुको निक्कै चाप देखियो । ब्रायनले मुस्कुराउदै भने – ‘माफ गर्नुस्, यो ट्राफिक जामले तपाईंहरुलाई असुविधा भएको छ तर यो उहान सहरको आर्थिक विकासको उदाहरण हो ।’

‘किन ?’ मैले प्रश्न गरे । उनले ठट्यौली पारामा भने– ‘यहाँका सबै स्थानिय कार किन्न सक्ने हैसियतमा पुगेका छन् र यो जाम भएको छ । सबै जनता कारमा सयर गर्नुको अर्थ सबै सम्पन्न हुदैछन् ।’ उनको कुरा भलै ठट्यौले थियो तर सत्य थियो ।

सेमिनारको मुख्य व्यवस्थापक ब्रायन भन्दै थिए– ‘उहानमा कोरोना पछि आर्थिक बृद्धि थप चुलिएको छ ।’ मैले उनलाई सोधे–‘यो सबै कसरी सम्भव भयो ?’

उनले भने– ‘समय प्रतिको सजगता, सरकार र कम्युनिष्ट पार्टीको प्रतिवद्धता र स्थानियको तदारुकता नै उहानको विकासको मुल पक्ष हो । साच्चै यहाँका वासिन्दा इमान्दार छन्, लगनसिल छन्, कामप्रति सजग छन् । सँगसँगै खानेकुरा र घुम्ने कुरामा निक्कै सौखिन पनि छन् ।’

उहानका वासिन्दा कोरोनाको चोट सम्झन चाहँदैनन् । त्यो समय भुलेर उनीहरु नयाँ उत्साहका साथ पुरानै लयमा फर्कीसकेका छन् । कसले भन्छ उहान कुनै समय मृत्यु शैयामा पुगेको थियो भनेर । यहाँ मानिस आफ्नै गतिमा दौडिरहेका छन् । सबैलाई चटारो छ आफ्नो जिम्मेवारीको । पर्यटकीय स्थल खचाखच छ, रेष्टुरेन्ट छिर्न पालो पर्खनु पर्छ, सपिङ महलहरुमा थेगिनसक्नुको भीड देखिन्छ ।

कोरोनाले उहान सहरमा मानिस र मानसिकतामा निक्कै ठूलो क्षति पुग्यो फेरि पनि उहानले आफ्नो लय छोडेन, उहानवासिले आफ्नो लक्ष्य छोडेनन् । त्यसैले उहान चीनको सम्पन्न र शक्तिशालि सहरहरुमा दरिन पुग्यो । विकासको लागि नेतृत्वको तदारुकता र कार्यक्षमता तथा कानुनको सक्रियता आवश्यक हुन्छ । यो सबै कुरा चिनसंग छ, उहानसंग छ । त्यसैले छोटो समयमै दीर्घकालिन महत्वको काम हुन सकेको छ यहाँ । अनि अनावश्यक झटारोको चोटबाट प्रताडित उहानको चमत्कारी विकासमा सहकार्य तथा साँझेदारी गर्न सकेका छन् स्थानीयले ।

म भन्छु- उहानलाई गाली गर्ने मुलुकले अब झन यसको औचित्य पुष्टि गर्ने हैसियत नै राख्दैनन् । कुकुर भुक्दै छ, हात्ती लम्कदै छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?