+
+

प्रचण्डको प्रतिवेदनमा अविश्वास : ‘नयाँ केही छैन, हुने पनि केही होइन’

दिपेश शाही दिपेश शाही
२०८० साउन १८ गते २०:२५

१८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेसँग केन्द्रीय समिति बैठक स्थलबाहिर सञ्चारकर्मीहरू जिज्ञासा राखिरहेका थिए, बैठकमा के भइरहेको छ ?

न्यौपानेले हाँस्दै जवाफ दिए, ‘नयाँ केही छैन, हुने पनि केही होइन ।’

बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीका तर्फबाट पेस गरेको मौखिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले बोलिरहेका छन् ।

बैठकमा अधिकांशले अध्यक्ष प्रचण्डलाई नै लक्षित गरेर प्रश्न उठाएका छन् । बिहीबारसम्म बोल्ने ७३ जनामध्ये सीमितले मात्रै नेतालाई तोकेरै आलोचना गरे । अधिकांशले अप्रत्यक्ष तरिकाले नेतृत्वको जीवन र कार्यशैलीमाथि प्रश्न गरे ।

यद्यपि, अहिले माओवादी केन्द्र नेतृत्वको सरकारले छानबिन गरिरहेको अवैध सुन तस्करी प्रकरणमा नाम जोडिएका पार्टीकै पदाधिकारीमाथि कसैले प्रश्न उठाएका छैनन् । तर प्रायः केन्द्रीय सदस्यले नेतृत्वकै कारण पार्टीभित्र अराजकता बढेको गुनासो गर्दै नेतृत्व हस्तान्तरणको आवाज समेत बैठक हलमा उठाएका छन् ।

औपचारिक बोल्न नमान्ने कैयौं केन्द्रीय सदस्यहरू प्रस्तुत प्रतिवेदनसँग नै विश्वस्त छैनन् । त्यसको औचित्य के हो भन्ने विषयमा हलमा प्रश्न गर्न समयका कारण नसकेका केही नेताहरू त बाहिर आएर स्पष्टिकरण दिइरहेका थिए ।

बैठक उद्घाटन सत्रमा अध्यक्ष प्रचण्डले पार्टीका सबै कमिटीहरू भद्दा भएको भन्दै सबैलाई ‘डाउन साइज’ गर्ने घोषणा गरेका थिए । पार्टीको केन्द्रीय समितिलाई त अझ दुई अंकमा झार्ने उनले बताएका थिए । तर त्यसको केहीबेरमा उनले विधान संशोधन गरेर २४ जना महिला केन्द्रीय सदस्य थप गरे ।

‘अध्यक्षले कमिटीको संख्या घटाउने भनेको आदि घण्टा पनि नबित्दै विधान संशोधन गरेरै केन्द्रीय सदस्यको संख्या थप्नुभयो, तर घटाउने कुरै गर्नुभएन,’ एक पदाधिकारीको प्रश्न थियो, ‘केन्द्रीय समिति बैठकबाटै विधान संशोधन गर्ने भए तीन महिनापछि विधान सम्मेलन गर्नुको औचित्य चाहिँ के ?’ उनको बुझाइमा फेरि पनि माओवादी नेतृत्व पार्टी रुपान्तरण भन्दा पनि बढी कार्यकर्ता अल्मल्याउन केन्द्रित छ ।

प्रतिवेदनमाथि टिप्पणी गर्ने केन्द्रीय सदस्य दिलिप प्रजापतिले अध्यक्षबाटै विधान मिच्ने काम भएको बताए । ‘पार्टीमा अराजकता हावी हुँदै गएको छ । विधान मिच्ने काम अध्यक्ष प्रचण्डबाटै भएको छ,’ उनले भने, ‘पार्टीमा दोहोरो भूमिकामा रहेकालाई हटाउनुपर्छ । तर यहाँ थप्ने काम मात्रै भएको छ ।’ उनले प्रचण्डले ल्याएको विधान संशोधनको प्रस्तावले पार्टीमा उत्साह ल्याउनुको सट्टा थप निराशा बढेको बताए ।

केन्द्रीय सदस्य दिलिप साहले केन्द्रीय समिति थप गर्ने प्रचण्डको प्रस्तावले कार्यकर्ताप्रति विश्वास छैन भन्ने देखिएको बताए । उनले जस्तै केन्द्रीय सदस्य डीपी ढकालले पनि विधान सम्मेलनमाथि प्रश्न गरे । ‘सबै काम केन्द्रीय समिति वा आवश्यक परेको खण्डमा विशेष महाविधेशनबाटै गर्न सकिन्छ । त्यसैले विधान सम्मेलन होइन, नीति अधिवेशन गर्नुपर्छ,’ उनी भन्छन्, ‘पार्टीले के गर्ने, के नगर्ने, कसरी गर्ने, कहाँ भनेर नीति अधिवेशन नै गर्नुपर्छ । त्यसले पार्टी रुपान्तरणका लागि हामीले भनेको समाजवादको वास्तविक स्वरूप कस्तो हुने भनेर समेत टुंगो लगाउनसक्छ ।’

उनी केही सय नेताहरू उपस्थित भएर गरिने विधान सम्मेलनले भन्दा तल्लोस्तरसम्म हजारौं प्रतिनिधिको उपस्थितिमा पार्टीले भन्ने गरेको समाजवादको खाका कस्तो हुने भनेरै छलफल गरी नीति तय गर्नुपर्ने बताउँछन् ।

प्रचण्डले पेश गरेको मौखिक प्रतिवेदनमा उनले पार्टीजस्तै नभएको भन्दै नेता कार्यकर्ता सच्चिनुपर्ने बताएका थिए । तर केन्द्रीय सदस्यहरुले प्रचण्डकै निजी सचिवालय लगायत सार्वजनिक पदमा पार्टीभित्र व्यक्तिवाद हाबी भएको भनेर आलोचना गरेका छन् ।

केन्द्रीय सदस्य विष्णुप्रसाद भट्टले प्रचण्ड लगायत नेताहरूले परिवार बाहेक अरूलाई विश्वास गर्न नसकेको भन्दै असन्तुष्टि जनाए । ‘नेतृत्वले परिवारबाहेक अरूलाई विश्वास गर्न सकेको छैन । कयौं नेता कार्यकर्तालाई जिम्मेवारी नै छैन’, उनले भने, ‘पार्टीका कयौं नेता साथीहरूमा कामचोर प्रवृत्ति हाबी भएको छ । त्यतातिर कसैको ध्यान नै गएको छैन ।’

प्रचण्डले बैठकमा तीन महिने ‘जनतासँग पार्टी’ अभियान सञ्चालन गर्ने प्रस्ताव गरेका छन् । तर धेरै केन्द्रीय नेताहरूले पार्टीभित्र मूल्यांकनको विधि नै नभएको भन्दै प्रस्तावित अभियान कार्यान्वयन हुनेमा समेत आशंका व्यक्त गरेका छन् ।

केन्द्रीय सदस्य भगत बडुवालले पार्टी तलबाट भन्दा पनि नेतृत्व तहबाट बिग्रेको भन्दै चुनावबाटै समाजवादमा पुग्न सम्भव नभएको बताए । ‘अध्यक्षको प्रतिवेदन हेर्दा त धरातलतिरै फर्किन खोजेजस्तो देखिन्छ । अहिले तीन महिने अभियान गर्ने भनिएको छ, तर यसअघि घोषणा गरिएको दुई महिने अभियानको समीक्षा भएको खै ?’ उनले प्रश्न गरे ।

केन्द्रीय सदस्य शिवराम यादवले प्रचण्डको चर्को आलोचना गरे  । ‘पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा सम्पर्क कार्यालय र बालुवाटार र खुमलटार केन्द्रीय कार्यालयजस्तो भएको छ’, उनले भने, ‘नेताहरूले छोराछोरीलाई पीए राख्नु हुँदैन । नेताका छोराछोरीलाई जयजयकार गर्नुपर्ने अवस्था दुःखद हो ।’

केन्द्रीय सदस्य शिवराम डाँगीले हेटौंडा महाधिवेशनमा भनिएको उत्पादन ब्रिगेडजस्तै अहिलेको अभियान पनि अघि बढ्नेमा आशंका व्यक्त गरे । उनले प्रचण्डको राजनीतिक शैलीमाथि प्रश्न गर्दै भने, ‘तपाईंसँग लाम लागेका धेरैले तपाईंलाई छोडे, यो कसको गल्ती हो ?’ उनले भने, ‘अमूर्त समाजवादको कुरा गरेर कहिँ पुगिँदैन । पार्टीमा विधि, विधान र प्रणाली नै छैन । नभएपछि यस्तै हुन्छ ।’

प्रतिवेदनको समर्थन भन्दै विरोध

बैठकमा बोल्ने केहीले मात्रै प्रचण्डले प्रस्ताव गरेको प्रतिवेदनमाथि ठाडो प्रश्न गरेका छन् भने अधिकांशले समर्थन गर्दै सच्याउनुपर्ने आवाज उठाएका छन् । बैठकमा मौखिक प्रस्ताव राखेका प्रचण्डले त्यसको लिखित स्वरूप बैठकको अन्तिमसम्म मात्रै तयार हुने बताएका छन् ।

बैठकको दोस्रो दिन बोल्ने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महराले प्रचण्डको प्रतिवेदनको समर्थन गर्ने जनाए । तर श्रेष्ठले सैद्धान्तिक विषय उठाए । ‘अध्यक्षको प्रतिवेदन सही छ । राष्ट्रिय कार्यभार पूरा गर्न पार्टी चाहिन्छ’, उनले भने, ‘त्यसका लागि हामीले पाँचवटा विषय सुशासन, समृद्धि, राष्ट्रिय स्वाधीनता, समाजवाद र क्रान्तिकारी तथा बलियो पार्टी निर्माण गर्नुपर्छ ।’ उनले त्यसका लागि पार्टीलाई वैचारिक रूपमा नै पुनर्गठन गर्नुपर्ने र यथास्थितिवादसँग सम्बन्ध विच्छेद गर्नुपर्ने बताए ।

महराले भने पार्टी बनाउने वा विघटन गर्ने अवस्थामा पुगेको बताए । ‘शहरमुखी भएर माओवादी बिग्रिएको हो । गाउँ फर्किन हामी तयार छौं वा छैनौं ? पार्टीको भविष्य त्यसैमा छ’, उनले भने, ‘हामी जनतामा नै गएर सच्चिनुपर्छ ।’

केन्द्रीय सदस्य हितबहादुर तामाङले पार्टी नेताहरूले चुनाव जित्न पैसा मात्रै सम्झिने र आदर्श बिर्सिने प्रवृत्ति बढिरहेको बताए । उनले त्यसको समीक्षा हुनुपर्ने भन्दै आफ्नो र अर्काको नभनी विगतको निर्मम समीक्षा गर्नुपर्ने बताए ।

केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले माओवादीमा विचार र व्यवहारबीच तालमेल नमिल्दा पार्टी ओरालो लागेको टिप्पणी गरे ।

‘कम्युनिष्टहरूको विचार व्यवहारमा अभिव्यक्त हुने र व्यवहार विचारलाई थप विकसित गर्ने साइकल हो । तर माओवादीमा यो साइकल भताभुङ्ग लथालिङ्ग छ’, न्यौपानेले प्रतिवेदनमाथि टिप्पणी गर्दै भने, ‘हाम्रा व्यवहारले विचार थप विकास हुने ठाउँ देखिन्छ । विचारअनुसारको व्यवहार नहुँदा धेरै अन्यौलता आएको छ । माओवाद जुन उद्देश्यका निम्तl बनेको सिद्धान्त हो त्यसको प्रयोग हामीले गलत ठाउँमा गरिरहेका छौँ ।’

माओवादलाई संसदीय राजनीतिमा प्रयोग गर्नु नै गलत भएको न्यौपानेको भनाइ छ । संसारमा माओवादी सिद्धान्त र संसदीय राजनीतिक प्रणाली एकै ठाउँमा कहिँ पनि नभएको बताए । उनले विश्वको कम्युनिष्ट आन्दोलन एउटा उचाइमा पुगेर ओरालो लागेपछि बीचमा रोकिएर पुनः उकालो लागेको र सफलता पाएको एउटा पनि उदाहरण नरहेको न्यौपानेले बताए । माओवादी पनि त्यस्तै ओ‌रालो यात्रामा रहेको न्यौपानेको भनाइ छ ।

सरकारका कामले जनतामा सामान्य रूपमा भए पनि आशा जगाएको तर अहिले राम्रा काम गरेर सरकारले चर्चा कमाए पनि सरकारको त्यो कामलाई सहयोग पुग्ने गरी अनुसन्धान हुनेमा भने आशंका रहेको न्यौपानेले बताए ।

केन्द्रीय सदस्य हरिराज अधिकारीले समाजवादी मोर्चामाथि नै प्रश्न गरे । साथै, पार्टीबाट पोलिटब्यूरो हटाउनुको कारणबारे नेतृत्वले जवाफ दिनुपर्ने धारणा राखे ।

केन्द्रीय सदस्य माधव सापकोटाले यथास्थितिमा पार्टी निर्माण हुन नसक्ने भन्दै गति दिनेगरी कार्यक्रम बनाइनुपर्ने र सबै कमिटीमा निर्वाचन गरिनुपर्ने धारणा राखे । एकै व्यक्ति पटकपटक मन्त्री भइराख्ने प्रवृत्तिको सापकोटाले विरोध गरे ।

भीम बुढा मगरले पार्टी, दलाल, ठेकेदार र बुर्जुवाको घेरामा रहेको बताउँदै शहीद परिवारको अवस्थाबारे पार्टीले ध्यान दिनुपर्नेमा जोड दिए । गगन पुरीले शिक्षा र स्वास्थ्य संस्थागत भ्रष्टाचार बढेको भन्दै सरकारमा भएकाले यसलाई नियन्त्रणमा ध्यान दिनुपर्ने बताए ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?