+
+

नवौं राष्ट्रिय खेलकुद सकिएको १० महिनापछि खर्च विवरण सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २४ गते १७:४८

२४ साउन, काठमाडौं । गत वर्ष असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदको खर्च राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १० महिनापछि सार्वजनिक गरेको छ ।

राखेपले बुधबार एक कार्यक्रम गर्दै खर्च सार्वजनिक गरेको हो । राखेपले १० महिनापछि सार्वजनिक गरेको खर्च अनुसार नवौं राष्ट्रिय खेलकुद सञ्चालनका लागि ५३ करोड ७९ लाख ४ हजार २३९ रुपैयाँ खर्च भएको छ ।

जसमा २१ वटा उपशीर्षकमा खर्च विवरण प्रस्तुत गरिएको छ । सरकारद्वारा ६० करोड १० लाख  विनियोजित बजेट र आफैंले आन्तरिक आम्दानी ५१ लाख ५२ हजार  ७०० बाट उक्त खर्च गरेको राखेपको खर्च विवरण उल्लेख छ ।

यसबाट वचत भएको ६ करोड ८२ लाख ४८ हजार चार सय ६० रुपैयाँ सरकारकै खातामा फिर्ता पठाएको राखेपले जानकारी दिएको छ ।

राखेपले निर्वाचन र सरकारद्वारा विनियोजित रकममा रोक्का हुनु लगायत विषयका कारण समयमा भुक्तानी गर्न नसक्दा खर्च विवरण सार्वजनिक गर्न ढिलाइ भएको जनाएको छ ।

खेलाडीले पाउनुपर्ने रकम भुक्तानी वैशाखमा भइसकेको राखेपले जानकारी दिइएको छ ।

यसपटक रकम सिधै खेलाडीको खातामा जम्मा गरिएको सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए ।

८०० जना भन्दा बढीले स्वर्ण पदक पाएको उनले बताए । पदकको हिसाबले ३९७ स्वर्ण पदक भएपनि टिममा भएको खेलमा कुल ८४० खेलाडीको स्वर्ण पदकको रकम पठाइएको उनले जानकारी दिए ।

नवौं राष्ट्रिय खेलकुदको पुरस्कार खेलाडीहरुले प्रतियोगिता आयोजना गरिएको ५ महिनापछि पुरस्कार रकम प्राप्त गरेका हुन् ।

१९ औं एसियन गेम्सपछि दशौं राष्ट्रिय खेलकुदको मोडालिटी सार्वजनिक गर्ने नवौं राष्ट्रियको जस्तो हतारमा मोडालिटी सार्वजनिक नगर्ने सदस्य सचिव घिसिङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?