+
+

नयाँ भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारणलाइनको उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ५ गते १५:०४

५ भदौ, काठमाडौं । नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सो सबस्टेसनसँगै हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारणलाइनको उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीमा मर्स्याङ्‍दी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत निर्माण गरिएको ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जीआईएस)’ प्रविधिमा आधारित सबस्टेसनको उद्घाटन गरेका हुन् ।

नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआईबी)को सहुलितपूर्ण ऋणमा सबस्टेसन र सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइन निर्माण गरिएको हो । सबस्टेसनको लागत १ अर्ब ५२ करोड र प्रसारणलाइनको लागत ५ अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।

नयाँ भरतपुर सबस्टेसन परिसरमा आयोजित उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले नयाँ भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारणलाइन पूर्वपश्चिम विद्युत आपूर्तिका लागि रणनीतिक महत्वको रहेको बताए । प्रधानमन्त्री प्रचण्डले देशभित्र उत्पादित विद्युत यहीं खपत गरी नागरिकको जीवनस्तरमा सुधार गर्न तथा विकासमा तिब्रता दिन र अतिरित्त भएको विद्युत निर्यात गरी अर्थतन्त्रलाई समृद्ध बनाउने गरी काम भइरहेको उल्लेख गरे ।

भारतसँग १० वर्षमा १० हजार मेगावाटको विद्युत व्यापार गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको भन्दै उनले यसलाई चाँडै अन्तिम हस्ताक्षर गरिने बताए । नेपालको विद्युत् बंगलादेशसम्म पुर्‍याउन तीन देशबीच सैद्धान्तिक सहमति भइसकेको भन्दै उनले चीनको भ्रमणमा छिट्टै जाने र चीनसँग प्रसारण लाइन र विद्युत व्यापारका विषयमा सम्झौता हुने बताए । उनले भने, ‘यसबाट देशको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने छ ।’

प्रधानमन्त्री प्रचण्डले जलविद्युत तथा प्रसारणलाइन आयोजना निर्माणमा रहेको रुख कटान र जग्गाअधिग्रहणको समस्या मौज्जुदा कानुनको संसोधन र नयाँ कानुनको निर्माण गरी सम्बोधन गरिने बताए ।१२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत रुपान्तरणकारी आयोजना र १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औपचारिक रुपमा प्राधिकरणलाई दिन लागिएको प्रधानमन्त्रीले उल्लेख गरे ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत खपत बढाउन र आपूर्तिलाई गुणात्मक रुपमा सुधारका लागि प्रसारण तथा वितरण प्रणाली सुधार र अतिरिक्त भएको विद्युत निर्यातका लागि अन्तरदेशीय प्रसारणलाइन निर्माण भइरहेको बताए । यसका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ काम अगाडि बढाइएको उल्लेख गरे ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस प्रसारण तथा वितरण लाइन निर्माणले मुलुकको समग्र विद्युत आपूर्तिमा सुधार हुने बताए ।

उद्घाटन गरिएको हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइनको लम्बाइ करिब १४७ किलोमिटर छ । एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने प्रसारणलाइनलाई हेटौंडा–भरतपुर र भरतपुर बर्दघाट दुई खण्डमा विभाजन गरी निर्माण गरिएको थियो ।

मकवानपुरको हेटौडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौंडा सबस्टेसनबाट नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारणलाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ ।

दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को बर्दघाट सबस्टेसमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारणलाइनलाई हाल १३२ केभीमा सञ्चालन ल्याइएको छ ।

प्रसारण लाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि हेटौडा–भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माण गरिएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो ।

प्रसारणलाइन निर्माणमा स्थानीयको अवरोध, जग्गा प्राप्तिमा समस्या, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानमा भएको ढिलाइ, ठेकेदार कम्पनीको कमजोर कार्यसम्पादनलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएको थियो । विश्व बैंक आयोजनाबाट २०७८ कात्तिकबाट पछिहटेपछि सरकार र प्राधिकरणको लगानीमा बाँकी काम अगाडि बढाइएको थियो ।

हेटौंडा–भरतपुर खण्ड निर्माणका लागि २०६५ फागुनमा ठेक्का सम्झौता भएको थियो । तर, काम नगरी रणनीतिक महत्वको प्रसारणलाइनको काम अलपत्र पारेपछि प्राधिकरणले उक्त ठेक्का तोडी नयाँ टेण्डर गरेको थियो । २०७७ जेठमा नयाँ ठेक्का सम्झौता गरी बाँकी काम गराइएको थियो ।

भरतपुर–बर्दघाट प्रसारणलाइनको लम्बाइ ७४ किलोमिटर प्रसारण निर्माणका लागि२०६७ कात्तिकमा ठेक्का सम्झौता भएको थियो । कार्यसम्पादन सन्तोषजनक नभएपछि उक्त कम्पनीसँगको ठेक्का सम्झौता २०७४जेठमा रद्द गरी प्राधिकरणले बाँकी काम गर्न नयाँ टेण्डर गरेको थियो । बाँकी रहेको काम गर्न २०७५ साउनमा ठेक्का सम्झौता भएको थियो ।

नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा केही स्थानीयले प्रसारणलाइनको रुट परिवर्तन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले २०७७ चैत २५ गते स्थानीयको माग बमोजिम अन्तरिम आदेश दिएपछि त्यस क्षेत्रमा पर्ने प्रसारणलाइनको दुई वटा टावर निर्माण रोकिएको थियो । सर्वोच्चले २०७९ असार १२ गते रिट खारेज गरेको थियो । त्यसपछि स्थानीयसँगको मुआब्जा तथा क्षतिपूर्तिका विषयमा निरन्तर छलफल गरी २०७९ चैतमा सहमति भएपछि निर्माण गरिएको थियो ।

मर्स्याङ्‍दी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत अन्तर्गत नयाँ भरतपुर र लमजुङको उदीपुरमा सबस्टेसन निर्माणका २०७७ असारमा ठेक्का सम्झौता भएको थियो । कोभिड–१९को महामारीका कारण सबस्टेसन निर्माण प्रभावित भएको थियो । मर्स्याङ्‍दी र त्यसका सहायक नदीहरुबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्‍दी करिडोर २२० केभी प्रसारणलाइन आयोजना सुरु गरिएको हो । प्रसारणलाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिने छ । चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारणलाइनको लम्बाइ करिब ११३ किलोमिटर छ ।

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारणलाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर सबस्टेसन निर्माण सम्पन्न भएको छ भने अन्य सबस्टेसनहरु निर्माणाधीन छन् ।

नयाँ भरतपुर सबस्टेसनमा १६०/१६० एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरहरु छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेको छ । यस प्याकेज अन्तर्गत खुदी र धारापानीमा सबस्टेसन निर्माणाधीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?