+
+
टिप्पणी :

उर्लंदो मनसुनसँग जलवायु परिवर्तनको नाता

विगत केही वर्षदेखि नेपालमा मनसुनका बेला बाढीपहिरोको प्रकोप २०७२ सालको भूकम्पपछि केही बढी देखिएको छ। विज्ञहरूका अनुसार भूकम्पभन्दा पनि मानवीय गतिविधि र जलवायु परिवर्तनका असरले त्यस्तो हुन गएको हो।

 योगेन्द्र सुवेदी  योगेन्द्र सुवेदी
२०८० असार ३१ गते १४:२४

हरेक वर्ष झैं यो वर्षको मनसुनी वर्षाले पनि विपत्ति निम्त्याउँदैछ । नेपालको पूर्वी पहाडी जिल्लाहरूमा विकराल क्षति हुने क्रमबाट सुरु भएको यो वर्षाले निम्त्याएका विपदका घटनाहरू दिनप्रति दिन बढ्दै छन् । यसको साथै वर्षाको चरित्रमा पनि फेरबदल भएको छ । यस्तो फेरबदलले विपदका घटनाहरू प्रति वर्ष बढ्दै छन् । जलवायु परिवर्तन यसको कारण हुनसक्छ । त्यसबाहेक मानवीय कारण र अन्य कमजोरीहरू पनि प्रशस्तै छन् ।

देशमा विपद सम्बन्धी जति गोष्ठी, सेमिनार गरे पनि अनि जति राम्रा र चिल्ला प्रतिवेदनहरू प्रकाशन गरे पनि विपद पूर्वतयारीमा राज्यको ध्यान शून्यप्राय: छ । अझ कतिपय कार्यक्रमहरूमा सम्बन्धित सरकारी पदाधिकारीहरूको सहभागिता हुने गर्छ वा त्यस्ता कार्यक्रमहरू सरकारी निकायहरूले नै आयोजना गरिरहेका हुन्छन् । घटना घटिसकेपछि मन्त्री, प्रधानमन्त्रीहरू हेलिकप्टर लिएर ती क्षेत्रको भ्रमण गर्ने र फोस्रो आश्वासन दिने बाहेक केही हुँदैन ।

बरु स्थानीय प्रशासन, सेना र प्रहरी भने खोज र उद्धारमा निकै खटिएका पाइन्छन् । घटना घटिसकेपछि तात्तिने तर यस्ता घटनाहरू हुन नदिने तर्फको पूर्वतयारीको कामलाई महत्व नदिने हो भने हामीले यस्ता विपत्तिहरू सामना गरिनै रहनुपर्छ ।

एक अध्ययन अनुसार विपदपूर्व एक करोडको पूर्वतयारी गरे पुग्नेमा त्यही ठाउँमा विपद आइसकेपछि आठ करोडले पनि नपुग्ने हुन्छ। घटनामा मानिसको मृत्यु भएको कुराको त कसरी हिसाब निकाल्नु ? यस्ता विपदहरू किन बढी रहेछन् भनेर कुरा गरिरहँदा अलि सूक्ष्म अध्ययन गर्नुपर्ने हुन्छ, जुन जलवायु परिवर्तनसँग सम्बन्धित छ ।

मानवीय गतिविधिका कारण विश्वभरि तापक्रम बढ्दै गएको छ। त्यसले जलवायुमा परिवर्तन आएको र जलवायु परिवर्तनका कारण अनेक प्राकृतिक विपत्तिका घटना विश्वभरि नै देखिन थालेका छन्। विश्वको औसत तापक्रम वृद्धिभन्दा विभिन्‍न ऋतुहरूमा हुने तापक्रमको वृद्धि द्रुत गतिमा रहेको छ र यो प्रवृत्ति बढ्दो छ। यसको असर नेपाल जस्ता हिमाली र पर्वतीय मुलुकमा अझ बढी र छिटो देखापरेका छन् ।

योगेन्द्र सुवेदी

मनसुनको बदलिंदो परिस्थिति यसैको उपज हो । जस्तै मनसुन ढिलो आउने वा छिटै जाने वा वर्षातको समयमा पनि असन्तुलित पानी पर्ने जस्ता कुरा यसमा पर्दछन् । कुल हरितगृह ग्याँस उत्सर्जनमा नेपालको ०.०२७ प्रतिशत मात्र हिस्सा रहेतापनि जलवायु परिवर्तनबाट भने सबैभन्दा धेरै असर हामीले नै खप्नुपरेको छ ।

नेपालमा वार्षिक अधिकतम तापक्रमको वृद्धिदर औसतमा ०.०५६ डिग्री रहेको छ भने यो वृद्धि तराईभन्दा हिमाली क्षेत्रमा बढी देखिएको छ । साथै वर्षायाम र सुक्खायामबीचको विषमता पनि झनै बढेको छ ।

अहिलेको बढ्दो विपत्तिहरूको मूल चुरो पानी पर्ने चरित्रमा आएको फेरबदल हो । पानी पर्ने चरित्रको फेरबदल भन्नाले कहीं अतिवृष्टि कहीं अल्पवृष्टि र कहीं खडेरी पर्नु हो जसले विश्वमा जलवायु परिवर्तनको संकेत गर्दछ । जलवायु परिवर्तन विश्वव्यापी भए पनि यसको असर स्थानीय रूपमा हामी जस्ता विकासोन्मुख राष्ट्रहरूमा अझ बढी छ जसको ती विपत्तिहरूसँग जुध्ने शक्ति निकै कमजोर छ ।

अतिवृष्टिले बाढीपहिरो निम्त्याउँदछ भने पानी परिराख्ने ठाउँमा पानी नपर्नाले खडेरी पर्न जान्छ र कृषि उत्पादन घट्छ । फेरि एकैठाउँमा मुसलधारे वर्षा भएमा जमिनले पानी सोस्न पाउँदैन तर पानी ढलको रूपमा खेर जान्छ जुन कृषिको लागि प्रत्युत्पादक हुनजान्छ ।

यसबाट मनसुनी वर्षामा आधारित हाम्रो कृषि उत्पादन प्रणाली बदलिंदो मौसमी वर्षाकै कारण प्रभावित भई खाद्य असुरक्षा झन् बढी रहेछ । शहरी इलाकामा पनि त्यस्तो पानी पर्दा सोसेर जाने ठाउँ नहुँदा डुबान उत्पन्न हुने गरेको छ ।

बीबीसीले गरेको नेपालको सरकारी विवरणहरूको अध्ययन अनुसार विगत केही वर्षदेखि नेपालमा मनसुनका बेला बाढीपहिरोको प्रकोप २०७२ सालको भूकम्पपछि केही बढी देखिएको छ ।

विज्ञहरूका अनुसार भूकम्पभन्दा पनि मानवीय गतिविधि र जलवायु परिवर्तनका असरले त्यस्तो हुन गएको हो।

अहिले नेपालमा हुने विपदहरूमध्ये पहिरोको जोखिम मूल्याङ्कन गर्दा सरकारले गोरखा भूकम्पलाई मुख्य आधार बनाउने गरेको छ तर भूगर्भविद्हरूले भने जलवायु परिवर्तनको प्रभाव पनि उत्तिकै जिम्मेवार भएको बताउँछन्।

बीबीसीले नै नेपालमा विभिन्न वर्षामापन केन्द्रहरूको विवरणका आधारमा गराएको विभिन्न जिल्लाका अध्ययन अनुसार सन् १९९१ यताको तुलनात्मक विश्लेषणले पछिल्ला वर्षहरूमा पानी पर्ने प्रवृत्तिमा रोचक परिवर्तन देखाएको छ। जस अनुसार मनसुनका बेलामा हुने औसत वर्षा र बढी पानी पर्ने दिनहरूमा वृद्धि भएको देखिन्छ तर मनसुनका बेला झमझम लामो समय पानी पर्ने प्रवृत्तिमा कमी आइरहेको छ अर्थात् लगातार लामो समय पर्ने भन्दा पनि एकै पटक बढी पानी पर्ने प्रवृत्ति बढी भएको देखिएको छ।

अर्कोतर्फ हिउँदका दिनहरूमा पानी पर्ने दरमा निकै कमी आएको छ । त्यसैले नेपालमा पानी पर्ने यस्तो चरित्रले बाढीपहिरो गइरहने क्षेत्रमा यो क्रम अझ धेरै बढेको छ ।

नेपालमा ८० प्रतिशत वर्षा मनसुनबाट मात्र हुन्छ । यहाँ विगतमा गएका पहिरोहरूलाई मात्र विश्लेषण गर्ने हो भने पनि जुन धेरै जसो मनसुनको समयमा गएका छन्, त्यहाँ पहिरो जाने क्रम बढ्दो छ ।

नेपाल सरकारको विपद पोर्टलका अनुसार २०६८ सालमा ११९ पहिरोको घटना घटेका थिए भने २०७३ मा २१८, २०७७ मा ४७५ र २०७९ मा आइपुग्दा ५२६ घटना घटे । त्यस अनुसार नै कैयौं मानिसको मृत्यु भयो साथै ठूलो धनजनको क्षति पनि ।

यो वर्षको हेर्न बाँकी नै छ । मनसुनको समयमा सामान्य पहिरो जानु प्राकृतिक नै मानिए पनि पहिरोको बढ्दो दर ठूलो चिन्ताको विषय हो । विज्ञहरूको भनाइ अनुसार कतिपय कुरा मानव सृजित भए पनि हाल भइरहेको जलवायुको असर पनि यसको प्रमुख कारण हो ।

यस्ता बढ्दो प्राकृतिक विपदहरूको सामना गर्न जलवायु परिवर्तनको चपेटामा परेका नेपाल जस्ता देशहरूलाई जलवायु परिवर्तन वित्तीय सहयोग वा ऋण दिन विभिन्‍न ठूला तथा औद्योगिक राष्ट्रहरूले प्रतिबद्धता चाहिं जनाएका छन्। तर वित्त भित्र्याउने कुरामा हामी चुकेका छौं । जलवायु परिवर्तनको कारणले भएको हानिनोक्सानीको सही तथ्य प्रस्तुत गरेर प्रस्ताव प्रस्तुत गर्ने कुरामा हाम्रो क्षमता कमजोर छ ।

बाढीको पूर्वसूचना दिने प्रणालीको देशैभर विकास गर्न सकिन्छ । अहिले देशका केही सीमित ठाउँहरूमा जल तथा मौसम विज्ञान विभागले यस्तो सूचना प्रणाली स्थापना गरेको छ तर त्यो अपुग छ ।

अर्कोतर्फ उनीहरूले प्रतिबद्धता जनाए अनुरूप वित्तीय सहयोग नदिने, दिइहाले पनि अनेक शर्त स्वीकार्नुपर्ने कारणले गर्दा क्षमता कम भएका देशहरूले यस्तो सहयोग पाउनुमा कठिनाइ भोग्दै आएका छन्।

यस्तो वित्त प्राप्त गर्नु अधिकारको कुरा भएतापनि हामीहरूले तथ्यमा आधारित अध्ययन विश्लेषण प्रस्तुत गर्न नसक्दा एवं जोडदार रूपमा यस्तो मुद्दालाई उठाउन नसक्दा प्रतिबद्धता जनाउने देशहरूको निगाहमा मात्र केही प्राप्त गरे जस्तो मात्र देखिन्छ ।

बाहिरी सहयोग भित्र्याउने एउटा पक्ष भयो तर हामीले तत्काल के गर्न सक्छौं त्यसले झनै महत्व राख्दछ । यस मानेमा मुख्य दुइटा कुरा महत्वपूर्ण छन् ।

पहिरोको दृष्टिकोणले यदि कुनै ठाउँमा लगातार २ दिनभन्दा बढी ५० मिमिभन्दा धेरै पानी परिरह्यो भने त्यो ठाउँमा पहिरो जाने सम्भावना उच्च हुन्छ । कमजोर भू-धरातल छ भने त झनै सतर्कता अपनाइनुपर्ने हुन्छ ।

त्यसको लागि पहाडी क्षेत्रका प्रत्येक स्कुल र पालिकाहरूमा वर्षामापन यन्त्र राख्ने ताकि पानी लगातार परिरह्यो भने तुरुन्तै अनुगमन गर्न सकियोस् र त्यस्ता जोखिमयुक्त तहमा बसोबास गर्ने मानिसलाई समयमै जानकारी गराई सतर्कता अपनाउन सकिन्छ ।

स्कुलहरूमा वर्षा अनुगमन गर्ने जिम्मा विज्ञान शिक्षकलाई दिन सकिन्छ । कतिपय पालिकाहरूमा यस सम्बन्धी व्यवस्था छ नै तर दूर-दराजका पालिकाहरूमा न यन्त्र छ न प्राविधिक । यस्तो व्यवस्था नभएका पालिकाहरूले आफ्नै स्रोतले व्यवस्था गर्न सक्छन् । यसमा धेरै खर्च लाग्दैन तर यसले स्थानीय सरकारको जनताप्रति बढी उत्तरदायी बनाउँछ ।

अर्को, बाढीको पूर्वसूचना दिने प्रणालीको देशैभर विकास गर्न सकिन्छ । अहिले देशका केही सीमित ठाउँहरूमा जल तथा मौसम विज्ञान विभागले यस्तो सूचना प्रणाली स्थापना गरेको छ तर त्यो अपुग छ ।

यसलाई देशभर व्यापक बनाइनुपर्छ र सूचनाको पहुँच स्थानीय समुदायसम्म पुर्‍याउन जरुरी छ । यति मात्र गर्न सकियो भने पनि उर्लंदो मनसुन होस् या त्यसले ल्याउने बाढी वा जलवायुजन्य अन्य विपद, धेरै मानिसको ज्यान जोगाउन सकिन्छ ।

जलवायु परिवर्तन तथा विपद जोखिम न्यूनीकरण सम्बन्धी वरिष्ठ अनुसन्धानकर्ता लेखक सामाजिक तथा वातावरणीय परिवर्तन अध्ययन संस्था (आइसेट नेपाल) मा कार्यरत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?