+
+

वीरगञ्ज महानगरले सुरू गर्‍यो नारायणी अस्पतालको सरसफाइ 

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १ गते १८:५९

१ साउन, काठमाडौं । वीरगञ्ज महानगरपालिकाले नारायणी अस्पतालको सरसफाइ गर्न सुरु गरेको छ ।

नारायणी अस्पतालमा विशेष गरेर मधेश प्रदेश अन्तर्गत पर्सा, बारा, रौतहट लगायतका जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् ।

बिरामीको अत्यधिक चाप हुने यस अस्पताल सरसफाइ अभावमा सेवाग्राही दुर्गन्धबाट सास्ती खेप्न बाध्य थिए । यही अवस्थालाई मध्यनजर राखेर वीरगञ्ज महानगरले सफाइकर्मी खटाएर अस्पतालको सरसफाइ सुरु गरेको हो ।

फोहोर गर्नेलाई कारबाहीको दायरामा ल्याएर वीरगञ्जलाई नै सफा बनाउँदै अघि बढेका महानगरका मेयर राजेशमान सिंहले अस्पताललाई पनि सफा राख्ने अभियान सुरु गरेका हुन् ।

गत शुक्रबार महानगर र अस्पताल प्रशासनबीच सम्झौता भएसँगै महानगरले सोमबारदेखि सरसफाइको काम सुरु गरेको हो ।

सरसफाइको पहिलो दिन महानगरका मेयर सिंह आफैं अस्पताल पुगेर सफाइ गरेका थिए । पहिलो चरणमा अहिले अस्पताल चिटिक्क पार्ने गरी सरसफाइको काम अघि बढाएको बताउँदै उनले अस्पताल परिसर सफा स्वच्छ राख्न सबै सेवाग्राहीलाई अपिल पनि गरेका छन् । सफाइ र व्यवस्थित पार्किङमा अटेर गर्नेलाई जरिवाना समेत गरिने मेयर सिंहले बताए ।

अस्पतालको आईसीयू सञ्चालनका लागि महानगरले यसअघि नै आवश्यक बजेटको व्यवस्थापन गरेको बताउँदै उनले प्रसूती गृहलाई व्यवस्थित बनाउने योजना रहेको बताए । मेयर सिंहले अस्पताल निरीक्षणका क्रममा जीर्ण रहेका संरचना महानगरले पुनः निर्माण गर्ने बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरञ्जन साहले वीरगञ्ज महानगरपालिकाले अस्पतालको सरसफाइमा औपचारिक रुपमै सघाएकोमा मेयर सिंहलाई धन्यवाद दिंदै अब सरसफाइमा लापरबाही गर्ने जो कोहीसँग पनि सम्झौता नगरिने बताए । अस्पतालको गुणस्तरीय सेवामा अगामी दिन पनि साथ र सहयोग पाउने आपेक्षा आफूले लिएको मेसु साहले बताए ।

अस्पताल सफाइका लागि महानगरले एक जना नाइकेको नेतृत्वमा ९ जना सरसफाइकर्मी परिचालन गरेको महानगरको सरसफाइ व्यवस्थापन शाखाका प्रमुख सर्फुदिन मियाँले जानकारी दिए।

महानगरले अस्पतालको बाहिरी क्षेत्रको सम्पूर्ण सरसफाइ थालेको हो । बाहिर क्षेत्रअन्तर्गत शौचालय, बरण्डा, भ¥याङ, अस्पताल परिसर तथा प्रशासनिक भवन सफाइ सुरु गरेको हो । अस्पतालको शल्यक्रिया कक्ष र वार्ड भित्रको सरसफाइ तथा फोहर व्यवस्थापनको जिम्मा भने अहिलेलाई अस्पताल आफैंले गर्नु पर्ने छ ।

सरसफाइ गर्नका लागि महानगरपालिकाले अस्पतालसँग कुनै शुल्क लिने छैन भने सरसफाइका लागि महानगरपालिकाबाट खटिने सरसफाइकर्मी र नारायणी अस्पतालमा कार्यरत सम्पूर्ण सरसफाइकर्मीको अनुगमन, नियन्त्रण र हाजिरी प्रमाणित वीरगञ्ज महानगरपालिकाले गर्ने गरी सम्झौता गरिएको छ ।

अस्पताल सफाइका लागि कर्मचारी खटाएर काम थालेको महानगरले अब देखि अस्पताल परिसरभित्र जथाभावी फोहोर नफाल्न पनि सबैलाई सचेत गराएको छ । जथाभावी फोहोर फाले दण्ड जरिबाना तथा कारबाही गर्ने गरी काम थालिएको सरसफाइ प्रमुख मियाँले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?