+
+

‘हिरो हिरोइनका फोटा भित्ताभरि टाँस्छन्, तर नाग टाँस्न जान्दैनन् !’

हजुरबुवा अहिले हुनुभएको भए मुसुमुसु हाँस्दै लौ नाति अघि लाग् भन्दै नाग टाँस्न हिंडाउनुहुन्थ्यो होला। तर अहिले न हजुरबुवा हुनुहुन्छ न त पछिल्लो पुस्तालाई नागपञ्चमीको दिव्य ज्ञान दिने कोही व्यक्ति।

डा. अच्युत शाली घिमिरे डा. अच्युत शाली घिमिरे
२०८० भदौ ४ गते ११:१५

बर्खे बिदा सिद्धिइसकेको हुन्थ्यो। स्कुल जाने हतारोले घरका कामहरू त्यति हेर्न भ्याउँदिनथें। तर त्यो साल नागपञ्चमीको दिन हजुरबुवाले धर्म–कर्म पनि सिक्छ अनि सहयोग नि हुन्छ भन्दै मलाई गाउँघरमा सँगै डुलाउने निर्णय गर्नुभयो।

हजुरबुवाको लामो जुँगाको म साह्रै नै फ्यान थिएँ। मिलाएर ढाकाटोपी लगाउनुहुन्थ्यो अनि इस्टकोट र दौरा सुरुवालमा सजिनुहुन्थ्यो।

मठ मन्दिर जाँदा समेत नाति केटोले मन पराउँछ भन्दै नैवेद्यमा पाएको नरिवलको टुक्रा गोजीमा हालेर ल्याइदिनुहुन्थ्यो। हजुरबुवा त्यति विद्वान पण्डित त हुनुहुन्थेन तर अलि–अलि पुरोहित कर्म र संस्कृतको वेद–पुराणमा निपुण नै मानिनुहुन्थ्यो। त्यसैले गाउँघरमा पूजाआजा कर्म गर्नु पर्दा हजुरबुवालाई बोलाउँथे।

श्रावण शुक्लपञ्चमीका दिन सबैका घरघरका मूलढोकामा नागको तस्बिर टाँसेर पूजाआजा गरी नागपञ्चमी पर्व मनाइने चलन छ। उतिबेला म सानै छँदा यस दिनको महत्व र अर्थ खासै बुझेको थिइनँ। यसको महिमा र पौराणिक इतिहास त झन् छेउटुप्पै थाहा थिएन।

मलाई हजुरबुवाले बजारबाट गाउँघरभरिलाई पुग्ने नागका तस्बिरहरू किनेर ल्याउन भनेर अघिल्लो दिन नै भन्नुहुन्थ्यो। म हजुरबुवाले भने अनुसार नै सबै कुरा गर्थें ।

त्योभन्दा अगाडिका वर्षहरूमा म हजुरबुवासँग त्यसरी गाउँघर पनि डुलेको थिइनँ। सबैका घरघरमा नागका फोटाहरू देख्दा कसरी टाँस्दा हुन् भनेर बुझ्ने इच्छा पनि साह्रै थियो।

त्यो दिन बिहानै हजुरबुवा आफू उठिसकेपछि मलाई पनि उठाउनुभयो। र, नुहाईधुवाई गर्न भन्नुभयो। व्रतबन्ध समेत गरिसकेको हुनाले मैले जप–ध्यान पनि गरें। त्यसपछि कुनै घरमा आवश्यक पर्ने भन्दै गाईको गोबर, दूध, घिउ, फलफूल, अक्षता लगायत सबै सामग्री तयार पारेर झोलामा हाल्न लगाउनुभयो र बोक्न भन्नुभयो। त्यसपछि आफ्नै घरबाट सुरु गरेर हामी गाउँघरतिर डुल्न थाल्यौं।

हजुरबुवालाई मैले बाटोमा नागपञ्चमीको बारेमा धेरै प्रश्न सोधें। हजुरबुवाले उत्तर दिंदै जानुभयो। नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी जस्ता जीवहरूले कष्ट नदिने धार्मिक विश्वास रहेको समेत हजुरबुवाले बताउनुभयो। नागको पूजा समय–समयमा गरिएन भने पँधेरोमा पानी नआउने अनि आकाशबाट समेत पानी नपरेर अनिकाल लाग्ने जस्ता कुरा समेत हजुरबुवाले बताउनुभयो।

हरेकको घरघरमा नागको वास रहने हुनाले घरको भौतिक रक्षाका निम्ति समेत नागको पूजा गर्नुपर्ने बताउनुहुन्थ्यो । आजै अर्थात् नागपञ्चमीको दिन गर्मीका दिनहरूमा दूलो भित्र बसिराखेका नाग वर्षायुक्त शीतलताका लागि बाहिर निस्किन्छन् भन्ने कथन रहेको समेत हजुरबुवाले बताउनुहुन्थ्यो ।

मूल्यवान् मणिलाई शिरमा धारण गर्ने नागदेव श्रीखण्डको सुगन्ध र संगीतमा लट्ठ हुने रोचक कहानी समेत सुनाउनुभयो। भगवान शिवले नागको माला लगाएको फोटोमा मैले देखेको थिएँ। अनि काठमाडौं जाँदा बूढानीलकण्ठमा भगवान् विष्णु जलमाथि शेषनागको शय्यामा फणाको छाता ओढी सुतेको पनि देखेको थिएँ। त्यतिबेला हजुरबुवाको कुरा सुनिसकेपछि साँच्चै नै नाग देवता नै रहेछन् भन्ने विश्वास जाग्यो।

अलिकति उकालो हिंडेपछि हर्के दाइको घर आयो। हामी पुग्दा सबैजना हाम्रै पर्खाइमा बसेका रहेछन्। पूजा गर्ने सामग्री पनि ठिक्क पारेका रहेछन्। हजुरबुवाले विधिपूर्वक मूलढोकामा गाईको गोबरले नाग टाँस्दै पूजाआजा गरी धूप–अक्षता हालेर घिउको धारा दिएर मन्त्र पढ्न थाल्नुभयो।

नाग टाँस्ने काम सकिएपछि हर्के दाइ र भाउजुले हजुरबुवालाई टीका लगाएर दक्षिणा र नैवेद्य दिए। म पनि सँगै उभिएको देखेर बाहुनको नाति भन्दै मलाई पनि दश रुपैयाँ दक्षिणा र स्याउको दाना दिए। म औधी खुशी भएँ। घर गएर कति खेर दिदीहरूलाई देखाउँ जस्तो भयो। तर गाउँघर डुल्न अझै बाँकी नै थियो।

नागपञ्चमी पछि खेतबारीमा खनजोत गर्न नहुने र नाग, सर्पलगायतका जीवजन्तुलाई मार्न नहुने प्रचलन अझै पनि छ। अचेल धेरै मान्छे शहरिया भइसके। फेसन वा देखावटीका रूपमा मात्र नागको फोटो टाँस्ने गर्छन्। युवापुस्ता त अझ हिरो हिरोइनका फोटा भित्ताभरि टाँस्छन् तर नाग टाँस्न जान्दैनन्। तर पनि अझै मेला लाग्ने नागदह, नागपोखरी र कुण्डहरूको महत्व छुट्टै छ

मिदिम खोला तरेर रामसुन्दर दाइको घर जाने बेलामा मैले हजुरबुवालाई अघि पढेको मन्त्रको अर्थ भनिदिन आग्रह गरें। ‘नाग देवताहरू जो आकाश, पृथ्वी, स्वर्ग, सरोवर, तलाउ आदिमा वास गर्नुहुन्छ, उहाँहरू हामीदेखि प्रसन्न भइदिनुहोस्। हामी उहाँहरूलाई कोटिकोटि नमस्कार गर्दछौं।’

हजुरबुवाले मैले बुझ्ने सरल भाषामा भनिदिनुभयो। मिदिम खोलाको बाँसको फड्के बाढीले बगाएको थियो। जसोतसो हजुरबुवाको लौरीको सहयोगले हजुरबुवा र नाति भएर पारि तर्‍यौं। त्यो दिन बिदाको दिन थियो। अरु म जस्ता केटाकेटीहरू बाटोभरि खेलिरहेका थिए। म भने हजुरबुवाको छाताको छहारीमा नाग टाँस्न सँगै हिंडेको थिएँ।

रामसुन्दर दाइको घरमा पुग्दा नपुग्दै गोठ देखिन्थ्यो। जसमा गाई, भैंसी, गोरु बाँधिएका थिए। बाख्राका स-साना पाठाहरू यताउति खेलिरहेका थिए। हामी पुग्नासाथ हजुरबुवालाई रामसुन्दर दाजु भाउजुले नमस्कार गरे। अनि हजुरबुवाले आफ्नो नाग टाँस्ने कार्य सुरु गर्नुभयो।

सबै कार्य सिद्धिएपछि यतै खाना खाएर जान भन्दै दाजु भाउजुले आग्रह गरे। तर हजुरबुवाले मान्नुभएन अनि हामी हिंड्यौं। दिउँसोको बाह्र बजिसकेको थियो। भोकले मलाई अत्याइसकेको थियो। अलिअलि फलफूलको भरमा जसोतसो हिंडेको थिएँ। बीस-पच्चीस घर भ्याएपछि हजुरबुवा पनि घर फर्किन राजी हुनुभयो।

त्यसपछि बाटोभरि हजुरबुवाले नागदेवहरूको आशीर्वाद हामीले प्राप्त गरेमा हाम्रो उन्नति, प्रगति सहजै हुने र सुख शान्ति प्राप्त हुने कुरा व्यक्त गर्नुभयो। नागपञ्चमी जस्ता पर्वहरूले हाम्रो जैविक एवं वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अनि जीवहरूको संरक्षणका लागि पहल गर्ने कुरा समेत हजुरबुवाले गर्नुभयो।

हाम्रो सम्पदा, प्रकृति र पर्यावरणको रक्षा गर्न समेत नागपञ्चमी आवश्यक रहेको बताउनुभयो। विभिन्न पुराण, संहिता र ग्रन्थहरूमा समेत नागपञ्चमीको महत्व दर्शाइएको कुरा समेत गर्नुभयो। हाम्रा पुर्खा एवं ऋषिमुनिहरूले समेत नाग उपासनाका लागि अनेक व्रत र पूजाका विधिहरू गर्ने गरेका घटनाहरू समेत बताउनुभयो।

हजुरबुवाले फोटोमा भएका नागहरू देखाउँदै आठ कुलका आठ वटा नागहरूको पूजा गरिने समेत बताउनुभयो।

अनन्तो वासुकि पद्मो महापद्मश्च तक्षक: ।

कुलिर: कर्कट: शंखश्चाष्टौ नागा: प्रकीर्तिता: ।।

हजुरबुवाले श्लोकमा नै नागहरूको नाम समेत बताइदिनुभयो। त्यसपछि त म धन्य भएँ।

हामी घर पुग्यौं। घरमा बुवा–आमा खाना कुरेर बस्नुभएको रहेछ। खाना छिटो छिटो खाएर म भने त्यो दिनको दिनचर्या लेख्न बसें। हजुरबुवा आराम गर्न ओछ्यानमा पल्टिनुभयो। दिनचर्या लेख्दै गर्दा हजुरबुवाले सपनीमा नाग देखा परेको भन्दै नागको थानमा पूजाआजा गरेको पोहोरको घटना समेत सम्झना आयो।

रातो माटोले पोतेर चामलको पीठोले सेती नाग र गोबरले काली नाग बनाएर मासका गेडाले आँखा र कुशले पुच्छर बनाएर हजुरबुवाले विधि पुर्याएर पूजा गर्नुभाथ्यो। त्यस्तै मलाई स्वस्थानी व्रत कथामा समेत नाग नागिनीको प्रसंग रहेको कुरा समेत याद आयो। श्रीस्वस्थानी परमेश्वरीको प्रसादका रूपमा चन्द्रावती ब्राह्मणीले बगाएको आठ वटा रोटीका कारण शालीनदी र समुद्रको दोभानमा बाह्र वर्ष पछि नाग र नागिनीको भेट भएको प्रसंग पनि दिनचर्यामा उल्लेख गरें। त्यसपछि नाग र नागिनी दुवैले दिएको शुभ-आशिषका कारण चन्द्रावतीको राजा नवराजसँग भेट भएको कुरालाई पनि जोड दिएर लेखें।

लेखेर सिध्याएपछि हजुरबुवालाई सुनाएँ। अनि विद्यालयमा लगेर कक्षामा पनि सुनाएँ। त्यसपछिका धेरै दिनसम्म साथीहरू मलाई बाहुनको नाति भन्दै गिज्याउँथे तर मलाई गर्व लाग्थ्यो। जवाफमा फिस्स हाँसीदिन्थें।

नागपञ्चमी पछि खेतबारीमा खनजोत गर्न नहुने र नाग, सर्पलगायतका जीवजन्तुलाई मार्न नहुने प्रचलन अझै पनि छ। अचेल धेरै मान्छे शहरिया भइसके। फेसन वा देखावटीका रूपमा मात्र नागको फोटो टाँस्ने गर्छन्। युवापुस्ता त अझ हिरो हिरोइनका फोटा भित्ताभरि टाँस्छन् तर नाग टाँस्न जान्दैनन्। तर पनि अझै मेला लाग्ने नागदह, नागपोखरी र कुण्डहरूको महत्व छुट्टै छ।

अहिले फेरि विश्वलाई कोरोना विषाणुले ग्रसित पार्दैछ। त्यसमाथि हाम्रो देशमा परिरहेको अविरल झरीका कारण बाढीपहिरो जस्ता प्रकोपले पनि धनजनको क्षति भइराखेको छ। वातावरणीय सन्तुलन नमिलाउँदा र जीवजन्तुको अनावश्यक नाशका कारण कोरोना विषाणुले यति विकराल रूप लिएको दाबी धेरैले गरिराखेका छन्।

त्यसैले आउँदो समयमा नागपञ्चमीको महत्व अझ बढेर जानेमा विश्वास गर्न सकिन्छ। त्यस्तै बाढीपहिरोको जोखिम कम गर्न समेत जमिन र वर्षासँग सम्बन्ध राख्ने नागदेवको पूजाआजा पनि अति आवश्यक देखिन्छ।

हजुरबुवा अहिले हुनुभएको भए मुसुमुसु हाँस्दै लौ नाति अघि लाग् भन्दै नाग टाँस्न हिंडाउनुहुन्थ्यो होला। तर अहिले न हजुरबुवा हुनुहुन्छ न त पछिल्लो पुस्तालाई नागपञ्चमीको दिव्य ज्ञान दिने कोही व्यक्ति। भएका हजुरबुवा हजुरआमा पनि गाउँघरतिरै बस्ने र नातिनातिना शहर पढ्न पस्ने भएकाले संगत नै हुँदैन। त्यसैले त विस्तारै पछिल्लो पुस्तामा प्रकृति संरक्षणसँग जोडिएका धर्मकर्म हराउँदैछ अनि देश विदेशलाई संकटले बढी घेर्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?