+
+
ब्लग :

यसरी मनाइन्थ्यो-साउने सग्राँती

तिलक पौडेल तिलक पौडेल
२०८० साउन १ गते १७:०४

असारको धान रोपाइँ सिध्याएर साउने सग्राँती (सङ्क्रान्ति) मनाउन पाउनुले त्यस वर्ष समयमै वर्षा भएको भन्ने प्रमाणित हुन्थ्यो रे ! साउनको १ गते अर्थात् साउने सग्राँतीको साँझ बुवाले सङ्क्रान्तिको पूजा सकिएपछि दक्षिण दिशातिर फर्केर –लुतो लैजा, लुतो लैजा सतमकोटे, भिर्कोटे उईई … ! भनेर कराउँदै बल्दै गरेको अगुल्टोलाई घुइँक्याउनुहुन्थ्यो।

हामी रमाइलो मानेर ताली बजाउँथ्यौं, औंला मुखभित्र हालेर सुसेल्न जान्नेले सिट्ठी मार्थ्यौं। यही समयको आहारिसले हामीलाई सुसेल्न सिक्ने लोभ जगाउँथ्यो।

त्यसैगरी पूर्वतिर, उत्तरतिर र पश्चिमतिर फर्केर-लुतो लैजा, लुतो लैजा सतमगाम्ले, मडुवाली, बाँगे, बाङ्सिङ्, सेपते कार्कीनेटे, थुमाले उईई … ! भनेर अगुल्टा फाल्नुहुन्थ्यो। सबै वरिपरिका गाउँघरले पनि यही रीतले राँका फाल्ने हुँदा यो सग्राँतीलाई ‘राँके सग्राँती’ पनि भन्ने गरिन्थ्यो। सबैका आँगनमा एउटै समयमा आगो बालिने हुँदा बिजुली बत्तीको व्यवस्था नभएको तिनताका पनि जताकतै झलमल्ल उज्यालो भए झैं लाग्दथ्यो।

वास्तवमा असार मसान्तको भोलिपल्ट अथवा भनौँ साउनको पहिलो दिन हामी स्कुलबाट कतिखेर घर गई लुतो फाल्ने सामान जुटाउन पाउँला भन्ने कुराले मन व्याकुल गराउँथ्यो। धेरैजसो हामीहरू त्यसदिन अन्तिमतिरका पिरियड नपढी भागेरै हिंड्ने भएकाले सरहरूको निगरानी पनि सदाभन्दा कम्ती हुन्थ्यो।

कदाचित् सरले देखिहाले पनि ‘लुतो फाल्न भाग्यौ कि क्या हो ?’ भनेर हाँस्नुहुन्थ्यो। सायद कक्षा खाली भए आफूले पनि पढाउन नपर्ने हुँदा सरहरूलाई पनि रमाइलै हुँदोरहेछ क्यारे ! यो व्यहोरा, पछि आफैं शिक्षक हुँदा अनुभव बन्यो।

कुनै पनि तरिकाले स्कुलबाट घर आउँदै गर्दा बाटैमा सिहेको भीरबाट अम्लिसो जम्मा गर्थ्यौं भने बान्ना-पर्खालका चरहरूबाट मकरकाँजी, प्याउली जस्ता चीजहरू सम्हाल्दै आइन्थ्यो। त्यो दिन अर्नीरखाजा खाने भोक पनि लाग्दैनथ्यो।

घर पुगेर आफूले ल्याएका चीजहरू आमालाई देखाउँदा  ‘स्यावास् ! मेरो छोराले यति ल्याएछ, अब साथीहरूसँग जाऊ र अरू पनि खोजेर ल्याऊ है ! फेरि भीरमा चढ्दा लडौला नि ! होश गर्नु है ! भन्नुहुन्थ्यो। आमाको यो प्रसन्नाभिव्यक्तिले झोला पिंढीमै फालेर साथीहरूबीच को पहिला भेला हुने ? भन्ने होडै चल्दथ्यो।

लुतो नफालेसम्म निबुवा, आरु, मेवा जस्ता नयाँ फल खान हुँदैन भन्ने मान्यताले समाजलाई नै अनुशासनको एउटा सीमामा अनुबन्धित गराएको थियो।

हरिया मकै पनि खान हुने भएपछि बुवाले तीनवटा बुटा जरैसित उखेलेर ल्याई नागको थानमा ‘लौ सिमे-भूमे, जल-थल, आकाश-पातालका जाने-नजानेका देवी-देउताले चाख्नु होला, अब नयाँ अन्न हामीले पनि खान सुरु गर्यौं यसले सबैलाई स्वस्थ, हृष्टपुष्ट रहन मद्दत पुर्यावोस्, कसैलाई कुनै रोगव्याधि नलागोस् परमेश्वर …’ भन्दै नाग-नगिनी-भयँरका नाउँमा चढाएपछि मात्र सबैले खान पाइने प्रचलन थियो।

जेहोस्, साथीहरू जम्मा भई अरलीको काँढा लिन सपौंदेको पाखामा जान्थ्यौँ। नामै काँढा ! जतनसँग लिएर घर आउन पनि सकस हुन्थ्यो। अनि रातो बाटुल्पाते लिन खेतारका पछाडि बौलाहीका गरातिर जान्थ्यौं भने कुकुरढाइनु खोज्न खाल्टीको पाखामा जान्थ्यौं। तरुल, गिट्ठाका जस्ता पात हुने कुकुरढाइनु चिनेका साथीले सबैलाई एक-एक वटा पात टिपेर ल्याउँथे। लुतेझार, कुरिलो, कुरकुरे, काली निउरो, धोविनी फूल, पानी अमला खोज्न चौतारेको खरबारी, छहराको भीरतिर जान्थ्यौं।

फर्कंदा लेतेको खोल्सामा पानीसरोका पात जम्मा गरेर घर आउँथ्यौं। त्यतिबेलासम्ममा बुवाले तुलसीको मठ वरिपरिको रोल सफा गरी ठूलो केराको पात ल्याएर अघि मैले जम्मा पारेका चीजहरू त्यसैमा राखिसक्नुभएको हुन्थ्यो। काँढैसितका निबुवा, सुन्तला, हाँगैसितका आरु, सिउँडीका काँढा, बाँसका पात पनि बुवाले जम्मा पारी सक्नुभएको हुन्थ्यो।

मलाई मुहानेगराबाट दुइटा रोपो उखेलेर ल्याउन अह्राउँदा मनै फुरुङ्ग हुन्थ्यो। चङ्गा जस्तै हलुङ्गो तनमन ! एकैसासमा गएर ल्याउँथें पनि। त्यसपछि भने मलाई चाँडै साँझ परे हुन्थ्यो जस्तो लाग्दथ्यो। बुवाले चारदिशातिर फाल्ने अगुल्टा तयार पार्न दाउरा चिरेर आमालाई अँगेनामा सल्काउन लगाउँदा र घाम बाङ्सिङका डाँडामा पुग्दा मनै आल्हादित भएर आउँथ्यो।

बुवाले भैंसी दुहेर हातखुट्टा धोइसक्दा आमाले फूल-अक्षता तयार पारिसक्नुहुन्थ्यो। साँझ टलेर अँध्यारो भएपछि बुवाले बलिरहेका अगुल्टा लिएर अघि-अघि, पछि-पछि नाङ्लो ठटाउँदै आमा र हामीहरू कराउँदै र सुसेल्दै आँगनमा निस्कन्थ्यौं। बुवाले बलेका अगुल्टाहरू मिलाएर राखी सर्सिउँ पड्काउनुहुन्थ्यो।

वारिपारिका गाउँघरहरूमा पनि कराउँदै, हाहाहुहु गर्दै बलेका अगुल्टा बाहिर ल्याउँदा वरिपरिको वातावरण नै साह्रै रमाइलो हुन्थ्यो। बुवाले केराका पातमा दिउँसो जम्मा पारिएका चीजहरूमा फूल अक्षताले के-के गुन्गुनाउँदै पूजा गर्नुहुन्थ्यो।

पूजा सकिएपछि पहिलो अनुच्छेद बमोजिम अगुल्टासँगै लुतो फालिन्थ्यो। साना अगुल्टा फाल्न इजाजत माग्दा बुवाको स्वीकारोक्तिले मनै प्रफुल्ल हुन्थ्यो र जानी-नजानी ‘लुतो लैजा, लुतो लैजा …’ भन्दै कतैतिर मैले पनि अगुल्टा मिल्काउँथें।

यो क्रम सकिएपछि बुवाले टीका लगाई पाकेका आँपको प्रसाद र नैवेद्य दिनुहुँदै– ‘माघे सग्राँती भनेको चैत, वैशाख महिनाको गर्मीका कारणले कुनै पनि सरुवा रोगको महामारी फैलने सम्भावना हुने हुनाले ‘मरिन्छ कि ?’ भनेर मनाइन्छ भने साउने सग्राँती भनेको महामारी फैलिने सम्भावना भएका महिनाहरूमा पनि मरिएन भनेपछि ‘अब बाँचियो !’ भनेर मनाउने गरिन्छ।

बर्खामासको हिलोमा काम गर्दा कतै घाउ लागेको, त्यही फोहोरका कारण केटाकेटीहरूमा खटिरा निस्किएको सञ्चो होस् भनेर मनोवैज्ञानिक त्राण स्वरूप यो सग्राँतीलाई लुतो फाल्ने सग्राँतीका रूपमा पनि मनाइने गरिएको हो’ भनी हामीलाई बुझाइदिनु हुन्थ्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?