+
+

यति ठूलो मात्रामा सुन तस्करी किन र कसरी ?

१०० किलो सुन हङकङबाट तस्करी गरेर भारत पुर्‍याउँदा १४ करोड रुपैयाँ फाइदा हुन्छ ।

जनार्दन बराल जनार्दन बराल
२०८० साउन ५ गते २०:२१

५ साउन, काठमाडौं । संसारको जुन कुनामा किने पनि सुन महँगो नै हुन्छ । सबैभन्दा कम कर लाग्ने मुलुकहरुमा पनि १० ग्राम सुन किन्दा ८३ हजार नेपाली रुपैयाँ पर्छ । अर्थात्, एक किलोको ८३ लाख रुपैयाँबराबर ।

नेपालमा वैधानिक रुपमा बैंकहरुले दैनिक १० किलो सुन आयात गरेर बजारमा वितरण गर्न पाउँछन् । जबकि त्योभन्दा ठूलो परिमाणमा सुन अनौपचारिक माध्यमबाट भित्रने गरेको तथ्य भन्सार विभागले डेढ वर्षअघि नै पत्ता लगाएको थियो ।

२०७८ मंसिरतिर विदेशबाट नेपाल आउने नेपालीले भन्सार सुविधामा ल्याउन पाउने ५० ग्रामसम्म सुनमा प्रयोजन हेरेर भन्सारले कर उठाउन थालेको थियो । त्यसो गर्दा दैनिक २०–२२ किलो सुन आइरहेको तथ्य पत्ता लागेको थियो ।

भन्सारले प्रयोजन हेरी त्यस्तो सुनमा कर लगाउन थालेपछि ५४१ किलो सुन भन्सार तिरेर भित्रिएको थियो ।

खासगरी वैदेशिक रोजगारीबाट फर्कनेहरुलाई भरिया बनाएर पठाएको सुनमा भन्सार लाग्न थालेपछि तस्करहरुले आयातको अर्को उपाय खोजेको देखिन्छ । राजस्व अनुसन्धान विभागले बरामद गरेको सुनको परिमाण हेर्दा तस्करी भएर नेपालमा हजारौं किलो सुन तस्करी भित्रिरहेको अनुमान गर्न गाह्रो छैन ।

यति ठूलो परिमाणको सुन किन अवैधानिक रुपमा भित्रन्छ र त्यो सुन कहाँ जान्छ त ?

सुन तस्करी मूलतः दुई तरिकाले हुने गरेको छ ।

पहिलो– नियमित भन्सार छलेर चोरबाटोबाट सुन मुलुक भित्रन्छ ।

दोस्रो– अर्कै सामान आयात गरेको भनेर त्यसमा सुन लुकाएर पनि ल्याउने गरिएको छ ।

उदाहरणका लागि स्कुटरको ब्रेक सुमा लुकाएर ल्याएको १ सय किलो सुन । जुनसुकै शैलीमा तस्करी गर्दा पनि त्यो निकै जोखिमपूर्ण हुन्छ । यस्तो जोखिम छ भन्ने जान्दाजान्दै पनि तस्करहरु नियमित रुपमा किन तस्करीमा लाग्छन् त ?

यसको प्रमुख कारण हो, करका दर फरक पर्दा त्यसबाट हुने नाफा । यो कसरी हुन्छ भन्ने सन्दर्भमा एउटा उदाहरण हेरौं । अहिले राजस्व अनुसन्धान विभागले समातेको १ सय किलो सुन हङकङबाट ल्याइएको हो । हङकङमा प्रति १० ग्राम सुनको मूल्य ४ हजार ९ सय ५५ हङकङ डलर अर्थात् ८३ हजार ६ सय ९८ रुपैयाँ छ । नेपालमा त्यो सुन आयात गरेर ल्याउँदा १५ प्रतिशत भन्सार लाग्छ ।

त्यस्तै, चालू आर्थिक वर्षदेखि २ प्रतिशत विलाशिता शुल्क पनि थपिएको छ । त्यसरी वैधानिक रुपमा आएको प्रति १० ग्राम सुनको मूल्य नेपालमा ९६ हजार ७१० रुपैयाँ तोकिएको छ ।

भन्सार नतिरी तस्करी भएर नेपाल सुन भित्रँदा १० ग्राममै १३ हजार रुपैयाँ फरक पर्छ । भन्सार तिरेर आएको १ किलो सुनभन्दा तस्करी भएर आएको त्यति नै परिमाणको सुनको मूल्यमा १३ लाख रुपैयाँ फरक पर्छ । एक किलोमै १३ लाख रुपैयाँ फाइदा हुने भएपछि त्यसको लोभमा तस्करहरुले जोखिम मोलेर सुन तस्करी गर्छन् ।

नेपाल सुनचाँदी कला व्यवसायी संघका अध्यक्ष घनश्याम रिजाल नेपालमा जति परिमाणमा सुन तस्करी भएर भित्रिरहेको खुलेको छ, त्यति ठूलो परिमाणको सुन यहाँ खपत नै नहुने बताउँछन् ।

‘अहिले सुनका लागि अफ सिजन हो, नेपाल राष्ट्रबैंकले दिने दैनिक १५ किलोबराबरको सुन पनि नेपालमा अहिले खपत हुने गरेको छैन, त्यसो हुँदा तस्करी भएर आउने सुन यहाँ खपत हुने कुरै आउँदैन,’ उनले भने । नेपालमा यसरी आउने सुन पुनः तस्करी भएर तेस्रो मुलुकमा जाने अनुमान उनको छ ।

उनले संकेत गरेको तेस्रो मुलुक भारत हो । भारतमा संसारमा सबैभन्दा धेरै सुन खपत गर्ने मुलुकमध्ये एक हो । तर, भारतमा सुनमा कर नेपालमा भन्दा धेरै छ ।

भारतमा सुनमा भन्सार र जिएसटीसमेत गरेर १८ दशमलव ४५ प्रतिशत कर लाग्दै आएको छ । तर, त्यहाँ सुनको माग र कर दुवै उच्च भएकाले ठूलो परिमाणको सुन तस्करी भएर भित्रने क्यानडास्थित एक संस्था इम्प्याक्टले जनाएको छ ।

सो संस्थाले भारतमा हुने कुल खपतमध्ये २५ प्रतिशत सुन तस्करी भएर भित्रने प्रतिवेदन सार्वजनिक गरेको थियो । भारतमा सुनको वार्षिक माग ८ सयदेखि ९ सय मेट्रिक टन छ । त्यस हिसाबले २०० मेट्रिक टनभन्दा धेरै सुन भारतमा तस्करी भएर भित्रने गरेको गरेको देखिएको थियो ।

भारतमा प्रति १० ग्राम सुनको मूल्य ६० हजार ४४० भारु अर्थात् ९७ हजार ९१२ रुपैयाँ बराबर पर्छ । यस हिसाबले एक किलो सुनको मूल्य भारतमा ९७ लाख ९१ हजार रुपैयाँ पर्छ । यो हङकङको मूल्यको तुलनामा १४ लाख २१ हजार रुपैयाँ बढी हो । यसरी हङकङबाट एक किलो सुन किनेर भारत पुर्‍याउँदा १४ लाख २१ हजार रुपैयाँ बढी फाइदा हुन्छ । १ सय किलो सुन एक लटमा भारत पुर्‍याउन सकियो भने त्यसको नाफा नै १४ करोड २१ लाख रुपैयाँ बढी हुन्छ ।

यसमा तस्करको पैसा खर्च हुने भएको ढुवानी भाडा र पठाउने, नेपालमा बुझ्ने, भारतसम्म लैजाने मान्छेलाई दिने पैसा हो । हङकङबाट नेपालमा कार्गो ढुवानी गर्दा प्रतिकिलो ३ देखि साढे ३ अमेरिकी डलर पर्ने एक फ्रेट फर्वार्डस् कम्पनी सञ्चालकले बताए । त्यस हिसाबले १ सय ५५ किलो सामान नेपाल ल्याउँदा त्यसको कार्गो ढुवानी भाडा ६० देखि ७० हजार रुपैयाँ पर्न आउँछ ।

त्यस्तै, भन्सार तथा सुरक्षामा बस्ने मानिसहरुलाई आफ्नो लागि काम लगाउन केही रकम खर्च गर्नुपर्ने हुन्छ । तर, त्यो रकम भनेको केही लाख रुपैयाँ पर्छ । व्यवस्थापनमा अधिकतम् खर्च गर्दा पनि एक सय किलो सुन भारत पास गराउँदा १४ करोड रुपैयाँ लाभ हुने हिसाब देखिन्छ ।

तर, नेपालमा तीज, दशैं तिहार तथा विवाहको मौसममा भने सुनको माग उच्च भई तस्करीको सुन पनि यहीँ प्रयोग हुने एक सुनचाँदी व्यवसायीले बताए ।

‘नेपालमा सिजनका बेला सबैभन्दा उच्च कोटा दैनिक २५ किलोसम्म तोकिएको छ । त्यस्तो बेला दैनिक माग ४० किलोसम्म हुन्छ । माग धेरै हुने बेलामा पनि बजारमा सुनचाँदीको अभाव भएको देखिन्न । त्यस्तो किन हुन्छ भने त्यसबेला सुनचाँदी व्यवसायीले पनि तस्करी भएर आएको सुन लिने गरेका छन्,’ ती व्यवसायीले भने ।

एक सय भारुबराबर १ सय ६० नेपाली रुपैयाँ हुने स्थिर विनिमय दर छ । तर, केही वर्षअघिसम्म सीमावर्ती बजारहरुमा १ सय भारुको १ सय ६५ देखि ७० रुपैयाँसम्म कारोबार हुने गरेको थियो । भारुको तुलनामा नेरुको आपूर्ति धेरै हुँदा नेपाली रुपैयाँ अवमूल्यन भएको थियो ।

आजभोलि बजारहरुमा १ सय भारुको सटहीदर १ सय ५० देखि ५५ नेरु पुगेको छ । तस्करी गरिएको सुन बेचेको पैसा नेपालीमा सटही गर्दा नेरुको माग बढी त्यसरी अधिमूल्यन भएको वीरगञ्जका एक व्यवसायी बताउँछन् । ‘विगतमा तोकिएको विनिमयदरभन्दा नेपाली रुपैयाँ महँगो भएको मलाई याद छैन, पहिलोपटक यस्तो भएको छ,’ उनले भने ।

लेखकको बारेमा
जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?