+
+

एसियन गेम्समा नेपालको इतिहास : ७२ वर्षमा २ रजत र २२ कांस्य मात्र

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० भदौ ५ गते ९:१४

४ भदौ, काठमाडौं । एसियामा हुने खेलकुदको सबैभन्दा ठूलो मेला एसियन गेम्समा नेपाल पहिलो संस्करणदेखि नै सहभागी हुँदै आएको छ ।

७२ वर्षअघि सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको पहिलो एसियन गेम्समा सहभागी भएको नेपालले सन् १९५४ को दोस्रो र १९६२ को चौथो संस्करणमा मात्र भाग लिएको थिएन ।

त्यसयता नेपालले १६ संस्करणमा सहभागिता जनाएको छ । चीनको हान्झाउ शहरमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने  १९औं संस्करणाको एसियाको खेल कुम्भमेलामा २९ खेलमा ३००भन्दा बढी नेपाली खेलाडी सहभागी हुँदैछन् ।

सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको पहिलो संस्करणामा सहभागी ११ राष्ट्रमा नेपाल पनि थियो ।

पहिलो संस्करणदेखि नै सहभागी भएको नेपालले पहिलो पदक जित्न १९८२ को १०औं संस्करणसम्म कुर्नुपरेको थियो ।

नेपालले १६ पटक एसियन गेम्स खेल्दा अहिलेसम्म जम्मा २ रजत र २२ कास्य गरी २४ पदक जितेको छ। तर अहिलेसम्म स्वर्ण जित्न सकेको छैन ।

नेपालका लागि सन् १९९८ मा बैंककमा भएको १३औँ एसियन गेम्समा तेक्वान्दोकी सविता राजभण्डारीले पहिलो पटक रजत दिलाएकी थिइन् ।

पछिल्लो पटक इन्डोनेसियामा भएको १८औं एसियन गेम्समा  प्याराग्लाइडिङ टिमले रजत पदक जितेको थियो । नेपालले तेक्वान्दो, प्याराग्लाइडिङसहित बक्सिङ र करातेमा मात्र अहिलेसम्म पदक जितेको छ ।

सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको १०औँ एसियन गेम्समा नेपालले एकैपटक ८ कास्य जितेको थियो। त्यसमा तेक्वान्दो र बक्सिङले ४-४ पदक जितेको थियो ।

तर त्यसयता नेपालको प्रदर्शन सुधार हुनुपर्नेमा झन् खस्कँदै गएको छ । चार खेल बाहेक अरु खेलमा पदक जित्न नसक्नु, स्वर्ण जित्न नसक्नुले पनि यसलाई पुष्टी गर्छ ।

अझ् पछिल्लो तीन संस्करणलाई हेर्ने हो भने नेपालले मुस्किलले एक मात्र पदक जित्दै आफूलाई पदक तालिकामा उभ्याएको थियो ।

२०१० मा चीनको ग्वाङ्झाउमा भएको एसियन गेम्सका बक्सिङका दिपक महर्जन र २०१४ मा कोरियाको इन्चोनमा भएको एसियन गेम्समा करातेकी विमला तामाङले कास्य पदक जितेका थिए । पछिल्लो पटक २०१८ मा इन्डोनेसियामा प्याराग्लाइडिङले रजत पदक जितेको थियो ।

तेक्वान्दोमा धेरै पदक, लगातार पदक जित्ने दिपक विष्ट

एसियन गेम्समा पदकका हिसाबले नेपालको सबैभन्दा सफल खेल तेक्वान्दो हो । जसमा नेपालले जितेको पदकको दुई तिहाई पदक पर्छ ।

तेक्वान्दोबाट नेपालले १ रजतसहित १५ पदक जितेको छ। तेक्वान्दो त्यस्तो खेल जसका खेलाडीले लगतार दुई पटक एसियन गेम्समा पदक जितेको छ । अझ सबैभन्दा पहिला रजत पदक जित्ने पनि तेक्वान्दोकै हो । तेक्वान्दोका दिपक विष्टले सन् २००२ र २००६ मा लगातार कांस्य पदक जितेका थिए ।

सन् १९८६ को दशौं एसियन गेम्समा पहिलो पटक तेक्वान्दो र बक्सिङबाट नेपालले पदक जितेको थियो । १९९० मा तेक्वान्दोले पदक जित्न सकेन । तर १९९४ को १२औंदेखि २००६ को १५औं संस्करणसम्म नेपालका लागि तेक्वान्दोले लगातार पदक दिलाएको थियो ।

१९९४, २००२ र २००६ मा नेपालले तेक्वान्दोमा मात्र पदक जितेको थियो ।

सधैंको प्रश्न स्वर्ण कहिले ?

सुरुमा नेपाल भन्दा कमजोर रहेका राष्ट्रहरुले पनि धेरै प्रगति गर्दै एसियन गेम्समा स्वर्ण जितिसकेका छ्न । तर नेपालले पहिलो पटक पदक जितेको साढे तीन दशक भइसक्दा पनि रजत मात्र जित्न सकेको छ ।

अन्य राष्ट्रहरु एउटा संस्करण सिकने बित्तिकै अर्को संस्करणका लागि तयारी सुरु गर्छन् । उनीहरु वर्षौंदेखि क्लोज क्याम्पमा बसेर प्रशिक्षण गरिरहेका छन् । तर नेपालले भने प्रतियोगिताको केही समय अघि मात्रै तयारी गरेर सहभागिता जनाएको उदाहरण छ ।

यस्तै कम समयको तयारी, वैदेशिक प्रशिक्षणमा कमी र वैज्ञानिक ढंगबाट प्रशिक्षण हुन नसक्दा नेपाली खेलाडीहरु अहिले पनि विपक्षीको तुलनामा धेरै नै पछि छन् ।

कतिपय अवस्थामा नेपाली खेलाडीले सिधै एसियन गेम्समै पुगेर पहिलो पटक विदेशी खेलाडीसँग खेल्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू समेत गर्छन् ।

एसियाडको १९औं संस्करण सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनमा हुँदैछ । जसमा एसियाका ४५ राष्ट्र सहभागी हुनेछन् भने ४० खेलमा ४८१ इभेन्ट समावेश हुनेछ ।

यस पटक नेपालले विभिन्न २९ खेलमा २३४ खेलाडी सहभागी गराउँदैछ । त्यसमा तेक्वान्दो, बक्सिङ र करातेलाई नेपालले मुख्य प्राथमिकतामा राख्दै पदक जित्ने सम्भावित खेलको रुपमा हेरेको छ ।

यस्तै अन्य केही खेलमा पनि नेपालले राम्रो प्रतिस्पर्धा गर्न सक्ने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रममा बताएका थिए ।

नेपालले एसियन गेम्समा पदक जित्न सक्ने खेललाई लक्षित गर्दै प्रशिक्षण र तयारी गर्ने भन्दा पनि धेरै खेलमा धेर खेलाडी सहभागिता गराउनेमा बढी केन्द्रित छ । जसले गर्दा धेर खेलको सहभागिता त हुनेछ तर पदक जित्ने मामलामा भने अझै पछाडि नै छ । नेपालले संख्यामा भन्दा पनि पदक जित्न सक्ने खेल र खेलाडी पहिचान गरेर तयारी गरेका लक्ष्य हात पार्न सक्छ ।

नेपालको लागि एसियन गेम्समा पदक जित्ने खेलाडीहरु:

१०औं एसियन गेम्स (सोल, दक्षिण कोरिया) -१९८६

स्व. दलबहादुर रानामगर  (बक्सिङ)  –  कांस्य

तुलबहादुर थापा         (बक्सिङ) –   कांस्य

सुशील पोखरेल          (बक्सिङ) –   कांस्य

मनोजबहादुर श्रेष्ठ       (बक्सिङ)  –  कांस्य

राजकुमार राई           (तेक्वान्दो)  कांस्य

विधान लामा            (तेक्वान्दो) – कांस्य

रामबहादुर घर्ती क्षेत्री      (तेक्वान्दो)  – कांस्य

राजकुमार बुढाथोकी       (तेक्वान्दो) – कांस्य

११औं एसियन गेम्स (बेइजिङ, चीन) – १९९०

चित्रबहादुर गुरुङ       (बक्सिङ)  – कांस्य

१२औं एसियन गेम्स (हिरोसिमा, जापान) -१९९४

मानबहादुर शाही      (तेक्वान्दो) -कांस्य

सीता राई           (तेक्वान्दो) -कांस्य

१३औं एसियन गेम्स (बैंकक, थाइल्याण्ड)- १९९८

सविता राजभण्डारी  (तेक्वान्दो) – रजत

किशोर श्रेष्ठ       (तेक्वान्दो)- कांस्य

सपना मल्ल       (तेक्वान्दो)-  कांस्य

समरर बहादुर गोले  (कराते) – कांस्य

१४औं एसियन गेम्स (बुसान, दक्षिण कोरिया)- २००२

दिपक विष्ट        (तेक्वान्दो)   – कांस्य

रेनुका रानामगर     (तेक्वान्दो)   – कांस्य

ऋतु जिमी राई      (तेक्वान्दो) –  कांस्य

१५औं एसियन गेम्स (दोहा, कतार)- २००६

दिपक विष्ट         (तेक्वान्दो)    –  कांस्य

आयशा शाक्य       (तेक्वान्दो) – कांस्य

मनिता शाही         (तेक्वान्दो)  –  कांस्य

१६औं एसियन गेम्स (ग्वाङ्झाउ, चीन)- २०१०

दिपक महर्जन      (बक्सिङ)    –  कांस्य

१७औं एसियन गेम्स (इन्चोन, दक्षिण कोरिया)- २०१४

विमला तामाङ        (कराते)   –   कांस्य

१८औं एसियन गेम्स (जाकार्ता/पालेम्बुङ, इन्डोनेसिया)- २०१८

प्याराग्लाइडिङ टिम

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?