+
+

एआईले पत्ता लगायो बुढ्यौली रोक्ने रसायन, अब छिटै बन्नेछ औषधि

एजेन्सी एजेन्सी
२०८० असार २४ गते १३:१९

सायद सबै मानिसलाई जीवनमा सधै तन्नेरी नै भैरहन मन लाग्दछ । बुढो हुने रहर कसलाई पनि होला र ? तर प्रकृतिको शास्वत नियम भनेकै जन्मिएपछि बच्चा, तन्नेरी, वृद्धावस्था हुँदै जीवनको अन्त्य हुनु हो ।

मानिसमा हुने बुढ्यौलीलाई कसरी रोक्न सकिन्छ वा बुढ्यौली लाग्ने क्रमलाई कसरी कम वा सुस्त बनाउन सकिन्छ भनेर वैज्ञानिकहरुले वर्षौंदेखि विभिन्न खाले अध्ययन अनुसन्धान गर्दै आएका छन् ।

समय समयमा यस्ता समाचार पनि आउने गर्दछन् कि वैज्ञानिकहरुले बुढ्यौली रोक्ने औषधि पत्ता लगाइसके । तर हालसम्म यो कुरा यथार्थमा परिणत हुन सकेको छैन ।

यसैबीच आधुनिक सूचना प्रविधि जगतको सर्वाधिक चर्चा तथा विवादमा रहेको आर्टिफिसियल इन्टेलिजेन्सले मानिसको बुढ्यौली कम गर्ने उपचार पत्ता लगाएको दाबी गरिएको छ ।

दाबी गरिएको छ कि अब छिटै नै बुढोपना कम गर्ने औषधि पाइनेछ किनकि मानिसालई तन्नेरी बनाइराख्ने सबैभन्दा शक्तिशाली कण फेला परेको छ । त्यो कण हो अणु ।

एउटा आर्टिफिसियल इन्टेलिजेन्सले उक्त मोलिक्यूल अर्थात् अणु पत्ता लगाएको हो ।

वास्तवमा कुनै पनि समस्याको उपचार गर्ने औषधि पत्ता लगाउनु निकै कठिन काम हो । यसमा धेरै लगानी, मेहेनत र समय लाग्दछ । तर एआई अर्थात् मेसिन लर्निंगका माध्यमबाट यसको सरलीकरण हुन सक्दछ ।

युनिभर्सिटी अफ एडिनबर्ग अन्तरगतको इनिस्टच्यूट अफ जेनेटिक्स एण्ड मोलिक्यूलर मेडिसिनका शोधकर्ता वेनेसा मेर बारेटोका अनुसार उनीहरुले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर यस्ता तिनवटा शक्तिशाली अणु पत्ता लगाएका छन् । ती अणुहरुलाई सेनोलाइटिक ड्रग्स बनाउनमा प्रयोग गर्न सकिन्छ जुन औषधिले बुढ्यौली कम गर्न तथा बुढ्यौली उमेरमा हुने रोग तथा स्वास्थ्य समस्याहरुबाट पनि बचाउँदछ ।

सेनोलाइटिक औषधिले सेनेसेन्ट कोशिकाहरुलाई मार्दछ । यस्ता कोशिकाहरु शरीरमा ज्यूँदै हुने तर आफूजस्तै अन्य कोशिका उत्पादन गर्न नसक्ने खालका निकम्मा हुन्छन् । त्यसैले ती कोशिकाहरुलाई जोम्बी सेल्स पनि भनिन्छ । यी कोशिकाहरुको डिएनए क्षतिग्रस्त हुने र नयाँ कोशिकाहरु समेत बनाउन नसक्ने भएकाले शरीरका लागि हानिकारक तथा बोझजस्तै हुन्छन् ।

वास्तवमा छालाको कोशिका सूर्यको किरणबाट क्षतिग्रस्त हुन्छ । यसले रेप्लिकेसन गर्ने वा आफैंबाट अरु नयाँ कोशिकाहरु पैदा गर्ने प्रक्रियालाई रोकिदिन्छ । साथै त्यसको असर आसपासका अन्य कोशिकाहरुमा पनि पर्दछ जसले सबैको रेप्लिकेसन प्रक्रिया रोकिन्छ । जसका कारण छालामा चाउरी पर्न र लत्रिन सुरु गर्दछ, जुन बुढोपनाको लक्षण हो ।

सेनेसेन्ट कोशिकाहरु सधै फाइदाजनक पनि हुँदैनन् । यिनीहरुले यस्तो खालका प्रोटिन उत्सर्जन गर्दछन् कि त्यसले आसपासका अन्य कोशिकाहरुलाई असर पार्दछ । लामो समयसम्म यस्तै भइरहनाले त्यस्तो प्रोटिन पूरै शरीरमा फैलिन पुग्दछ । यसले कोशिकाहरुको रेप्लिकेसन रोकिदिन्छ जसका कारण हाम्रो छालाले सूर्यको किरण सहन सक्दैन ।

धेरै मात्रामा सेनेसेन्ट कोशिकाहरुले गर्दा हानी उच्च हुन्छ । सरीरमा यस्ता कोशिकाहरु धेरै हुँदा विभिन्न खालका स्वास्थ्य समस्या पनि देखिन्छन् । त्यसमा टाइप टू मधुमेह, पल्मोनरी फाइब्रोसिस, अस्टियोआर्थराइटिस, क्यान्सर आदि हुन् । शोधकर्ताहरुले प्रयोगशालाा मुसाका सेनसेन्ट कोशिकाहरुमा सेनोलाइटिक्सको प्रयोग गरेर हेरेका थिए । त्यसो गर्दा मुसालाई रोगबाट बचाउन सकिएको थियो ।

सेनोलाइटिक औषधिहरुले ती जम्बी कोशिकाहलाई नष्ट गरेर स्वस्थ तथा रेप्लिकेट गर्न सक्ने कोशिकाहरुलाई ठीकठाक अवस्थामा राख्दछ । अहिलेसम्म विश्वमा ८० प्रकारका सेनोलाइटिक औषधिको बारेमा खोज भैसकेको छ । तर केवल दुईवटा औषधिको मात्रै मानिसमा परीक्षण गरिएको छ । त्यसमा डासाटिनिब र क्वरसेटिन हुन् । यदि अन्य सेनोलाइटिक औषधिहरु खोज गरेर मानिसमा सफल परीक्षण गर्न सकिउमा त्यसले आगामी २० वर्षभित्रमा मानिसको बुढोपना कम गर्ने उपचार सम्भव हुने आशा शोधकर्ताहरुको छ । साथै यसबाट बुढ्यौलीमा हुने रोगहरुलाई पनि रोक्न सकिन्छ ।

शोधकर्ता भेनेसा मेर बारेटोका अनुसार उनीसँगै स्पेनको नेशनल रिसर्च काउन्सिलका वैज्ञानिकहरु मिलेर नयाँ सेनोलाइटिक रसायनको खोज गर्न चाहन्थे । यसका लागि उनीहरुले एउटा मेसिन लर्निंग मोडेल तयार पारे ताकि त्यसबाट सेनोलाइटिक औषधि पत्ता लगाउन सकियोस् । उनीहरुले उक्त एआईलाई सेनोलाइटिक र गैर सेनोालइटिक पदार्थहरु कुन कुन हुन् भनेर सोधे ।

त्यसपछि उक्त एआईले मोडेलले कूल ४३४० वटा अणुमध्ये २१ वा सर्वोत्तम अणुहरु बताइदियो । यसका लागि एआईलाई केवल ५ मिनेटमात्रै लाग्यो । यिनै २१ वटा अणुबाट नै भविष्यमा बुढोपना रोक्नका लागि सबैभन्दा प्रभावकारी र सफल औषधि बनाउन सकिनेछ ।

यदि एआई बिना कुनै प्रयोगशालामा जाँच गरेर ती अणुहरु पत्ता लगाउन थालिएको भए त्यसका लागि लामो समय लाग्न सक्दथ्यो र नतिजा सटिक नहुन पनि सक्दथ्यो । त्यसका लागि लाखौँ रुपैयाँ खर्च पनि हुन्थ्यो । तर एआईले निके छोटो समय र खर्चमा बुढ्यौली विरुद्धको रामवाण पत्ता लगाइदियो ।

तत् पश्चात् शोधकर्ताहरुले ती २१ वटा अणुका यौगिकहरुलाई स्वस्थ तथा सेनेसेन्ट कोशिकाहरुमा परीक्षण गरे । अनि त्यसबाट पनि ३ वटा सर्वोत्कृष्ट यौगिक निकाले । त्यसमा पेरिप्लेासिन, ओलियनडि्रन र जिंगेटिन रहेका छन् । यी तिनवटा यौगिकहरु बुढोपना ल्याउने सेनेसेन्ट कोशिकाहरुलाई पूर्ण रुपमा नष्ट गर्नमा सक्षम छन् भने यिनीहरुले स्वस्थ कोशिकाहरुलाई सुरक्षित राख्दछन् ।

वैज्ञानिकहरुले त्यसपछि पनि ती तीनवटा यौगिकमध्ये सबैभन्दा उत्कृष्ट कुन हो र कुनले शरीरमा सबैभन्दा प्रभावकारी रुपमा काम गर्दछ ? भन्ने कुरा पत्ता लगाउन चाहे । उक्त जाँचका क्रममा ओलियनड्रिन मानिसमा बुढोपना रोक्नका लागि सबैभन्दा प्रभावशाली यौगिक रहेको तथ्य पत्ता लागेको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?