+
+

टीकापुर घटनाको सम्झनामा थारु समुदायले मनाए विद्रोह सभा (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ७ गते १५:१५
तस्वीर : विकास श्रेष्ठ/ अनलाइनखबर

७ भदौ, काठमाडौं । ८ वर्षअघि कैलालीको टीकापुरमा भएको थरुहट थारुवान आन्दोलनलाई बिहीबार थारू कल्याणकारिणी सभा र थरूहट थारूवान संयुक्त संघर्ष समितिले विद्रोह सभाको रुपमा सम्झना गरेको छ ।

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट/थारुवान आन्दोलनका क्रममा थारु समुदायमाथि आक्रमण भएको विरोधमा टीकापुर विद्रोह सभाको रुपमा मनाएको थारु कल्‍याणकारिणी सभाको उपत्यका आन्दोलन परिचालन समितिका संयोजक सुमन चौधरीले बताए ।

उनीहरूले टीकापुर घटनाका क्रममा लगाइएका झुठा मुद्दा फिर्ता गर्नुपर्ने र थारू कल्याणकारिणीसभा लगायतका थारू संघ संस्थासँग विभिन्‍न समयमा भएका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।

थारू कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरीले टीकापुर घटनामा दोषी ठहर भइ जेलमा रहेकाहरुलाई रिहा गर्न माग गरे । टीकापुर घटना थारू समुदायको हक अधिकार र पहिचानलाई स्थापित गराउने आन्दोलन भन्दै उनले भने, ‘तर राज्‍यले थारूमाथि चरम दमन गर्‍यो र अधिकार माग्‍नेलाई जेल हाल्यो । उनीहरूको चाँडै रिहाइ होस् ।’

नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्‍यक्ष चन्द्रप्रसाद चौधरीले टीकापुर घटनालाई गम्भीर रुपमा नलिए फेरि अर्को विद्रोह हुन सक्‍ने चेतावनी दिए ।

बिहीबार नै कैलालीको टीकापुरमा आयोजित कार्यक्रममा थारु अगुवा तथा विभिन्‍न राजनीतिक दलका नेताहरु सहभागी भए । उनीहरुले टीकापुर घटनालाई राज्‍यले राजनीतिक घटनाका रुपमा लिएर सबै बन्दीलाई रिहा गर्नुपर्ने उनीहरुको माग छ ।

संविधान निर्माणका बेला थरुहट थारुवान छुट्टै प्रदेश हुनुपर्ने माग गर्दै कैलालीको टीकापुरमा थारु समुदायले आन्दोलन गरेका थिए । त्यस क्रममा आन्दोलनकारी पक्षबाट भएको आक्रमणमा परी नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी र एक बालकको हत्या भएको थियो ।

यो घटनामा दोषी ठहर भएका रेशम चौधरी पाँच वर्ष जेल परेपछि गत १५ जेठमा राष्ट्रपतिबाट आममाफी पाएर रिहा भए भने सोही घटनाका कतिपय दोषीहरु जेलमै छन् ।

तस्वीरहरू : विकास श्रेष्ठ/ अनलाइनअबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?