+
+

राजधानीमै कुटपिट हुँदा प्रहरीले दोषीलाई नसमातेको पूर्व एआईजीको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते १८:२२

२६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यसम्पादन समिति सदस्य एवं सशस्त्र प्रहरी बलका पूर्व एआईजी ठाकुरमोहन श्रेष्ठले आफूमाथि कुटपिट भएको एक महिना बित्दा पनि प्रहरीले गम्भीर अनुसन्धान नगरेको गुनासो गरेका छन् ।

राप्रपा कार्यसम्पादन समितिको बैठकमा भएको विवादलाई लिएर श्रेष्ठमाथि उपाध्यक्ष विक्रम पाण्डेको समूहले २७ फागुनमा कुटपिट गरेको थियो । लगत्तै आफूले ठाडो उजुरी दिएको र कानुनी उपचार खोज्ने पार्टी निर्णयपछि विधिपूर्वक प्रहरी वृत्त, महारागञ्जमा किटानी जाहेरी दिएको उनले बताए ।

श्रेष्ठले भने, ‘तर एक महिना बितिसक्दा पनि प्रहरीले कसैलाई पक्राउ गरेको छैन । राजधानीमा भएको घटनामा अनौठो किमिसले प्रहरीले अहिलेसम्म मान्छे समात्न सकेन ।’

उनले पूर्वमन्त्री विक्रम पाण्डेसहित केही व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योग गरेको कसूरमा जाहेरी दिएका थिए । प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी अमर थापा भने आरोपीहरूको खोजी गर्ने कार्य भइरहेको दाबी गर्छन् ।

राप्रपालले बाँके जिल्ला समिति र काठमाडौंको शंखरापुर नगर समितिमाथि अनुशासनको कारबाहीबारे छलफल गर्न पार्टी कार्यालय, धुम्बाराहीमा कार्यसम्पादन समितिको बैठक बोलाएको थियो ।

नेताहरूका अनुसार शंखरापुर नगरपालिकाको पार्टी समितिले मेयर रमेश नापितलाई असहयोग गरेको भन्दै स्थानीय नेताहरूविरुद्ध उजुरी दिएका थिए । बैठकमा कार्य सम्पादन समिति सदस्य श्रेष्ठले उजुरीमाथि छानबिन गरेर मात्र कारबाही सिफारिस गर्नुपर्ने धारणा राखेका थिए ।

तर आफ्नो पालोमा बोल्ने क्रममा उपाध्यक्ष पाण्डेले श्रेष्ठतर्फ इंगित गर्दै नयाँ आएकाहरुलाई प्रशिक्षण दिनुपर्ने बताए । त्यसपछि श्रेष्ठले ‘तपाईं पनि भ्रष्टाचारी नै हो, किन ठूलो कुरा गर्नु हुन्छ’ भनेको नेताहरु बताउँछन् ।

यसअघि पाण्डेले उनीविरुद्ध कारबाहीको माग गरेका थिए । पछि पाण्डे समर्थितहरुको समूहले श्रेष्ठमाथि कुटपिट गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?