+
+

देशमा १५ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चित, १० महिनाको आयात धान्न पुग्ने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १ गते १३:२४

१ भदौ, काठमाडौं । गत आर्थिक वर्षको अन्तिममा आउँदा १० महिनाको वस्तु तथा सेवा आयात धान्ने पुग्ने विदेशी मुद्रा सञ्चित भएको छ ।

मौद्रिक नीतिले ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चित राख्ने लक्ष्य लिएको थियो ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७९÷८० को वार्षिक आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार मौद्रिक नीतिको लक्ष्य भन्दा बढी विदेशी मुद्रा सञ्चित भएको हो ।

आर्थिक वर्ष २०७९/८० को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी मुद्राले ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षको पुससम्म सरकारले आयात नियन्त्रणका लागि एलसीमा नगद मार्जिन लगायतका कडाइ गरेको थियो ।

आर्थिक वर्षको सुरुमा आयातमा कडाइ र त्यसपछि आर्थिक गतिविधि कमजोर हुँदा आयातमा संकुचित हुँदा गत आर्थिक वर्षमा आयातमा भएको संकुचनले मौद्रिक नीतिको लक्ष्यभन्दा धेरै विदेशी मुद्रा सञ्चित भएको हो ।

रेमिट्यान्समा २१ प्रतिशतले वृद्धि भएर १२ खर्ब नाघेको र आयात १६ प्रतिशतले गिरावट हुँदा शोधनान्तर स्थितिसँगै विदेशी मुद्रा पनि उल्लेख्य रुपमा सञ्चित भएको हो ।

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबरको विदेशी मुद्रा सञ्चित रहेकोमा २०८० असार मसान्तमा आउँदा २६.६ प्रतिशतले बढेर १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको छ ।

२०७९ असार मसान्तसम्मा ९ अर्ब ५४ करोड अमेरिकी डलर बराबरको विदेशी मुद्रा सञ्जिच रहेकोमा २०८० असार मसान्तमा २३.१ प्रतिशतले बढेर ११ अर्ब ७४ करोड कायम भएको छ ।

१३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा नेपाल राष्ट्र बैंकसँग र १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा अन्य बैंक तथा वित्तीय संस्थासँग रहेको छ । २०८० असार मसान्तको कुल विदेशी मुद्रा सञ्चितीमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०८० असार मसान्तमा विदेशी मुद्रा सञ्चितीको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?