+
+
Shares

एउटै खोलामा ६ जलविद्युत् आयोजना

रासस रासस
२०८२ भदौ ५ गते ६:३१

५ भदौ, गलकोट । बागलुङको ताराखोला गाउँपालिका जलविद्युत हबका रूपमा विकास भएको छ । ठाडो खोलाका रूपमा रहेको यहाँको ताराखोलामा हाल दुई जलविद्युत् आयोजना सम्पन्न भएका छन् भने दुई योजना निर्माणधीन र दुई प्रक्रियामा छन् ।

सयपत्री हाइड्रो कम्पनीले गाउँपालिका–२ र ३ मा पर्ने दरमखोलामा दुई दशमलव पाँच मेगावाट क्षमताको दरम खोला ‘ए’ जलविद्युत् आयोजना निर्माणसम्पन्न गरी विद्युत् उत्पादनसमेत गरिसकेको छ । यो निजी कम्पनीले बनाएको पहिलो आयोजना हो । यसअघि समुदायको प्रयासमा स–साना लघु जलविद्युत् सञ्चालनमा थिए ।

सयपत्री जलविद्युत् निर्माणपश्चात् ताराखोलामा पाँचवटा जलविद्युत् आयोजना थपिने क्रममा रहेका छन् ।  जसमध्ये ताराखोला जलविद्युत् आयोजना सम्पन्न भइसकेको छ भने अन्य चारवटा जलविद्युत् आयोजना निर्माणको चरणमा रहेका छन् ।

पाँच वर्षअघि ३८० किलोवाटको ताराखोला जलविद्युत् आयोजना निर्माणसम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।  हाल यहाँ मध्यताराखोला मध्य दरम ‘ए’ जलविद्युत् आयोजना धमाधम निर्माण भइरहेको छ । यस आयोजनाको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

यस्तै दरम ‘ए’ जलविद्युत् आयोजनाको चार मेघावट क्षमताको पूर्वाधार निर्माणले गति लिएको छ । यहाँ ४० प्रतिशत पूर्वाधारको काम सम्पन्न भइसकेको आयोजना सञ्चालक मिलन खतिवडाले जानकारी दिए ।

यहाँ तीन दशमलव पाँच मेघावाट तल्लो ताराखोला जलविद्युत् आयोजना र चार दशमलव पाँच मेघावाट मध्यदरम ‘बी’ आयोजना निर्माणको प्रक्रियामा रहेको छ ।

ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले ताराखोलामा जलविद्युत् आयोजनामा स्थानीयको समेत लगानी भएकाले यसको निर्माणले आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताएका छन् । ‘मध्ये ताराखोला र मध्यदरम ‘ए’ जलविद्युत् आयोजनाले गति लिएको छ भने ताराखोला हुँदै गलकोटसम्म अन्य तीन आयोजनाको कामसमेत अगाडि बढेको छ’, उनले भने, ‘स्थानीयको समेत करोडौँ लगानी रहेका जलविद्युत् आयोजना सम्पन्न भएमा  ताराखोलाको आर्थिक विकासमा टेवा पुग्ने छ ।’

गाउँपालिका अध्यक्ष प्रकाश घर्ती आयोजना निर्माणले गति लिएपछि स्थानीयस्तरमा उत्साह बढेको बताउँछन् । ‘हाम्रो गाउँपालिकामा विद्युत् उत्पादनका लागि धेरै आयोजना बन्नु गर्वको विषय हो । यसले पक्कै पनि गाउँपालिका आर्थिक उन्नयन र नागरिकको जीवनमा सकारात्मक प्रभाव पर्नेछ । यसकारण सबै उत्साहित छौँ,’ उनले भने ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?