+
+

भ्रष्टाचारी भनेको भन्दै बिक्रम पाण्डेले कुटाए पार्टीका नेता

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते २१:५७
राप्रपा उपाध्यक्ष बिक्रम पाण्डे र नेता ठाकुरमोहन श्रेष्ठ ।

२७ फागुन, काठमाडौं । राप्रपा कार्यसम्पादन समिति सदस्य एवं सशस्त्र प्रहरी बलका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट भएको छ । आइतबार राप्रपाको कार्यसम्पादन समितिको बैठकमा भएको विवादलाई लिएर श्रेष्ठमाथि उपाध्यक्ष बिक्रम पाण्डेको समूहले कुटपिट गरेको नेताहरु बताउँछन् ।

राप्रपालले बाँके जिल्ला समिति र काठमाडौंको शंखरापुर नगर समितिमाथि अनुशासनको कारबाहीबारे छलफल गर्न पार्टी कार्यालय, धुम्बाराहीमा कार्यसम्पादन समितिको बैठक बोलाएको थियो ।

एक नेताका अनुसार शंखरापुर नगरपालिकाको पार्टी समितिले मेयर रमेश नापितलाई असहयोग गरेको भन्दै  स्थानीय नेताहरुविरुद्ध उजुरी गरेको छ ।

आइतबारको बैठकमा कार्यसम्पादन समिति सदस्य श्रेष्ठले उजुरीमाथि छानबिन गरेर मात्र कारबाही सिफारिस गर्नुपर्ने धारणा राखेका थिए । तर आफ्नो पालोमा बोल्ने क्रममा उपाध्यक्ष पाण्डेले श्रेष्ठतर्फ इंगित गर्दै नयाँ आएकाहरुलाई प्रशिक्षण दिनुपर्ने बताए ।

श्रेष्ठले जवाफ फर्काइहाले, ‘तपाईं पनि भ्रष्टाचारी नै हो, किन ठूलो कुरा गर्नु हुन्छ ।’

त्यसपछि पाण्डेले अप्रमाणित र व्यक्तिगत लान्छना लगाएको भन्दै श्रेष्ठमाथि कारबाही गर्न अध्यक्ष राजेन्द्र लिङ्देनसँग माग गरे । नभए बैठक बहिस्कार गर्ने उनले बताए ।

लिङ्देनले समय लिएर बोलिरहेको बेला जवाफ नफर्काउन र व्यक्तिगत तहमा आरोप प्रत्यारोप नगर्न रुलिङ गरे । तर पाण्डेले तत्काल श्रेष्ठलाई कारबाही गर्नुपर्ने बताए ।

अरु पनि एजेण्डा रहेको र त्यसक्रममा छलफल गर्ने बताएपछि पाण्डे बैठक स्थलबाट निस्किए । एक सहभागीका अनुसार उनी १५/२० मिनेटपछि फर्किए । त्यसपछि करिव आधा घण्टा बैठक चल्यो र खानाका लागि ब्रेक भयो ।

कार्यसम्पादन समिति सदस्यहरुलाई कार्यालय अगाडि खानाको व्यवस्था गरिएको थियो । अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु निस्केपछि श्रेष्ठ पनि निस्किए । ढोकाबाट अगाडि बढ्नासाथ उनीमाथि आक्रमण भयो ।

सार्वजनिक भएको सीसीटीभी फुटेजमा देखिएको दृश्यमा श्रेष्ठ अध्यक्ष लिङ्देनको कोठामा प्रवेश गर्न खोजेका थिए । तर ढोकामा पुग्दा नपुग्दै ४/५ जनाको समूहले श्रेष्ठलाई मुक्का र लात्ताले हाने ।

घटनापछि राप्रपा नेताहरुले पनि सीसीटीभी फुटेज हेरेका थिए, जसमा पाण्डेका पीए समेत रहेका सहमहामन्त्री प्रेम बलायर, काठमाडौं क्षेत्र नम्बर ४ का ऋद्धिप्रताप राणा, युवक संघका निराजन बम समेतले कुटपिट गरेको देखिएको छ ।

घटनापछि राप्रपा अध्यक्ष लिङ्देनले पार्टीका उपाध्यक्षहरुसँग छुट्टै छलफल गरेका थिए । त्यसक्रममा उनले यो आपराधिक घटना भएको र सीसीटीभी फटेज लगायतको अनुसन्धान गरेर कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने बताएका छन् ।

कार्यसम्पादन समितिको बैठकमा नेता ज्ञानेन्द्र शाहीले बैठक स्थगित गर्न माग गरेका थिए । बैठकमा बोल्यो कि बाहिर कुटाइ खाने अवस्था रहेको भन्दै उनले भनेका थिए, ‘अब को बोल्छ ? भित्र बोल्यो कि बाहिर कुटाइ खाइन्छ ।’

अध्यक्ष लिङ्देनले भने प्रहरीसँगै पार्टीले पनि अनुसन्धान गर्ने र दोषी देखिए कारबाही गर्ने बताएका छन् ।

पार्टी नेताहरुबाटै कुटिएका श्रेष्ठ भने हाल ग्रिनसिटी हस्पिटलमा उपचाररत छन् । फोनमा संक्षित कुराकानी गरेका उनले पार्टीमा कसैको मानमर्दन गर्नु हुन्न भनेर आफूले  बोलेको बताए ।

पार्टी अध्यक्षले रुलिङ गरेपछि त्यो विषय त्यहीँ सकिएको भन्दै उनले भने, ‘बाहिर निस्किने बेलामा ‘बैठकमा के बोलेको भनेर घेरेर कुटपिट गरे । सहमहामन्त्री एवं उहाँ (पाण्डे)का पीए पनि थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?