+
+

मजदुर कुटिएको विरोधमा गोरखामा यातायात बन्द

विकास मरहट्टा विकास मरहट्टा
२०८० चैत १४ गते १३:१७

१४ चैत, गोरखा । यातायात मजदुर कुटिएको विरोधमा गोरखामा यातायात व्यवसायीले सार्वजनिक यातायात बन्द गरेका छन् ।

आइतबार फागु फूर्णिमाको दिन ग १ ख ७१९१ नम्बरको बस चालक अर्जुन परियार र सहचालक टीकाराम नेपालीमाथि गोरखा नगरपालिका–७ धारापानीमा स्थानीय युवाले कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्नहरुलाई कारबाहीको माग गर्दै मजदुरहरुले बुधबार बिहानदेखि यातायात बन्द गराएका हुन् । बन्दका कारण जिल्लाभित्रै चल्ने र जिल्लाबाहिर जाने सार्वजनिक यातायात चलेका छैनन् ।

धारापानीका हरि श्रेष्ठ, धुव्र श्रेष्ठ र समित श्रेष्ठसहितको टोलीले यातायात मजदुरमाथि कुटपिट गरेको अखिल नेपाल यातायात मजदुर संघका जिल्ला अध्यक्ष निर्मल रानाले बताए ।

‘उनीहरु चढेर आएको बा २० च ५८५८ नम्बरको कार र बस ठोक्किएछ’, उनले भने, ‘अरु व्यक्ति पनि बोलाएर श्रेष्ठहरुले बसको चालक र सहचालकमाथि हातपात गरेछन् ।’

यातायात मजदुरमाथि कुटपिट गर्नेहरुमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिए पनि बेवास्ता गरेको अध्यक्ष रानाले बताए ।

‘मजदुरमाथि कुटपिट गर्नेलाई कारवाही गर्न भनेर अस्ति प्रहरीकोमा जाहेरी पनि दिएका थियौ, तर दर्ता गर्न मानेनन् । विरोधस्वरुप आज मजदुरहरुले गाडी घर वा ग्यारेजमा थन्क्याउने भनेका राखेका हौ’, उनले भने ।

दोषीमाथि कारबाहीको माग गर्दै मंगलबार अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

बन्दका कारण यात्रुहरु बिहानै देखि सडकमा अलपत्र परेका छन् । पोखरा जान भन्दै परिवारसहित बिहान ५ बजे हरमटारीचोकमा आइपुगेका बारपाक सुलिकोट गाउँपालिका–३ का मिलन गुरुङले गाडी बन्द हुँदा समस्या भएको बताए ।

‘बाबु नानीहरु पनि सँगै छन्, टाढा जानुपर्ने, यसरी गाडी बन्द गर्दा हामीहरुलाई निकै समस्या भयो’, उनले भने । उपचारका लागि चितवन जान लागेकी वालुवाकी सुकमाया मग्राती पनि बिहानैदेखि सडकमा अलपत्र परेकी छन् ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले यातायात सञ्चालनको विषयमा छलफल भइरहेको बताए । ‘समस्या समाधानका लागि छलफल भइरहेको छ, भएन भने कानुनी प्रक्रिया अनुसार अघि बढ्छौं’, उनले भने ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?