+
+

‘महानगर’को खुसी पात्रले सहरको वास्तविकता बुझाइदियो : मेनुका प्रधान

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २९ गते १७:२१

काठमाडौं । कार्म र मेनुका प्रधान अभिनित फिल्म ‘महानगर’ आगामी भदौ ८ गते देशव्यापी प्रदर्शनमा आउँदैछ । रिलिज मिति नजिकिएसँगै प्रचारप्रसारलाई तीव्र बनाएको मोहन राई निर्देशित फिल्मले सोमबार पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ ।

काठमाडौंमा सोमबार गरिएको अन्तरक्रिया कार्यक्रमा ‘महानगर’का निर्देशक मोहन राईले फिल्मबाट आफू निकै आशावादी रहेको बताए । ‘महानगरमा दुई पात्रलाई एक दुर्घटनाले जुराएको भेटपछि एक रातमै जीवनमा परिवर्तन ल्याएको कथा छ,’ उनले भने, ‘सहरमा हुने संघर्ष, चुनौती र मानवता कम हुँदै गएको समाजको विषयवस्तु पस्किने प्रयास गरेका छौं । फिल्मलाई दर्शकले रुचाउनेमा आशावादी छौं ।’

आफू काठमाडौं आएपछिको भोगाइलाई पनि केही मात्रामा फिल्ममा उतार्ने कोसिस गरेको उनले सुनाए ।

अभिनेत्री मेनुका प्रधानले ‘महानगर’मा खुसीको पात्रमा अभिनय गर्दा सहरको वास्तविकताबारे गहन रुपमा बुझ्ने मौका पाएको बताइन् । ‘मैले यो फिल्म गरेपछि समाजलाई हेर्ने मेरो दृष्टिकोण झनै फराकिलो भएको छ । गहन रुपमा समाजलाई बुझ्ने मौका पाएँ,’ उनले भनिन् ।

रातको दृश्यलाई मात्रै समेटेको फिल्मको छायांकन ३७ दिनमा पूरा गरिएको निर्देशक राईले जानकारी दिए ।

फिल्मले हलमा रिलिज हुनुअघि नै विभिन्न पुरस्कारसमेत जितिसकेको छ । फिल्मले निफमा राष्ट्रिय फिल्म क्याटगोरीमा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको थियो । त्यस्तै,  इण्डस भ्याली इन्टरनेसनल फिल्म फेस्टिभल तथा भारतको जागरण फिल्म फेस्टिभलमा पनि ‘महानगर’ छनोट भएको थियो ।

फिल्मलाई माउन्टेन रिभर फिल्म्स र गो विन प्रोडक्सन्ससँगको सहकार्यमा मिडलवे फिल्म्सले निर्माण गरेको हो । निर्देशक मोहन राई स्वयंको लेखन रहेको ‘महानगर’को कार्यकारी निर्माता गोविन्द पराजुली तथा क्रिएटिभ निर्माता नवनिधि दाहाल हुन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, संगम पन्थीको संगीत र परीक्षित झाको सम्पादन छ ।

फिल्ममा अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे, राज पौडेललगायत कलाकारले समेत अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?