+
+

सेयर निष्कासन रोकिँदा जलविद्युत् आयोजनाको निर्माण प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २४ गते १७:२९

२४ वैशाख, काठमाडौं । प्राथमिक सेयर निष्कासन (आईपीओ) तथा हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका २७ सहित ३० बढी जलविद्युत् आयोजनाको निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको छ ।

नेपाल धितोपत्र बोर्डमा रमेशकुमार हमाल अध्यक्ष हुँदादेखि नै रोकिएको सेयर निष्कासन प्रक्रिया नयाँ अध्यक्ष नियुक्त नहुँदा अहिलेसम्म ठप्प भएको हो । लामो समयसम्म आयोजनाले सेयर निष्कासन गर्न नपाउँदा निर्माणमै असर परेको प्रवर्द्धकले बताएका छन् ।

गत आर्थिक वर्षमा ४२ कम्पनीको आईपीओ जारी भएकोमा २९ वटा जलविद्युत् कम्पनी थिए । तर चालु आर्थिक वर्षमा भने एउटा (भदौ ५ गते भिजन लुम्बिनी ऊर्जा) कम्पनीबाहेक निष्कासन भएको छैन ।

अहिले एउटा सोलार सहित १८ वटा विद्युत उत्पादन कम्पनीले आइपीओ निष्कासनका लागि अनुमति माग गर्दै बोर्डमा निवेदन दिएका छन् । अरु ४/५ वटा कम्पनी आवेदनका लागि तयारी अवस्थामा छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले निष्कासनको अनुमति नपाउँदा अरु कम्पनीहरु पनि आवेदन दिन नसकेको बताए ।

त्यस्तै हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका ९ जलविद्युत् कम्पनीले पनि अनुमति पाएका छैनन् । ९ कम्पनीले हकप्रद निष्कासन गर्न लागेको रकम झण्डै ७ अर्ब रुपैयाँ रहेको कार्कीले बताए ।

जलविद्युत कम्पनीहरुले आईपीओ तथा हकप्रद सेयर जारी गरेपछि आउने रकमलाई आयोजना निर्माणमा खर्च गर्ने योजना सहित काम अघि बढाएका हुन्छन् । तर, बोर्डले अनुमति नदिएपछि विभिन्न आयोजनालाई करिब २० अर्ब रुपैयाँ जुटाउनका लागि चुनौति थपिएको इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगीले बताए ।
जलविद्युत् कम्पनीहरुको आइपीओ तथा हकप्रद निष्कासनलाई प्राथमिकता दिन सरोकारवाला सबै निकायमा इप्पानले पहल गरेपनि सम्बन्धित निकायले तदारुकता नदेखाएको इप्पानका महासचिव बलराम खतिवडाले बताए ।

जलविद्युत आयोजनाले ५० प्रतिशत निर्माण कार्य पूरा भएपछि आईपीओ निष्कासनको प्रक्रियामा जान पाउँछन् भने ६० प्रतिशत निर्माण पूरा भएपछि अनुमति पाउने व्यवस्था छ । आईपीओबाट आउने पैसालाई पनि कम्पनीहरुले आयोजना निर्माणमा खर्च गर्नेगरी कार्ययोजना बनाएका हुन्छन् । तर, सेयर निष्कासनको प्रक्रिया नै रोकिएपछि आईपीओको चरणमा पुगेका अन्य आयोजना समेत प्रभावित भएको प्रवर्द्धकको भनाइ छ । अहिले निजी क्षेत्रबाट ३ हजार ५०० मेगावाट क्षमताका आयोजनाहरु निर्माणाधीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?