+
+

कलाकारलाई तीज गीत निर्माणको चटारो

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते १७:२०

काठमाडौं । गायिका राधिका हमाल सोमबार अनामनगरको एक स्टुडियोमा तीज गीत रेकर्ड गराउँदै थिइन् । उनले पाँच गीत रेकर्ड गराइन् भने अन्य केही पनि तयारीमा छन् । विगतको एक सिजनमा ५३-५४ गीत रेकर्ड गराएकी उनी अहिले मुश्किलले हातको औंलामा गन्न सकिने संख्यामा गीत रेकर्ड गराउँदै छिन् ।

मोडल तथा कोरियोग्राफर शंकर बिसीलाई म्युजिक भिडियो छायांकनका लागि भ्याइनभ्याइ छ । उनले ६ गीतको भिडियो सुटिङ सके । यो सिजनमा ४० देखि ५० गीतमा काम गर्ने उनको योजना छ । अघिल्ला वर्षमा ९० हाराहारीका गीतमा काम गरेका बिसीले यसैसाता प्रकाश सपुतसँगको एक तीज गीतको म्युजिक भिडियोमा काम गरे ।

गायक खुमन अधिकारीले आठवटा तीज गीत रेकर्ड गराइसके । अन्य चार-पाँच गीत रेकर्डको लाइनअपमा छन् । अधिकारी चाहिं विगतकै हाराहारीमा आफूले काम गरिरहेको अनुभव सुनाउँछन् । नेपाली लोकसंगीतका यी तीन प्रतिनिधि पात्र हुन्, जो असोज १ गते हरितालिका तीजको लागि अहिल्यैदेखि गीत उत्पादनमा व्यस्त छन् ।

तीज नजिकिंदै गर्दा यीसहित लोकसंगीत क्षेत्रका अन्य कलाकारलाई गीत रेकर्ड गर्नेदेखि म्युजिक भिडियो छायांकन गर्नेसम्मको चटारो छ । पशुपति शर्मा, खुमन अधिकारी, खेम सेञ्चुरी तीजमा सबैभन्दा व्यस्त पुरुष कलाकार हुन् भने शान्तिश्रीलगायत गायिका पनि निकै व्यस्त छन् । अनलाइनखबरसँग कुरा गरेका तीनैजना कलाकारले यसपटकको तीजमा विगतको जस्तो चहलपहल र माहोल नभएको बताए ।

‘यतिबेला तीजको चटारो हुनुपर्ने हो । तर अहिले पनि सदावहार गीतकै रेकर्ड भइरहेको छ । एकातिर आर्थिक मन्दी छ भने अर्कोतिर नयाँ कलाकारले आफ्नै भ्वाइसमा रेकर्ड गराउन चाहनुहुन्छ । निर्माता आंफैले गाउन कोसिस गर्नुभएको छ,’ हमाल भन्छिन्, ‘पहिले जस्तो त छैन । कोरोनाको असर अहिले देखिएको जस्तो लागिरहेको छ ।’

मोडल शंकर बिसीलाई पनि यस्तै लाग्छ । विगतमा वैशाखदेखि नै तीज गीतको तयारी हुने गरेपछि अहिलेसम्म त्यस्तो माहोल नदेखिएको उनी बताउँछन् । ‘मान्छेसँग पैसा छैन । पहिलेजस्तो छैन । विगतमा वैशाखदेखि नै हुन्थ्यो । पहिले मैले नै ९० गीतमा काम गर्थें,’ उनी भन्छन्, ‘अहिले भिडियोको लागत पनि बढेको छ । अस्ति प्रकाश सपुतसँग भिडियो गर्दा चार लाख खर्च भयो ।’

सपुत र बिसीले सहकार्य गरेको ‘कमाउने हो, रमाउने हो’ बोलको तीज गीतको छायांकन सकिएको छ । लागत चार लाख लाग्दा सपुतलाई मात्र एक लाख पारिश्रमिक दिनुपरेको बिसीले बताए । ‘पहिले ६०-७० हजार रुपैयाँमै भिडियो बन्थे, अहिले लागत बढ्दा धेरै कठिन भएको छ । यतिबेला आर्थिक मन्दी पनि तीव्र छ,’ बिसीले भने ।

गायक खुमन अधिकारीलाई पनि पछिल्लो समयको तीजको चहलपहल नहुनुमा आर्थिक मन्दी मुख्य कारण लाग्छ । ‘गत साल कोरोना घटेपछि लयमा फर्किने संकेत थियो । यस वर्ष मन्दीले होला त्यो रमझम आइसकेको छैन । स्टुडियोमा काम गरेअनुसार रौनक तातेको छैन,’ तीजको माहोलबारे अधिकारीले भने ।

स्वदेशमा तीजको माहोल नजमे पनि कलाकारलाई यो छेकोमा विदेश दौडाहाको भ्याइनभ्याइ हुने देखिएको छ । गायिका राधिका हमाल तीज कार्यक्रमको लागि क्यानडा, अष्ट्रेलिया र दिल्ली जाने तयारीमा छिन् । ‘जता राम्रो हुन्छ, त्यता जाने तयारीमा छु,’ उनले भनिन् । मोडल शंकर बिसी पनि तीजमा केही अमेरिकी राज्यमा आयोजना हुने कार्यक्रममा व्यस्त हुनेछन् । गायक अधिकारी तीजमा दुबई, अष्ट्रेलिया, दिल्ली र टोकियो जाने तयारीमा छन् । नेपाली समुदायले विदेशमा आयोजना गर्ने कार्यक्रमका लागि लगभग सबैजसो कलाकारले कार्यक्रम तय गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?