+
+

६० किलो सुनको अनुसन्धानमा प्रहरीले माग्यो इन्टरपोलको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ८ गते २१:२८

८ भदौ, काठमाडौं । ६० किलो सुन बरामद प्रकरणको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोग मागेको छ ।

सीआईबीले इन्टरपोल बेइजिङमार्फत हङकङ सब–ब्यूरो र भारतको नेश्नल सेन्ट्रल ब्यूरो (दिल्ली) लाई सहयोग माग्दै पत्राचार गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर ३ साउनमा बरामद सुन हङकङबाट आएको थियो । त्यसैले सुन पठाउने व्यक्तिहरु र त्यहाँको थप नेक्ससबारे सूचना प्रहरीले हङकङस्थित इन्टरपोलका अधिकारीहरु मागेको छ ।

नेपालमा बरामद सुनको गन्तव्य भारत भएकाले त्यहाँ अधिकारीहरुसँग पनि सहयोग मागिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । साथै, नेपालमा सुनसहित पक्राउ परेका चिनियाँ नागरिकहरु यसअघि भारतमा पनि पक्राउ परेको सूचना प्रहरीले पाएको छ ।

भारतको राजश्व अनुसन्धान निर्देशनालयले चलाएको अपरेशनमा विभिन्न सामग्रीभित्र राखेर आएको सुन बरामद भएको थियो । त्यसबेला हाल नेपालमा पक्राउ परेका चिनियाँ नागरिकहरुमध्ये नै पक्राउ परेको प्रहरीले प्राम्भिक विवरण फेला पारेको छ ।

‘त्यसैले थप तथ्य माग्दै पत्राचार गरेका छौं’, सीआईबी स्रोतले अनलाइनखबरसँग भन्यो, ‘हङकङ र भारतबाट प्राप्त हुने सूचना अनुसन्धानमा निकै सहयोगी हुने अपेक्षा गरेका छौं ।’

प्रकरणमा प्रहरीले चिनियाँ नागरिक ओ फुछङ्, ली वन् सुङ, डिङ सेल्फा, ली नेङ्काई लगायतलाई पक्राउ गरेको छ । सेल्फा र नेङ्काईलाई प्रहरीले ललितपुरको डाउन टाउन अपार्टमेन्टमा छापा मारेर पक्राउ गरेको थियो ।

उनीहरुसँगै बस्ने प्रबन्ध मिलाइदिने ठमेलस्थित केटीबी काराओके रेष्टुरेन्टका दुई सञ्चालक पनि हिरासतमा छन् । रेष्टुरेन्ट ठमेलको होटल भियना नजिकै छ ।

प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?