+
+
अफ्रिका जर्नल :

जोहान्सबर्गमा पुष्कर शाहसँग…

एक बजिसकेको छ । झुप्झुप् निद्रा लागिरहेको छ । कलम लड्खडाउँदै छ, ध्यान उता कोठको गफमै छ । भोलि राम्रो बनाउन आज सुत्नैपर्ने छ ।

सुशीलराज गिरी सुशीलराज गिरी
२०८० साउन २० गते १२:५४

लक्ष्य विनाको मानिस सायदै भेटिएला । सबैका आ–आफ्नो लक्ष्य हुन्छन् । भिन्नाभिन्नै मान्छेका भिन्नाभिन्नै सोच, भिन्नाभिन्नै लक्ष्य । यतिबेला म विश्व साइकलयात्री पुष्कर शाहलाई इङ्गित गर्दैछु । उनको लक्ष्य, उनको सोच । विश्व शान्तिको लागि सन्देश बोकेर उनी नेपाललाई विश्वभर चिनाउन केही पोकापोकीका साथ पाइडल पेल्दै साइकलमा गुडिरहेका छन् ।

उनी पोहोर साउथ अफ्रिका आएका थिए रे ! म साउथ अफ्रिका आएकै लगभग ४ महिना मात्र त भयो । विश्व विजेता बन्न उत्साहित÷लालायित शाह र उनको साइकलसँगै बसेर खिचेको नेपाली साथीभाइका फोटाहरू हेरेपछि मेरो मनमा उनलाई भेट्ने तीव्र इच्छा जागेको थियो ।

उनी जतिबेला साउथ अफ्रिका आएका थिए, मैले भेट्न नपाउँदा मलाई किन ढिलो आएछु भन्ने पनि लागेथ्यो कतिपटक । पुष्कर शाहलाई चिन्छु । हुन त उनलाई नचिन्ने कमै होलान् । अझ विश्वले नै चिन्न थालिसक्यो पुष्करलाई । मैले उनका अनुभवहरू पढे, सुनेको छु । उनको इन्टरभ्यु हेरे, सुनेको छु ।
उनलाई मैले जहाँसम्म अन्तरबोध गरेको छु, समग्रमा उनी परिपक्व, मिजासिला, रमाइला व्यक्ति लाग्छन् । साहसी, आँटिला त छँदैछन् ।

साहसिला मानिसको आफ्नै खाले दबाबमूलक खुबी हुँदोरहेछ, जसको प्रभावमा परें म । उनलाई भेट्न पाए हुन्थ्यो भन्ने मनमा कतै लागिरहेको थियो । संयोग र मेरो अहोभाग्य पनि । उनी फेरि साउथ अफ्रिका प्रवेशको खबरले मेरा कानहरूलाई पवित्र पार्न सफल भए । खुसी लाग्यो । निकै उत्साहित भएँ म, म मात्रै किन सबै नेपाली उस्तै खुसी र उत्साहित थिए ।

बिरानो ठाउँमा नेपालीपन छुट्टै हुँदोरहेछ, नेपाल छाडेपछि मात्र नेपाली, नेपालीपनको सच्चा अनुभूति गर्न पाएँ । नेपाल, नेपाली र नेपालीपनको मलाई औधी नियास्रो लाग्यो ।

यसमाथि आफ्नै राष्ट्रका अन्तर्राष्ट्रिय छवि भएका पुष्कर शाहलाई भेट्न पाउने भनेपछि विछट्टै खुसी थियो मनमा । मनमा उनलाई भेट्ने उमङ्ग, उस्तै तीव्रतर इच्छा । जिज्ञासा उनको संसार जितेको अनुभव सुन्ने ।

संसारलाई साइकलको भर पाइडलले बेरेर लछारपछार पार्दै जितेको, विश्वविजेता बनेको अनुभूति सुन्न मेरा कानहरू उहिल्यै लालायित थिए ।

म उनको शक्तिशाली विश्वविजेता अनुभूति प्रतीक्षा गरिरहेको थिएँ, जसलाई म अहिले शब्दमा व्यक्त गर्न सक्दिनँ । मेरो अनुहार हेरेर कसैले चित्रण गरिदेओस्, प्रतिबिम्ब र प्रति–छवि उतार गरिदेओस् मेरो आकाङ्क्षा र मनोभावनाको । कि म कति व्यग्र छु, दर्शनातुर छु ।

र, जो म पुष्कर शाहको मुखबाट सुन्न चाहन्छु । झमक्क रात परिसकेको छ । गोपालदाइको मोबाइलमा घण्टी बज्छ । ओहो । पुष्करदाइ ?

‘… ठिक छ, केप्टन पार्क आइपुग्नुभयो ?’

‘ल… ल दाइ, हामी आउँछौं चोकमै बस्दै गर्नुस् … ।’

गोपालदाइ, बैकुण्ठदाइ, हरिदाइ अनि म चार जना गयौं पुष्कर दाजुलाई लिन । पुष्करदाइ अनभिज्ञ छैनन्, कालेको स्वभावबाट । कालेहरूबाटै पटक–पटक लुटिइसकेका छन् उनी । हामी हतार–हतार गयौं दाइलाई लिन । दुब्लो पातलो म र हरिदाइ अघिअघि लाग्यौं दौड्दै ।

अरूलाई हामीजत्तिको कुद्न मुस्किल थियो । टाढैबाट हामीले साइकल देख्यौं । साइकल कमै देख्न पाइन्छ यहाँ । टाढैबाट विश्वस्त भयौं हामी । पुष्कर शाह नै हुन् ती, जो साइकल सहित उभिइरहेका छन् ।

‘नमस्कार दाजु ।’

‘नमस्कार !’

‘म सुशीलराज गिरी ।’

एकापसमा परिचय भो भेट्नासाथ । ‘म उज्यालोमै यहाँ आइपुग्ने मान्छे । जोहान्सबर्गबाट यहाँसम्म आइपुग्दा मात्र तीन पटक साइकल पञ्चर भयो’, साइकलसँग रिस पोख्दै हामीलाई व्यथा सुनाउँदै थिए । ‘त्यसमाथि यो कालेको ठाउँमा …’ उनी थप्दै थिए ।

उनकै शब्दमा ‘धेरै पटक लुटिएका’ उनी ‘लुटिनबाट डराउँदैनन् ।’ उनले थपे, ‘डर छ त केवल मर्नुदेखि । के भर लुट्ने क्रममा मार्ने पो हो कि’ अप्रत्यक्ष रूपमा गाली गर्दै थिए उनी लुटेराहरूलाई ।

उनले मस्को, कङ्गो अनि ठाउँ–ठाउँमा लुटिएका इतिवृत्तान्त सुनाए ।

‘अनि भाइ चाहिं पढ्नकै लागि कि, यतैबाट युरोप जाने सुरमा ?’ प्रसङ्ग बदल्दै जिज्ञासा गरे । झस्किए झैं गरी मुस्कुराउँदै आफ्नो कुरा रोकेर सोध्दै थिए उनी मलाई । ‘पढ्ने पनि, काम पनि गर्ने’ मैले छोटकरीमा जवाफ दिएँ ।

मैले उनलाई सुनें, साथै उनलाई पनि आफ्ना कुरा सुनाउन पाएँ । बडो ध्यान दिएर निकै चासोका साथ अरूको कुरा सुन्ने उनको बानीले थप प्रभावित पा¥यो मलाई । गफगाफ गर्दै हँसिमजाकका साथ हामी चारजना पुष्कर दाजुलाई लिएर आइपुग्यौं, हामी बस्ने घर जहाँ हामी ७ जना नेपाली बस्छौं । अस्तिसम्म म अर्को घर, अलि पर बस्थें । हिजो मात्र सरेको यो घरमा । घरधनी नेपाली नै हुन् । बस्ने पनि अहिलेसम्म नेपाली मात्रै छन् ।

‘दाज्यू नमस्कार’

‘ओहो दाइ । स्वागत छ है हाम्रो घरमा ।’

सबैबाट आ–आफ्नो पारामा ग्रिटिङ आदान–प्रदान । गोपाल दाइ, विजय, अमित दाइ, यिनीहरूलाई पुष्कर दाइले पहिले पनि भेट्नुभएको थियो । झोलाबाट अङ्गुर निकाल्दै शाह भन्दै थिए– नेपाली दाजुभाइलाई ल्याइदिएको कोसेली ।

बेलाबेलामा निस्कने पक्का गाउँले शब्द÷शैलीले उनको बोलीमा थप मिठास ल्याउँथ्यो ।

फ्रेस भईवरी सबै जना बैठक कोठामा भेला भयौं । हामीमध्ये कोही दाइको फोटो एल्बम हेर्दै थियौं, कोही विभिन्न देशका पत्रिकामा प्रकाशित दाइको न्यूज हेर्दै÷पढ्दै थियौं । सँगसँगै गफ पनि चल्दै थियो ।

खुसियालीमा सानो पार्टी अर्गनाइज गरेका थियौं । विभिन्न पोजमा फोटो खिचाउँदै, कोही बियरमा झुम्दै त कोही कोकको चुस्की लिंदै पार्टीमा मस्ती गरिरहेका थियौं । केहीबेरपछि खाना खायौं । त्यसैबेला दिपेनले मुक्तकको प्रस्ताव राख्यो । मैले सुनाउनै पर्ने भो !

साउथ अफ्रिका आएपछि हिजो मात्र मुक्तक लेखेको थिएँ दुई वटा । आजै पनि लेखेको छु छन त– एउटा सुनाउनै पर्ने भो ! मैले पनि मौका गुमाउन चाहिनँ । सुनाएँ ।

प्रेम प्रसङ्गको सेरोफेरो पारेर लेखेको मुक्तक सबैको मन जित्न सफल रह्यो । त्यसपछि अर्को मुक्तकको डिमाण्ड भो । ३ वटा लेखेको, ३ वटै सुनाएँ ।

मनमनै सोचें– ओहो लेख्न छोड्नुहुँदैन । खानापश्चात् पुनः गोलासन ग्रहण गरेर बस्यौं गफ गर्न । शाह दाइ घरी नर्वेको सौन्दर्यको वर्णन गर्दै थिए, घरी घानाको अविस्मरणीय घटना, घरी आफू किडन्याप भएको घटना सुनाउँदै थिए, त घरी भविष्यको योजना बनाउँदै । एकोहोरो सुनिरहुँ जस्तो लाग्ने उनका अनुभूतिहरू ।

भोलि सबै जना काममा जानुपर्छ र पनि सुत्न जाने सुर कसैको देखिंदैनथ्यो । बसिरहेका शाह दाइ जुरुक्क उठेर आफ्नो झोलाबाट एउटा पुस्तक निकाल्दै भन्छन्– साहित्यप्रेमी गिरी भाइलाई मेरो तर्फबाट प्रेमोपहार ।

खुसी लाग्यो मलाई । यसो हेरें, ‘एकादेशको एउटा मान्छेको कथा’ कविता सङ्ग्रह । उनकै कविता सङ्ग्रह । पुस्तकको नाम त मैले नेपालमै हुँदा सुनेको थिएँ । पढ्न पाएको थिइनँ । पुष्कर शाहकै हातबाट पाउनु रहेछ पुस्तक ।
‘फलानोचाहिं कविता पढ त । राम्रो छ’, शाह दाजु भन्दैथिए ।

‘सुशीललाई पढ्न लगाउनुपर्छ । गजब पढ्छ सुशील’, अरूहरू पनि उचाल्दै थिए । आग्रह गर्दैथिए– कविता पढ्न मलाई । पढेर सुनाएँ ।

शाह दाजुलाई मेरो मुक्तक भन्ने शैलीले नै प्रभावित पारिसकेको थियो । कविता पढ्दा पनि मज्जा मान्नुभयो । एकपछि अर्को गर्दै एक जना, दुई जना सबैको फर्माइसमा लगभग सङ्ग्रहको पूरै कविता नै पढेर सुनाएछु, मैले । ध्यान दिएर सुनिदिने मान्छे पाएपछि सुनाउनेलाई छुट्टै आनन्द ।

मैले अवसरको भरपुर सदुपयोग गरें । बीच–बीचमा राजनीतिक गफ हुन्थ्यो । देशको समस्या, देशको अवस्था । सबैको बोलीमा आफ्नो देशप्रतिको अटुट मायाभास हुन्थ्यो ।

गफ गर्दागर्दै १२ः३० बजिसकेको थियो । विजय, उदय, दिपेन आ–आफ्नो कोठामा सुत्न गइसकेका थिए । मैले यसो सोचें– भोलि काममा जानु छ ।

त्यसैले म सबैसँग बिदा मागेर गुडनाइट भन्दै बैठक कोठाबाट आफ्नो कोठा लागें । अहिले पनि गफ चलिरहेको छ, बैठक कोठामा । म यता आएर लेख्न थालें, लेख्दैछु ।

एक बजिसकेको छ । झुप्झुप् निद्रा लागिरहेको छ । कलम लड्खडाउँदै छ, ध्यान उता कोठको गफमै छ । भोलि राम्रो बनाउन आज सुत्नैपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?