+
+

गोरखामा प्रहरीले बरामद गरेको चम्किलो ढुंगा बहुमूल्य क्वार्ज क्रिष्टल भएको पुष्टि

विकास मरहट्टा विकास मरहट्टा
२०८० साउन २५ गते १५:५५

२५ साउन, गोरखा । गोरखा नगरपालिका-७ सतिपीपलस्थित राममाया शाहीको घरबाट प्रहरीले बरामद गरेको चम्किलो ढुंगा क्वार्ज क्रिष्टल भएको पुष्टि भएको छ ।

खानी तथा भूगर्भ बिभागबाट आएको टोलीले परीक्षणपछि उक्त ढुंगा क्वार्ज क्रिष्टल भएको पुष्टि गरेको हो । टोलीले बुधबार ढुंगा परीक्षणको रिपोर्ट जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन् ।

बिभागबाट आएकी भूगर्भविद डा. सुस्मिता भण्डारीले उक्त ढुंगा महत्वपूर्ण र बहुमूल्य रत्नपत्थर भएको बताइन् । भूगर्भविदको टोलीले ढुंगाको नापतौल लिनुका साथै यसको विभिन्न प्राविधिक पक्षबारे पनि परीक्षण गरेको थियो ।

संसारभरका धातुलाई कडापनका आधारमा १० समूहमा वर्गीकरण गर्ने गरिएको बताउँदै भूगर्भविद डा. भण्डारीले कडापनका आधारमा उक्त चट्टान ७ औं नम्बरमा रहेको जानकारी दिए । कडापनका आधारमा हिरा १० औं नम्बरमा पर्ने उनको भनाइ छ ।

उक्त क्वार्ज क्रिष्टल मुख्य रुपमा गरगहना बनाउन, सजावटका सामग्री बनाउन प्रयोग हुने गरेको विभागको टोलीले बताएको छ । घडी, कम्प्युटर, रेडियो ट्रान्समिटर जस्ता विद्युतीय उपकरणहरुमा पनि आंशिक रुपमा क्वार्ज क्रिष्टलको प्रयोग हुने बताइएको छ ।

अध्ययन टोलीले जिल्ला प्रशासन कार्यालयलाई बुझाएको पत्रमा उक्त ढुंगा खानी तथा भूगर्भ विभागलाई उपलब्ध गराउन पनि भनिएको छ ।

खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्य गर्ने अनुमति नलिई उत्खनन् तथा संकलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमा भनिएको छ ।

विभागको अनुमति नलिई कसैले पनि यस्ता खनिज पदार्थ उत्खनन र संकलन गर्न नपाइने र गरेमा १ लाख रुपैयाँसम्म जरिवाना हुने कानूनी प्रावधान रहेको भूगर्भविद् भण्डारीको भनाइ छ ।

विभागको टोलीसँगको भेटमा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानाले ऐतिहासिक र धार्मिक हिसाबले उक्त पत्थरलाई गोरखामै राख्नुपर्ने धारणा राखे । जिल्लास्थित दर्जन बढी सामाजिक संघसंस्थाले पनि उक्त पत्थरलाई गोरखा दरवार परिसरमा राखेर संरक्षण गर्न माग गरेको उनले बताए ।

गोरखामै राख्नेबारे नेपाल सरकारका विभिन्न निकायसँग समन्वय गर्नका लागि समय चाहिने भएकाले तत्काल प्रहरी कार्यालयमै राख्न मेयर राना मगरले विभागका भूगर्भविद्हरुलाई आग्रह गरेका छन् ।

उक्त ढुंगाको तौल ५२ किलो ३ सय ३० ग्राम रहेको र यति तौलको एउटै चट्टान भेटाउन मुस्किल पर्ने भूगर्भविद् भण्डारीले ताइन् । प्रहरीले गोरखा नगरपालिका–७ सतिपीपलबाट गत असार १४ गते उक्त ढुंगा बरामद गरेको हो । लाखौं रुपैयाँमा खरिद बिक्रीका लागि मोलमोलाई भइरहेको सूचनाका आधारमा ढुंगा राखिएको घरमा छापा मारेर बरामद गरिएको प्रहरीले जनाएको छ ।

ढुंगाबारे यकिन गरिदिनका लागि जिल्ला प्रशासन कार्यालयले खानी तथा भूगर्भ विभागलाई पत्राचार गरेको थियो । सोही आधारमा विभागले भूगर्भविद् डा. सुस्मिता भण्डारी र दुर्गा बोलाखेलाई गोरखा पठाएको थियो ।

 हेर्नुहोस् खानी तथा भूगर्भ विभागले पुष्टि गरेको  पत्र : 

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?