+
+
अग्रपथ :

कस्तो हुनुपर्ने हो नेपाल राष्ट्रको पुनर्जागरण र प्रबोधन ?

नेपाल यस्तो लथालिङ्ग र भताभुङ्ग देश हुनुको पछाडि सतही र सामयिक कारण मात्र हैन, सांस्कृतिक तथा जैविक जिन निर्माण प्रक्रिया र ‘डीएनए-इफेक्ट’ को समेत भूमिका छ ।

डम्बर खतिवडा डम्बर खतिवडा
२०८० साउन ७ गते ११:१६

मलेसियाका पूर्व प्रधानमन्त्री डा. महाथिर मोहम्मदको सन् १९७० मा प्रकाशित किताबको नाम थियो-द मले डिलेमा । पेशाले चिकित्सक डा. महाथिरको यो किताब मलेसियामा ११ वर्षसम्म प्रतिबन्धित रहृयो । सन् १९८१ मा जब उनी प्रधानमन्त्री भए तब मात्र किताबमाथिको प्रतिबन्ध हट्यो ।

आजको ‘पि्रयतावाद’ सँग डा. महाथिरको राजनीतिक नियतिलाई तुलना गर्ने हो भने उनी कहिल्यै प्रधानमन्त्री नहुनुपर्ने हो । किनकि उनले मले जाति र राष्ट्रको चरित्रलाई मीठा शब्द र शैलीमा पि्रयतावादी वर्णन गरेका थिएनन् । बरु मलेहरूलाई ‘अल्छी, भाते र कामचोर जाति हुँदै गएको’ आरोप लगाएका थिए । मलेसियाको दुर्दशामा मलेहरूको यस्तो चरित्र जिम्मेवार रहेको उनको आरोप थियो ।

उनको अर्को ठहर थियो कि मलेहरू धार्मिक समुदाय हैनन् । मले एक जनजाति हो, इस्लाम उसले पछि ग्रहण गरेको धर्म मात्र हो । इस्लाम धर्मले मलेहरूको राष्ट्रियताको अभिव्यक्ति गर्दैन । मले राष्ट्रियताको आधार धर्म नभएर मले भाषा हो ।

तेस्रो महत्वपूर्ण कुरा- उनले भने कि मलेहरू अल्छी, भाते र कामचोर हुनुमा ‘धान संस्कृति’ को प्रभाव छ । मलेसियाली फाँटहरूमा असाध्यै धेरै धान फल्छ । धान यस्तो बाली हो, जसका लागि वर्षमा ३ महिना काम गर्‍यो भने वर्षभरि खान पुग्छ । वर्षमा ३ महिना काम गर्ने ९ महिना हल्लिएर खाने हुँदा मान्छे अल्छी हुन्छ । कामचोर हुन्छ । जब कुनै मानवीय आचरण ३ देखि ५ पुस्तासम्म दोहोरिन्छ, त्यो विस्तारै ‘सांस्कृतिक जिन’ हुुँदै ‘जैविक जिन’ मा रूपान्तरण हुन्छ र ‘डीएनए’ बन्न पुग्छ । यही कारणले मलेहरू गरिब भएका हुन् ।

अन्ततः उनले के निष्कर्ष निकाले भने मलेहरू जबसम्म धान बाली र कृषिमा निर्भर हुन्छन्, गरिब नै हुन्छन् । मलेसियालाई धनी बनाउने हो भने यसको औद्योगिकीकरण जरूरी छ । उद्योगले मलेहरूको श्रम संस्कृतिमा परिवर्तन ल्याउनेछ । अनि मात्र मलेहरू धनी हुनेछन् ।

पि्रयतावादी आँखाबाट हेर्दा डा. महाथिर मोहम्मदको विश्लेषण मलेहरूमाथि तीखो प्रहार र आरोप थियो । तर पनि मलेहरूले भविष्यमा उनैलाई प्रधानमन्त्री स्वीकार गरे । डा. मोहम्मदले एक हदसम्म मलेसियाको उद्धार पनि गरेकै हुन् । तर, मलेसिया आज पनि सिंगापुर, दक्षिणकोरिया जस्ता उच्च आय भएको देश बन्न सकेको छैन । मध्यम आयस्तरको पासो -मिडिल इनकम ट्रयाप) मा फसेको छ ।

जब हामी नेपालको कुरा गर्छौं, यस्ता अनेक उदाहरणको सान्दर्भिकता आफ्नो ठाउँमा छ तर आज पनि निरंकुशता, राणा-शाहहरूको पारिवारिक तथा वंश परम्परामा आधारित शासन, निर्दलीय पञ्चायत र त्यसबाट निर्मित ‘इतिहासको नकारात्मक सञ्चिति’ लाई दोष दिइरहेका छौं ।

अर्काथरी- संघीय लोकतान्त्रिक गणतन्त्र ‘विदेशी’ वा पश्चिमा परियोजना र प्रारूप भएको र यो आफ्नो मौलिक जराबाट टुटेको हुँदा अलगथलग भएको निष्कर्ष दिन्छन् । कम्युनिष्ट पार्टीहरूको माक्र्सवाद-लेनिनवाद-माओवाद, नेपाली कांग्रेसको उदार संसदीय लोकतन्त्र र प्रजातान्त्रिक समाजवाद दुवै पश्चिमा अब्राहमिक चिन्तन परम्पराबाट आएका विचार र प्रणाली भएको हुँदा वैदिक, सनातनी वा ब्रहृमणिक चिन्तनसँग नमिलेको कारणले परिणाममुखी नभएको तर्क गर्दछन् ।

‘सभ्यता-राज्य’ को दृष्टिकोणबाट अघि आएका यी दुई सोच बीचको टसल निष्ठापूर्ण र वस्तुसंगत भने लाग्दैन । यी दुवै सोचका आ-आफ्ना राजनीतिक पूर्वाग्रह छन् । नेपाल राष्ट्रको वास्तविक ‘सांस्कृतिक जिन’ को हो, यो कति पुस्तादेखि कसरी ‘जैविक जिन’ मा रूपान्तरित हुँदैछ र यसको ‘डीएनए-इफेक्ट’ के हो भनेर कसैले अहिलेसम्म भरपर्दो अध्ययन गरेको छैन ।

राजतन्त्र र कुनै धर्म सम्प्रदाय सापेक्ष राज्य प्राचीनताको हैन, मध्ययुगको विशेषता हो । जबकि पुनर्जागरणको अर्थ प्राचीनताको पवित्रता र आधुनिकताको वैज्ञानिकतालाई जोड्नु र मध्ययुगको बर्बरताबाट समाजलाई मुक्त गर्नु हो

डा. मोहम्मद जत्तिको अध्ययनशील र आँटी नेता पनि नेपालमा अहिलेसम्म जन्मिएको छैन भन्नु भन्दा लाग्ने दुःख मात्र हो तर हाम्रो व्यावहारिक यथार्थ यही हो ।

साम्यवाद र शास्त्रीय संसदीय उदार लोकतन्त्र जस्ता विचार नेपालमा असान्दर्भिक भइसकेको कुरा स्वयं ती विचारका दल, नेता र कार्यकर्ताहरूले नै स्वीकार गरिसकेको यथार्थ हो । कम्युनिष्ट धारको सबैभन्दा ठूलो घटक एमाले अध्यक्ष केपी शर्मा ओलीले केही वर्षअघि नै ‘आफूहरू वैचारिक तथा दार्शनिक कम्युनिष्ट नभएर राजनीतिक कम्युनिष्ट मात्रै भएको’ स्वीकार गरेका थिए ।

दोस्रो ठूलो घटक- माओवादी आन्दोलनका ‘वैचारिक आइडोलग’ हरू प्रचण्ड, बाबुराम र किरणको कुरा गर्दा पनि यो पुष्टि हुन्छ । प्रचण्ड स्वयं माओवाद हटाउन चाहन्छन् । एमालेसँग एकताको अवधिमा उनले माओवाद परित्याग गरिसकेकै हुन् । प्रचण्ड गुटका लागि माओवाद युद्धको विरासत भजाउने र भोट बटुुल्ने राजनीतिक ट्रेडमार्क हो, कुनै विचारधारा हैन । बाबुरामले त घोषित रूपमै माओवाद र साम्यवाद- दुवै परित्याग गरिसकेका छन् । कमरेड किरणको कुरै गर्न परेन । यद्यपि उनी शास्त्रीय साम्यवादको कुरा गर्छन् । तर त्यसको कुनै व्यावहारिक प्रारूप वा कार्यदिशा उनीसँग छैन ।

एमालेबाट निस्किएर माधव-झलनाथहरूले बनाएको एकीकृत समाजवादीको कुनै वैचारिक मौलिकता अहिलेसम्म देखिएको छैन ।

नेपाली कांग्रेसको यावत् चरित्र एक सामान्य संसदीय लोकतन्त्रवादी पार्टीका रूपमा सीमित छ । ‘नवउदारवाद’ र ‘प्रजातान्त्रिक समाजवाद’ बीचको अन्त्यहीन द्विविधाले उसलाई खर्लप्प निलेको छ । नयाँ विकास भएको वा हुँदै गरेको ‘पि्रयतावाद’ ले त विचारको महत्वलाई नै अस्वीकार गरिदिएको छ । ‘विचारको के काम छ ? भटाभट राम्रो काम गरे भइहाल्यो नि’ भन्ने सोचभित्र न कुनै पुनर्जागरण हुन्छ न प्रबोधन ? त्यो तथाकथित राम्रो काम के हो भन्ने मानक वा कसीबारे उनीहरू मौन छन् ।

अर्को दुर्भाग्य के छ भने- दक्षिणपन्थीहरू ‘पुनर्जागरण’ (रेनेसां) र प्रबोधन (इन्लाइटेन्मेन्ट) लाई रुढिवाद -कन्जर्भेटिज्म) को फाइदामा प्रयोग गर्न चाहन्छन् । जबकि पुनर्जागरण र प्रबोधनसँग रुढिवादको कुनै साइनो सम्बन्ध नै हुँदैन । पुनर्जागरण र प्रबोधन मूलतः रुढिवाद, धार्मिक कट्टरतावाद, निरंकुशता, वंशवाद र दैवीशक्तिको सिद्धान्त विरुद्धको वैचारिकी र आन्दोलन हो ।

अब्राहमिक भर्सेस ब्रहृमणिक, पूर्वीया भर्सेस पाश्चत्यको ‘द्वि-विभाजनीयता’ उत्तिकै अर्थहीन लाग्दछ । कमजोर नै भए पनि मौलिक जरोकिलो जस्ता केही पार्टी र वैचारिक आन्दोलन समाजमा देखिएका छन् जसले केही सामयिक र महत्वपूर्ण प्रश्नहरूलाई अनुत्तरित छोडेर पूर्वीया र ब्रहृमणिक परम्पराको श्रेष्ठताको दाबी गर्दछन् । यही नै नेपाल राष्ट्रको पुनर्जागरण र प्रबोधन हो भन्ने उनीहरूको दाबी हुन्छ, जो सत्य हैन ।

किनकि धर्म, दर्शन, नैतिक मूल्य प्रणाली र आध्यात्मिक पद्धति जस्ता विषयमा पूर्वीया श्रेष्ठताको दाबीले केही आधुनिक ज्ञान र पद्धतिलाई समेट्दैन । जस्तो कि, एक- प्लेटोले फिलोसोफर किङ अर्थात् दार्शनिक शासकको कुरा गरे, तर पूर्वमा व्यवहारमै दार्शनिक शासक जनक परम्परा थियो भन्ने दाबी सभ्यता- श्रेष्ठताका दृष्टिकोणले अस्वाभाविक हैन तर आधुनिक निर्वाचनयुुक्त लोकतन्त्र (इलेक्ट्रोरल डेमोक्रेसी) को कुनै दृष्टान्त पूर्वमा छैन । यो पश्चिमबाटै पुनर्जागरण र प्रबोधनपछि विकसित हुँदै आएको हो । के पूर्वीया हुने नाममा हामी व्यक्तिको नागरिक सार्वभौमसत्ता, मत तथा प्रत्यासाको अधिकार र आवधिक निर्वाचनको औचित्यलाई अस्वीकार गर्न सक्दछौं ? किमार्थ सक्दैनौं ।

दुई- हामीले आत्मिक, नैतिक तथा सैद्धान्तिक ज्ञान पद्धतिमा जतिसुकै श्रेष्ठताको दाबी गरौं, त्यही अनुरूपको प्रविधि विकास किन हुन सकेन वा सकेनौं भन्ने सोच्न पर्दैन ? ‘पुष्पक विमान’ को चर्चा गर्नु र ‘हवाई जहाज’ बनाउनु कुन बढी महत्वपूर्ण हो ? ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ कविता लेख्नु र स्वयं मान्छेलाई चन्द्रमामा उतारेर फिर्ता ल्याउनु कुन महत्वपूर्ण प्रविधि हो ? महाभारतमा संजयको मिथ र आधुनिक टेलिभिजन वा इन्टरनेट पद्धति कुनको सान्दर्भिकता बढी छ अहिले ?

तीन- यावत् ज्ञान परम्पराको खानी हुँदाहुँदै पनि यान्त्रिकी, औद्योगिकीकरण र व्यवस्थापन सिद्धान्तहरूको विकास किन युरोपेली पुनर्जागरण र प्रबोधनपछि मात्र हुन सक्यो ? के ती ज्ञान, शास्त्र र यान्त्रिकीको औचित्यलाई हामी अस्वीकार गर्न सक्दछौं ?

नेपाल राष्ट्र-निर्माण प्रक्रियामा पुनर्जागरण र प्रबोधन बाँकी कार्यभार हुन् । यो कार्यभार परम्परागत राजतन्त्रवादी, शास्त्रीय साम्यवादी तथा उदारवादी र प्रियतावादी शक्तिहरूबाट पूरा हुन संभव छैन

यी प्रश्नको चित्तबुझ्दो उत्तर विना पूर्वीया श्रेष्ठताको निरपेक्ष दाबी अर्थहीन हुन पुग्दछ । अर्थात् ज्ञान ज्ञान नै हो । त्यो पूर्व वा पश्चिमको हुँदैन । त्यो समग्र मानव जातिको हुन्छ । जब हामी ज्ञान र प्रविधिलाई पूर्व वा पश्चिमको भनेर ‘द्वि-विभाजन’ गर्न र आफ्नो श्रेष्ठताको दाबी गर्न थाल्दछौं, अर्को तरिकाले आफैं ‘अब्राहमिक’ भइसकेका हुन्छौं । किनकि ‘द्वि-विभाजनीयता’, सभ्यता-संघर्ष र श्रेष्ठताको अहंकार आफैंमा पूर्वीया विरासत हैन ।

प्रबोधनले सत्यको खोजी गर्दछ पूर्व वा पश्चिमको विभाजन हैन । सभ्यता-सामञ्जस्यताको कुरा गर्दछ, संघर्ष, जित, अहं तुष्टिको हैन ।

यहाँनेर रुढिवादसँग पुनर्जागरण र प्रबोधन किन फरक छन् भन्ने चर्चा गर्न आवश्यक हुन्छ । त्यो के भने-पुनर्जागरणको अर्थ आधुनिक युगमा मध्ययुगीन रुढी, अन्धता, निरंकुशता, वंशवाद र दैवीशक्तिको सिद्धान्त फिर्ता ल्याउन हैन । पुनर्जागरणको अर्थ अफगानिस्तानमा जस्तो तालिवान पुनस्र्थापित गर्नु हैन ।

राजतन्त्र र कुनै धर्म सम्प्रदाय सापेक्ष राज्य प्राचीनताको हैन, मध्ययुगको विशेषता हो । जबकि पुनर्जागरणको अर्थ प्राचीनताको पवित्रता र आधुनिकताको वैज्ञानिकतालाई जोड्नु र मध्ययुगको बर्बरताबाट समाजलाई मुक्त गर्नु हो ।

पश्चिमा गि्रको-रोमन सभ्यताबाट युरोपेली मध्ययुग, बर्बरता, रुढिवाद, निरंकुश राजतन्त्र, दैवीशक्तिको सिद्धान्त र तानाशाहीको जन्म भएको हैन । ‘डेमोक्रेसी’ -लोकतन्त्र) शब्दको पहिलो प्रयोग गि्रसेलीले गरेका थिए र ‘रिपब्लिक’ -गणतन्त्र) को पहिलो प्रयोग रोमनहरूले । पूर्वमा यसको समानान्तर विकास ‘मिथिला राज्य’ लाई मान्न सकिएला, जहाँ राज्यसभाबाट जनकको चुनाव हुने प्रचलन थियो भन्ने कथा छ । अन्यथा राजतन्त्रहरू संसारभरि नै वंशानुगत, धार्मिक कट्टरतामा आधारित, दैवीशक्तिको सिद्धान्तमा आधारित थिए ।

युरोपेली ‘डार्क एज’ गि्रको-रोमन सभ्यताको युगमा हैन, क्रिश्चियानिटीपछि सुरुवात भएको थियो । त्यो पनि क्रिश्चियानिटीको जन्म भएको करिब ४०० वर्षपछि । क्रिश्चियानिटीमा बढेको रुढिवाद, अन्धता, निरंकुशता, जडता लगायत फोहोरमैला सफा गर्ने क्रममा नै क्रमशः धर्मसुधार आन्दोलन, पुनर्जागरण र प्रबोधन भएका थिए ।

निःसन्देह नेपालको राष्ट्र-निर्माणको प्रक्रिया अद्यापि पूरा भएको छैन । यहाँको मूलधार सोच को हो ? अद्यपि अपरिभाषित वा अलपत्र जस्तो छ । तर, एउटा कुरा दाबी गरेर भन्न सकिन्छ, त्यो वैदिक-हिन्दु, बौद्ध, किरात र प्रकृतिपूजक सभ्यताहरू हुन् । जसमा जनपद वा गण समाजको प्रचलन थियो, निरंकुशताको हैन ।

आधुनिक ‘इलेक्ट्रोरल लोकतन्त्र’ विकास हुन प्रेस लगायतका छपाई प्रविधिको विकास अपरिहार्य थियो । लोकतन्त्र एक प्रक्रियाका रूपमा अनेक प्रविधि र व्यवस्थापन पद्धतिसँग गाँसिएको हुन्छ । पूर्वमा प्रविधिको विकास हुन नसक्नु पुनर्जागरण र प्रबोधन ढिलो हुनुको कारकतत्वमध्ये एक हो ।

त्यसो त हाम्रो प्रबोधन उहिल्यै बुद्ध र महाविरकै पालामा आइसकेको थियो भन्न नसकिने हैन । ‘इन्लाइटेन्मेन्ट’ का लागि बुद्धत्व जस्तो सहज, स्वाभाविक र श्रेष्ठ शब्द सायदै कुनै अरू भाषामा प्राप्त होला ।

तर, बौद्ध दर्शनको पवित्रता त्यसपछिका दिनमा के-कति कायम थियो वा थिएन भन्ने प्रश्न उत्तिकै जीवन्त रहन्छ । हिन्दुत्व त झन् अघिको कुरा भयो । वैदिकदेखि वेदान्तसम्म यसको उतारचढावका आफ्नै कथा-व्यथा छन् ।

नेपालमा बौद्ध दर्शन, हिन्दु षड्दर्शन र किरात मुन्धुम नै पुनर्जागरणका आधारशिला हुन् । साथै जनजातीय समुदायका भाषा, संस्कृति र परम्परागत ज्ञान यसका थप कोसेढुुंगा हुन् ।

यी सबै २ हजारदेखि ५ हजार वर्षअघिका सम्पदा हुन् । त्यसयता वा त्यसभित्रै समानान्तर मौलाएको रुढिवाद, अन्धता, जातिवाद, वणर्ाश्रम, राजतन्त्र, धार्मिक असहिष्णुता, निरंकुशता, बर्बरता, सामन्तशाही, भूस्वामी प्रथा र महिलाद्वेषी पितृसत्ता पुनर्जागरणका आधार वा विषयवस्तु हुँदै हैनन् ।

त्यसैगरी प्रबोधनको अर्थ आधुनिक वैज्ञानिकता र प्रविधिलाई विवेकसंगत ढंगले प्राचीनताको पवित्रतासँग तादाम्य बनाउने हो । ‘डार्क एज’ भनिने मध्ययुगीन बर्बरतालाई अस्वीकार गरेर मात्र प्राचीन पवित्रता र आधुनिक वैज्ञानिकताको भेट हुन सक्दछ ।

नेपाल राष्ट्र-निर्माण प्रक्रियामा पुनर्जागरण र प्रबोधन बाँकी कार्यभार हुन् । यो कार्यभार परम्परागत राजतन्त्रवादी, शास्त्रीय साम्यवादी तथा उदारवादी र प्रियतावादी शक्तिहरूबाट पूरा हुन संभव छैन ।

यो रिक्तताले सृजना गर्ने चुनौती नयाँ र वैकल्पिक शक्तिहरूले स्वीकार र आत्मसात् गर्नुपर्दछ । नेपाल राष्ट्रको पुनर्जागरण, प्रबोधन र समुचितीकरण वैकल्पिक राजनीतिको एक महत्वपूर्ण कार्यभार हो ।
नेपाल यस्तो लथालिङ्ग र भताभुङ्ग देश हुनुको पछाडि सतही र सामयिक कारण मात्र हैन, सांस्कृतिक तथा जैविक जिन निर्माण प्रक्रिया र ‘डीएनए-इफेक्ट’ को समेत भूमिका छ ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?