+
+

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हङकङ र नयाँ दिल्लीसँग जोडियो, पहिलो उडानमा थिएनन् यात्रु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते १५:०१

१२ भदौ, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हङकङ र नयाँ दिल्लीसँग हवाई उडानमा जोडिएको छ । नेपाल वायुसेवा निगमले काठमाडौंलाई ट्रान्जिट बनाएर यी दुई गन्तव्यका लागि उडान सुरु गरेको हो ।

मलेसियाको क्वालालाम्पुरबाट आएको निगमको जहाज मंगलबार भैरहवा अवतरण गरेको थियो । यसै जहाजले हङकङ र नयाँ दिल्ली जान टिकट काटेका यात्रुलाई काठमाडौं ल्याउने र काठमाडौं ट्रान्जिट गराई सम्बन्धित गन्तव्य लैजाने निगमको योजना छ ।

आइतबारदेखि मात्र टिकट बुकिङ खुला गरेका कारण मंगलबारको उडानमा यी दुवै गन्तव्यमा जाने यात्रु भैरहवाबाट भने नचढेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

‘हामीले उडान सुरु गरेका छौं, बुकिङ खोलेको दुई दिनमै उडान भएकाले यो उडानमा यात्रु थिएनन्, अर्को साताबाट यात्रु आउने अपेक्षा छ,’ उनले भने ।

भैरहवाबाट काठमाडौं आउँदा क्वालालाम्पुरबाट काठमाडौं आउन चढेका यात्रु मात्र सो जहाजमा आएका थिए । निगमले हरेक मंगलबार भैरहवाबाट हङकङ र नयाँ दिल्ली जाने यात्रुलाई काठमाडौं ल्याएर ट्रान्जिट गराई ती गन्तव्यमा जाने यात्रुलाई लैजाने योजना बनाएको छ । यस योजना अनुसार यात्रुले भैरहवाबाटै हङकङ वा नयाँ दिल्लीसम्मको बोर्डिङ पास पाउँछन् । ब्यागेज समेत सम्बन्धित गन्तव्यमै पुग्ने भएकाले काठमाडौंमा उनीहरुले थप प्रक्रिया भने पार गर्नु पर्दैन ।

निगमको उडान तालिका अनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ः०० बजे काठमाडौंमा अवतरण गर्ने छ । ट्रान्जिट भई हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्ने छन् । यात्रुको सुविधाका लागि चेक इन गर्दा नै गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

यात्रुहरुले निगमको कार्यालय वा निगमको वेबसाइटमा लगइन गरी निगमको टिकट किन्न सक्ने भएका छन् । यसअघि निगमले क्वालालाम्पुरलाई भैरहवासँग जोडेर नियमित उडान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?