+
+
घुमघाम :

५४ किमिको हाइकिङ

ईश्वर काफ्ले ईश्वर काफ्ले
२०८० साउन २३ गते ७:१५

एनाकोन्डा-२ चलचित्रमा कोल बुरिसको ढाडमा लागेका जुका झैं मोजा फुकाल्दा मेरो खुट्टामा जुका थिए। त्यो चलचित्रमा देखाएका जुका अलि विकासे थिए मेरो खुट्टामा लागेका स्थानीय साना, फरक त्यत्ति थियो।

एक शुक्रबार साँझ मोबाइलको स्क्रिनमा औंला चलाइरहँदा ‘मनसुनको बेला घुम्नै पर्ने काठमाडौं नजिकका झरनाहरु’ भन्ने इन्स्टाग्राम पोस्टमा आँखा अडिए। झरनाहरु कुनै काभ्रे, कुनै ललितपुर, कुनै मकवानपुर त कुनै नुवाकोटका थिए। काठमाडौंबाट नजिक भने पनि टाढै थिए। बाइक/गाडीमा जाँदा मात्र नजिक भनिएका रहेछन्।

नुवाकोटको लौकी झरना तुलनात्मक रुपमा नजिक लाग्यो। टोखाहुँदै गुर्जु भन्ज्याङबाट ३ किमि गुरुङ गाउँसम्म बाइक/बसमा गएर त्यहाँबाट २/३ घन्टा हाइकिङ गरियो भने पुग्न सकिने रहेछ। अथवा अलिपर थानापाती मगर गाउँसम्म बाइकमा गएर त्यहाँबाट डेढ घन्टा हाइकिङ।

शनिबार लौकी झरना हाइकिङ जाने योजना एकल समितिले पारित गरिहाल्यो। दुई वटा एक्स्ट्रा चिज स्यान्डबिच बनाएर फ्रिजमा राखें। आफ्नै हिसाबको यात्रा कार्यक्रम बनाएँ।

भोलिको मौसम पूर्वानुमानले ८० प्रतिशत पानी पर्ने देखाइरहेको थियो। बिहान हिंड्ने बेलामा चैं पानी नपरिदिए हुन्थ्यो भन्ने प्रार्थनाका साथ सुतें।

बिहान ३:३० को घन्टीको कर्कश ध्वनिसँगै उठें र अरु आधा दर्जन घन्टीलाई विश्राम दिएँ। नास्तामा आधा लिटर चिसो दूध, भीमटारी राधिका फुपूले ल्याइदिनुभएको गुलियो सातु र दुई चम्चा पिनट बटर खाई अघिल्लो दिन बेलुका नै बनाएको स्यान्डबिच, स्याउ, आँप, रेनकोट र अरु खत्र्याङमत्र्याङ झोलामा राखी म हाइकिङ जान रेडी भएँ।

शनिबारको दिन अरुको निद्रा डिस्टर्ब नहोस् भनी विस्तारै च्यानल गेट लगाएर घरबाट निस्कें। एकछिन अडिएर स्ट्राभामा रेकर्ड एक्टिभिटी थिच्दा छिमेकीका कुकुरहरु टोलै थर्किने गरी भुक्न भ्याइसकेका थिए।

सिमसिम परिरहेको पानीले गर्दा मौसम निकै शीतल थियो। राति ठूलो पानी परेको रहेछ, बाटोका प्लास्टिक सबै भलले बगाएर लगेको हुनुपर्छ, बाटो सफा थियो।

केहीबेर अगाडि देखि नै साइरनको आवाज आइरहेको थियो, एउटा बत्तिएर आएको एम्बुलेन्स ग्रान्डी अस्पतालभित्र छिर्यो म भने टोखातिर लम्किएँ।

‘अलि छिटै नै आइएछ टोखाको ग्वारमरी र जेरी खान पाइएन’ मनमनै कुरा खेलाउँदै मुख्य टोखा बजारबाट ओरालो लागेर चण्डेश्वरी अस्पताल हुँदै  झोरतिर लम्किए।

बौडेश्वर झरना पुग्दा मर्निङ वाक् गरेर फर्किनुभएका आमादिदीहरु धेरै हुनुहुन्थ्यो। हाँसो साटासाट गरी अक्षर सबै मेटिएका, रङ खुइलिएर सेतो भएको प्रवेशद्वारभित्र छिरें।

काठमाडौंबाट नुवाकोट प्रवेश गर्ने छोटो दूरीको रुपमा रहेको टोखा-छहरे सडकखण्डको दुरवस्थाबारे वर्षौंदेखि चर्चा हुन्थ्यो। तर अहिले निर्माण सम्पन्न भएर बाटो त फिलिली रहेछ। बिहान सबेरै भएर होला मोटर गाडीहरु बाटोमा शून्य जस्तै थिए। दुवैतिर आल्मुनियमका ट्यांका राखेका फाट्टफुट्ट मोटरसाइकल नुवाकोटतिर फर्किंदै थिए।

घरबाट लगभग १२ किमिको दूरी गुर्जे भन्ज्याङ २ घन्टामा पुगें। मोबाइलको स्क्रिनले ०६:३५ एएम देखाइरहेको थियो।

समुद्री सतहबाट करिब १८५० मि. उचाइमा अवस्थित गुर्जे भन्ज्याङ काठमाडौं र नुवाकोटको सिमाना हो र नुवाकोट जोड्ने एक मुख्य नाका।

गुर्जु भन्ज्याङको चेकपोस्टमा आर्मी दाजुहरुसँग केहीबेर कुराकानी गरी म नुवाकोट बिदुरतर्फ जाने बाटोतिर लम्कें। केही मिटर अगाडिबाट राजमार्गलाई छोडेर गुगल म्यापले देखाएको कच्ची बाटोतर्फ लागे। ‘यो शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गल हो, बिहान सबेरै बाटोमा चितुवा हुन सक्छ अलि सजग भएर जानुहोला’ हातमा राइफल समातेका आर्मी दाजुले चितुवाले नै सुन्ला झैं गरी सानो स्वरमा भन्नुभयो।

२०१६ ताका गोसाइँकुण्ड जाँदा होटल रेडपान्डाकी दिदीले चितुवा लाग्न सक्छ भनेपछि म चन्दनबारीबाट चोलाङपाटी नगई त्यो रात चन्दनबारीमै बिताएको थिएँ। त्यो साँझ रात छिप्पिनु अगाडि नै चोलाङपाटी पुग्न सक्थें।

शिवपुरीको जङ्गलमा  चराचुरुङ्गी थुप्रै यताउता भुर्र उड्दै थिए तर चितुवाको अत्तोपत्तो थिएन। कच्ची बाटो फेरि दुई चिरा पर्यो। सीधै गए निकुञ्जको बाटो हुँदै, ककनी पुगिने, म ओरालो बाटो सुइरेचौरतिर लागें।

यो बाटो हिंड्दै गर्दा २०१७ मा इम्प्याक्ट म्याराथनको बेला ककनीबाट सुरु गरेर गुर्जेहुँदै काभ्रेस्थली भएर फेरि ककनी पुगेको याद आयो। यही ठाउँमै बसेर एक जना राई थरका म जस्तै एमेच्योर धावकसँग ग्लुकोज बिस्कुट खाएको सम्झना ताजै छ।

सुइरेचौरतिर जाने बाटोमा गुगल म्यापले निहारिका झरना देखाए पनि खासमा पानी बग्ने सानो खोल्सो रहेछ। यो त एक्स्पेक्टेसन भर्सेस रियालिटी जस्तै भयो।

टोखा साङ्लामा किनेको थिनआरारोट बिस्कुट कुकुरहरुलाई खुवाउँदा एकैछिन भए पनि खुट्टाले आराम महसुस गरे होलान्।

बिहानैदेखि सिमसिम पानी परिनैरहेको थियो, सुइरेचौर बादलले डम्म ढाकिएको थियो। एकैछिनमा मौसम खुल्थ्यो तल लिखु खोलाका फाँटमा हरिया बगरमा घाम लागेको देखिन्थ्यो, एकैछिनमा आफ्नो अगाडिको दृश्य पनि देखिन्थेन।

सुइरेचौरको बाटोहुँदै विरलै मान्छेहरु लौकी झरना जाने भएर होला लौकी झरनाको बारेमा कोही जानकार थिएनन्। नयाँ गाउँसम्मै कसैलाई पनि थाहा थिएन।

म गुगल म्यापकै सहारामा हिंडेको थिएँ। सोध्दै खोज्दै मकैबारीका गराका कान्ला फाल हाल्दै बुद्ध पार्क पुगें। बुद्ध पार्क गुरुङ गाउँ र सुइरेचौर दुवैतिरबाट आउन सकिन्छ।

नयाँ गाउँबाट पर्न थालेको पानी झोलुङ्गे पुल तरेर सरस्वती मावि पुग्दा रोकियो।

सरस्वती माविबाट उकालो लाग्दा कुलोमा झार उखेलिरहनुभएका बाजे भेटिनुभयो र मलाई लौकी झरना जाने छोटो बाटो बताइदिनुभयो। ‘बाबू बाटोमा जुका लाग्छ है’ हातको झार कुलो छेउमा फाल्दै भन्नुभयो।

‘अब बर्खामा हिंड्ने अनि जुकासँग डराएर भयो त नि बुवा ?’ भन्दै म ओरालो बाटो लागें।

एक दुई वटा घर, झुपडी, डहर, कुलेसो, मकैका वारी, भर्खरै कोदो रोपेका बारी हुँदै, नास्पाती टोक्दै  गुगल म्यापले देखाएको बाटोमा पुगें।

२/३ ओटा घर–पसलहरु देख्दादेख्दै नबोली म कुलेलम ठोकें। केही मिनेट हिंडेपछि जब रुखमा झुन्डिएको ‘लौकी झरना जाने बाटो’ को साइनबोर्ड देखें आनन्दको सास फेरें।

मुख्य बाटोबाट छुट्टिएर ओरालो लागें। धान गोडेर बाटोभरि झार राखेकोले हिंड्न नि गाह्रो थियो। दायाँ–बायाँ हरिया पहाड, खेतका तरेलीहरु, उ पर लिखु खोला फाँटमा घाम लागेको हेर्दै खेतका आलीबाट हिंड्दा १/२ पल्ट चिप्लेर लडें पनि।

बाटोमा एउटा एक्लो सानो झुपडी जस्तै घर थियो। आँगनमा झार उम्रेको थियो, कुखुराका चल्लाहरु पिंढीमा पोखिएको भातका सिता टिप्दै थिए। जुठेल्नोमा एउटा कुच्चिएको कालो डेक्ची र दुई वटा थाल लडिरहेका थिए, कालो पाइपको धाराबाट सानो पानी बगिरहेको थियो।

‘हेल्लो कोही हुनुन्छ ?’ उताबाट केही आवाज आएन।  घरको आँगनबाट तल झर्दा एउटा कुलो देखियो।

म ओरालो नलागी कुलो भएतिर सोझिएँ। जति अगाडि जान्थें त्यति खोलाको गड्गडाहट ठूलो सुनिन्थ्यो। झरना पक्कै यतै हुनुपर्छ भनी कुलोको डिल डिल टेकेर, झाडी पन्छाउँदै अगाडि बढें। केहीबेरमा चलचित्रमा देखाउने जस्तो सुन्दर झरनाको मनमोहक दृश्यले मनै लोभ्यायो। एकैछिनमा सबै थकाइ भुलें।

झोला एकातिर मिल्काएर ढुंगामा चढें। झरनाको मनोरम दृश्य हेर्दै ढुङ्गामा बसी पानी पिएँ, स्यान्डबिच, आँप, स्याउ खाएँ। अनगिन्ती फोटो भिडियो खिचें।

एनाकोन्डा-२ चलचित्रमा कोल बुरिसको ढाडमा लागेका जुका झैं मोजा फुकाल्दा मेरो खुट्टामा जुका थिए। त्यो चलचित्रमा देखाएका जुका अलि विकासे थिए मेरो खुट्टामा लागेका साना, फरक त्यत्ति थियो।

‘ल्या यो झरना इन्टरनेटमा देखाए जस्तो छैन त’ आफैंसँग प्रश्न गरें।

हतारहतार झोला प्याक गरेर जुन ठाउँबाट तेर्सो लागेको थिएँ, त्यहाँबाट ओरालो लागें। केही तल झरेपछि पल्लो पाखामा माथिबाट झरिरहेको छङ्छङ् आवाज सहित ठूलो झरना देखें। हो यो चैं है’छ लौकी झरना भनेर उत्सुकतासाथ चिप्लो ओरालो बाटो झार, रुखका हाँगा समाउँदै दगुरें। आँखै गाडि बडेमानको झरना। हत्तपत्त झोला फालेर पानी झरे ठाउँमा पुगें, के बस्न सकिन्थ्यो, लगभग १०० मिटर भन्दा माथिबाट झरेको पानीको फोहोरा अनि हावाको वेग।

काठमाडौंबाट आएका भाइहरु थापा गाउँबाट हिंडेर आएका रहेछन्। म बसुन्धराबाटै हिंडेर आएको भन्दा अचम्मित हुँदै ‘हैन होला दाइ’ भन्दै थिए।

अब मसँग दुइटा अप्सन थिए। बिहान आएकै बाटो फर्कने वा २ घन्टा हिंडेर थानापाती थापागाउँ निस्कने, बस चढेर काठमाडौं जाने।

हाइकिङ हिंडेको, मलाई बस चढ्न मन थिएन, लामो ट्रेकिङ गए झैं प्रकृतिलाई नियाल्दै बिहानदेखि बेलुकासम्मै हिंड्न मन थियो। मैले पहिलो अप्सन रोजें। ११ बजे लौकी झरनाबाट उकालो लागें।

आउँदा ओरालो बाटो बुर्कुसी मार्दै झरेको अहिले उकालो चढ्दा यति सकस भयो कि त्यति त कोग्माला पास गर्दा पनि भएको थिएन। हो साँच्चिकै गाह्रो भएको थियो मलाई। ठाडो उकालो, चिप्लो बाटो, नुवाकोटको चर्को घाम, जसोतसो कच्ची मोटर बाटोसम्म निस्कें।

पाइपबाट काठको ठेडी निकाली बोतलमा पानी भरें, एक बोतल पिएँ, अर्को बोतल भरेर झोलाको साइड पकेटमा घुसारें। सिम्ले राम्गाल टोल होटलको पिंढीमा राखेको प्लास्टिकका कुर्सीमा थचक्क बसें। यो सबै देखिरहनुभएको कल्पना गुरुङ दिदीले हाँस्दै ‘भाइ, बिहान नबोली छिटोछिटो गा’थ्यो,  अहिले थकाइ लाग्यो?’  प्रश्न गर्नुभयो।

केहीबेर थकाइ मार्ने निहुँमा कल्पना दिदी सहित अरु बुढीआमैहरुसँग गफ लडाएर बसें। भोक लागेको भए चाउचाउ उमालिदिन्छु भन्ने प्रस्तावमा मैले खानेकुरा घरबाटै ल्याएर खाएको बताएँ। ‘हा हा भाइ बाठो रहेछ!’ दिदीले ठट्टा गर्नुभयो।

म सुइरेचौर भएर गुर्जु निस्किने भन्दा दिदीले गर्वका साथ ‘सूर्यचौरमा मेरो भतिजको होटल छ’ भन्नुभयो।

सुइरेचौरमा हजुरको भतिजको होटलमा चिया खान्छु भन्दै दिदीसँग फोटो खिची आफ्नो बाटो लागें। डहर, कसैको घरको कर्सा पार गर्दागर्दै उकालो लागें।

एकैछिनमा ठूलो पानी पर्यो तर उता लिखु फाँटमा त घाम लागिरहेको थियो। हतारहतार रेनकोट लगाएर हिंडें। रेनकोटले पनि थेग्न नसक्ने पानी परेपछि बाटो छेउको नीलो घरमा ओत लाग्नुको विकल्प थिएन।

कुराकानीकै सिलसिलामा त्यो घर सरस्वती माविको प्रिन्सिपल रामकृष्ण सरको घर रहेछ। लौकी झरनाको प्रवर्द्धनमा सरको एकल  योगदान भएको बताउनुभयो। ‘मैले नै पहिलो पल्ट ३ महिना जति अगाडि युट्युबमा भिडियो राखेपछि झरना पपुलर भयो, टिकटक फेसबुकतिर आयो र चर्चित भयो।’

‘करिब १२० मिटर अग्लो यो झरना हेर्न अहिले स्थानीय साथै काठमाडौंतिरबाट आउने पर्यटकहरुको भीड लाग्छ, आज घाम लागेन होला, घाम लागेको बेला त्यो इन्द्रेणीले लौके झरनाको सुन्दरतालाई झनै आकर्षित बनाउँछ’ सरले थप्नुभयो।

टिनका छानाबाट बलेनीमा पानी झरेको दृश्य खिच्न मोबाइल झिकेको चार्ज सकिएर ५ प्रतिशतमा झरेको रहेछ। मोबाइल चार्जमा राखेको एक मिनेट पनि नहुँदै बत्ती गयो, पानी परेपछि बत्ती जाने हाम्रो राष्ट्रिय समस्या जो हो।

रामकृष्ण सरको आतिथ्यलाई धन्यवाद दिंदै फेरि आउने बाचाका साथ निस्कें। पानी रोकिउन्जेल बस्न मलाई छुट थिएन, बसुन्धरासम्मै हिंडेर जानुथियो।

पोहोर दशैंमा फोक्सुन्डोबाट फर्किंदा यही रेनकोट लगाई पुग्मो गाउँबाट तल्लुबगरसम्म निथ्रुक्क भिजेर यात्रा गरेको याद आयो। सिमसिम पानीको लागि बनाइएको रहेछ यो रेनकोट। बिहान जाँदा सानातिना झरनाहरुमा दूध बगिरा’थ्यो भने अहिले दूध चिया। झोलुङ्गे पुल तलको घट्टे खोलामा रङ कडा दूध चिया बग्दैथियो।

मोबाइल हेरें जम्मा ४ प्रतिशत ब्याट्री थियो। जिपलक ब्यागमा मोबाइल राखी झोला भित्र हालें। कतै चार्ज गरौं भन्नलाई बत्ती पनि थिएन। मसँग चार्जर पनि थिएन।

बुद्ध पार्क आइपुग्दा पानी रोकियो। पानी रोकिएपछिको दृश्य निकै नै मनमोहक थियो, चित्रकारले कोरे जस्तो नीलो आकाश, डाँडामा गुच्छै गुच्छा भएर उडेका सेता बादल, लिखु खोलाका हरिया फाँट, तर फोटो खिच्नलाई मोबाइलमा ब्याट्री थिएन। पावर ब्यांक नबोकेको आत्मग्लानि हुँदैथियो। मनोरम दृश्यहरु मनको क्यामरामा कैद गरें।

जाँदा सुइरेचौर र फर्कंदा गुरुङ गाउँहुँदै हाइकिङ गर्ने योजना थियो तर मोबाइल चार्ज गर्नकै लागि भए पनि बिहान आएकै बाटो सुइरेचौर जानु उपयुक्त ठानें। बिहान गुगल म्याप अनुसार मोटर हिंड्ने बाटो आएको फर्कंदा शर्टकट सिंढीवाला बाटो भएर सुइरेचौर पुगें।

आहा सुइरेचौर। चिसो सिरेटो, बदलिरहने मौसम, कहिले पानीको सिमसिम त कहिले कुहिरोले भरिभराउ। समुद्री सतहबाट १९०० मिटरको उचाइमा रहेको शिवपुरी गाउँपालिकास्थित सूर्यचौर अहिले आन्तरिक पर्यटकका लागि आकर्षणको गन्तव्य बनेको रहेछ।

मौसम खुल्ला हुँदा अन्नपूर्ण, लाङटाङ र गौरीशंकर रेञ्जका अन्य हिमश्रृंखला लगायत पहाडका तरेली, बेंसीका नदीनाला, हरिया फाँटको दृश्यावलोकन गर्न सकिने रहेछ। यस्तै, महोत्सवको बेला हिउँदमा पाराग्लाइडिङको पनि मजा लिन पाइने रहेछ। ठूला ठूला स्पिकरमा गीत घन्काएर नाचगान गरिरहेका ३/४ टोली देखेरै सुइरेचौर चर्चित रहेको भान भयो।

दुई वटा कोकोनट बिस्कुट (थिनअरारोट रहेनछ) किनेर बैनी यो फोन चार्जमा राखिदिनु न भनें। बिहान जाँदा थिनअरारोट बिस्कुट दिएका कुकुरहरु मेरो हातमा बिस्कुट देखेर पुच्छर हल्लाउँदै मेरो नजिक आइसकेका थिए।

भोकै नलागे पनि ८० रुपैयाँको एक कचौरा वाइवाइ चाउचाउको झोल खाएँ। मोबाइलमा २९ प्रतिशत चार्ज भएको रहेछ, यति भएपछि फोटो खिचेन भने बेलुका ६ बजेसम्म स्ट्राभा चल्छ भनी गुर्जेतिर लागें। होटल बाहिरको भित्तामा झुन्डिराखेको धुलोले ढाकिएको घडीमा २:३० बजेको थियो।

झरना पुगेर आउनुभयो ? आर्मी दाजुले प्रश्न गर्नुभयो। मैले उत्तर दिन नपाउँदै सँगैका अर्को दाजुले उत्सुकताका साथ ‘कति टाढा रहेछ त, छिटै फर्किनुभयो’ भनेर सोध्नुभयो।

‘अँ दाजु म अलि छिटै हिंड्छु’ हाँस्दै जवाफ दिएँ।

मोबाइलमा पर्याप्त चार्ज नभएकोले फोटो देखाउन भने असमर्थ रहें। बिहान आएको त्यही पिच बाटो भएर टोखातिर लखरलखर घर फर्कन मन लागेन, म शिवपुरीको जङ्गल हुँदै डाँडागाउँतिर तेर्सो लागें। मलाई ढुङ्गामाटोको पदमार्गमा हिंड्न सधैं सहज लाग्छ तर अलकत्रा विछ्याएको सडकमा हिंड्नुपर्यो भने म मानसिक रूपमा नै थाक्ने गर्छु। मलाई हाइकिङ होस् या लामो पदयात्रा गर्दा गएको बाटो फर्कन मन लाग्दैन। सकेसम्म मिलेसम्म जाँदा र फर्कंदा भिन्न बाटोहरु रोज्छु।

शिवपुरीको सुनसान जंगलमा सिमसिम पानी परिरहेको थियो, एकोहोरो झ्याउँकिरीको आवाज कानमा ठोक्किराखेको थियो, बाटो हुस्सुले ढाकेको थियो। कुनै भूतको चलचित्रको दृश्य जस्तो देखिन्थ्यो। बाटोबाट तल हेर्दा टोखा झोरको बाक्लो बस्ती देखिन्थ्यो बाटोमाथि शिवपुरीको जङ्गलका रुखहरु।

मसँगै गुर्जेबाट हिंड्न सुरु गरेका दुई जना भाइहरुको अत्तोपत्तो थिएन।

सल्ला, उत्तीस, गुराँस, पैयुँ, काफल, चिलाउने, मयल, शिरीष, कटुस इत्यादिका रुख हेर्दै डेढ घन्टामा डाँडागाउँ पुगें। पानीमुहानतिर लाग्ने मन हुँदाहुँदै पनि घर पुग्दा ढिला होला कि भनेर हुस्सुले ढाकिएको सुन्दर नागवेली बाटो हुँदै बूढानीलकण्ठतिर ओरालो लागें।

बूढानीलकण्ठ स्कुल अगाडिको सिंढीमा झोला बिसाएँ, पानीको बोतल रित्याएँ, रेनकोट खोलेर झोलामा राखें। शरीरमा झनै फुर्ती आए जस्तो भयो, लागें बसुन्धरातिर।

घर पुगेर हतार–हतार भिजेका जुत्ताबाट  चिप्किएका मोजा खोल्दा ट्रेन्च फुटमा जुकाले टोकेका निशानीहरु प्रष्ट देखिन्थे। स्ट्राभाले ५३.९४ किमि देखाउँदा घडीमा साँझको ६ बजेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?