+
+
मनोवाद :

बुढो मान्छे र बरको रूख

पीपल र मेरी श्रीमतीको देहावसान सँगसँगै जस्तो भएको थियो। यो बर र म सँगसँगै जस्तो विधुर हुन पुगेका थियौं।

तुल्सी गिरी तुल्सी गिरी
२०८० भदौ १३ गते १२:५२

८९ पूरा गरेर ९० वर्षमा प्रवेश गरें। मेरा हजुरबाले मलाई काँधमा चढाएर हिंड्दा भनेका कुराहरू मेरा लागि अझै ताजै लाग्छ। बुढो हजुरबाले रोप्नुभएको बर र पीपललाई बिहे गरिदिन पाउनुभएन। उहाँले छोरालाई जिम्मा दिएर बित्नुभएको कुरा हजुरबाले गर्नुहुन्थ्यो। हजुरबा बितेको पनि असी वर्ष भयो।

हजुरबाका कथा र कहानी सुन्दै हुर्केको म कहिल्यै पनि निरूत्साही हुन जानिनँ। असी वर्ष अगाडि बितेका मेरा हजुरबा र तीस वर्षअघि बितेका मेरा बाबाको जिन्दगीभन्दा मेरो जिन्दगी धेरै फरक छ।

शहरीकरण नदेखेका मेरा हजुरबा र यसको सुरूवातमै बितेका मेरा बाको कहानीभन्दा मेरो कहानी धेरै फरक रह्यो। हजुरबाका अनुसार जिन्दगीमा बर-पीपल लगाउनु चौतारो चिन्नु भन्ने पाका भनाइले पर्यावरण संरक्षणको सन्देश दिने रहेछ। यो कुराको मर्मबोध मलाई पहिले भन्दा अहिले धेरै हुन थालेको छ।

कला, संस्कृति र पर्यावरणको संरक्षण विना मानवीय जिन्दगी नै प्रश्नमय हुनेरहेछ भन्ने मलाई आज थाहा हुँदैछ। पनाति र पनातिनीले खाँदै गरेको दूधभात मेरा नजरले नदेखेका थिएनन्।

उनीहरूले खाँदै गरेको दूधभातमा तरकारीको रस मिसाउँदाको नुनिलो स्वाद मेरो खीरमा थियो। बाबालाई आज खीर बनाइदिएकी छु भन्दै नातिनी बुहारीले खीर ल्याइदिंदा खुशी लाग्यो। खाँदै गर्दा नुनको स्वाद आयो। मैले सोधें, ‘नानी खीरमा किन नुन मिसायौ ?’

‘नून र चिनीको समिश्रणमा पचाउन सक्ने शक्ति धेरै हुन्छ’ बुहारीको उत्तरमा म नतमस्तक भएँ। म बुढो मान्छे उनीहरूको भारमा परिणत भएको छु। ममा ‘ए’ भन्ने भन्दा अरू कुनै उत्तर छैन। किनकि मेरो जिउने आधार भनेका तिनै हुन्। म एक्लो छु। सँगै हुनका लागि मैले मेरो संस्कृति भुल्नुपर्छ।

म मेरो जिन्दगी मेरो तरिकाले जिउँदैछु। मेरा पनाति पनातिनीको कुराले मलाई जिउने आधार मिल्छ किनकि उनीहरूमा कुनै वनावटी कुरा छैन। तर नातिनातिनी वा नातिनी बुहारीका कारणले मलाई आत्महत्याको नजिक पुर्‍याउँछ। तर ममा आत्महत्या गर्न सक्ने क्षमता छैन किनकि मैले धेरै अभाव झेलिसकेको छु।

मलाई मेरो अस्तित्वभन्दा उनीहरूको अस्तित्व रहने हो कि होइन भन्नेमा चिन्ता छ। म धेरै निराश भएर आउँदा मेरो आफ्नो साथी मेरो हजुर बाको बाले लगाउनुभएको बरको छायाँमा बस्ने गर्दछु र ऊ (बर) सँगै मेरा गुनासाहरू विछ्याउने गर्दछु।

बर र पीपलको रूख लगाएको पनि आज करिब १२० वर्ष जस्तो भयो होला। त्यहाँ आज पीपलको रूख छैन। पीपलको छायाँसँगै धेरै जग्गा पर्तीको रूपमा रहेको थियो। बढ्दो शहरीकरणसँगै भूमाफियाको चपेटामा परेको जग्गा एस्काभेटर लगाउँदै जाँदा पीपलको रूख ढल्न पुग्यो।

एस्काभेटरको चोट र पीपलको देहावसानसँगै ढुङ्गे धारो पनि सधैंको लागि पानीविहीन हुनगयो। त्यो पीपल र मेरी श्रीमतीको देहावसान सँगसँगै जस्तो भएको थियो। यो बर र म सँगसँगै जस्तो विधुर हुन पुगेका थियौं।

मेरो उमेर करिब तीस वर्षको हुँदाको घटनामा पुग्छु। एकाबिहानै रामे आत्तिंदै आइपुग्यो- लौ न के भयो दाइ, मेरो श्रीमतीले के गरी के गरी पासो पो लगाइछ। त्यो मात्र होइन पल्ला घरे सिते र राधे पनि त्यहीं झुण्डिएका छन्।’

यो सुनेर हत्त र पत्त गएर हेरेको, तीनै जनाको प्राणपखेरू गइसकेको रहेछ।

श्रीमान् बाहेक अरू पुरुषसँग बोलेको बहानामै बात लगाइएका र त्यसबाट बस्नै नसक्ने स्थिति भएपछि तीन जनाको ज्यान पीपलको रूखमै गएकाले त्यो बर-पीपल चौतारी अलच्छिन भन्ने गर्छन्। तर त्यो पीपललाई के थाहा ऊ अलच्छिन हो कि लच्छिन हो भन्ने!

जब तीन जना महिलाको एकसाथ पासो लगाएर ज्यान गयो, तीन जना महिलाको प्राण जाने अन्तिम घडीका यथार्थ साक्षी त बर र पीपल छन्। तर उनीहरूलाई के थाहा समाजको विकृत संस्कृति। प्राकृतिक रूपमा बच्चा जन्माउने स्वतन्त्रता र यौवनको रङ्गमञ्चमा मान्छे कति क्रुर छ भन्ने कुरा।

बर र पीपल जसरी महिलाहरूको आत्महत्याको साक्षी भए त्यसै गरी यदि लोग्नेमान्छेले पनि त्यसरी नै आत्महत्या गरेको भए देख्ने भन्दा अरू केही गर्ने क्षमता उनीहरूमा थिएन।

म जहिले मेरो दुःख विछ्याउनुछ भने म त्यहीं बरको रूखमा पुग्छु। ती डराउन दिने भनेर चिनिने पीपल मरेर गइन्। ती तीन महिलाका शरीरहरू मरेर गए। मरेर जाने ती पीपल होस् वा ती तीन महिलाका शरीर, दोष पीपल मरेपछि बरमा सरेको छ। तर मेरो दुःखेसो गर्ने त्यही बर मात्र रहेको छ।

बुढो भएको छ बर। उ ढलेमा अलिकति जग्गा बढ्नेछ भन्नेमा भू-माफियाहरू छन्। पीपल र ढुङ्गेधाराको अवसान एकसाथ भयो। बर पनि मभन्दा पहिले गयो भने मेरो दुःख-सुख बिसाउने कुनै ठाउँ बाँकी रहने छैन।

म बरको फेदमा बसेको छु। हावा चलेको छ। भू-माफियाहरूले निकालेको माटोबाट बरको रूख नै असुरक्षित भएको छ।

वरिपरि रहेका सबै हावाबाट जोगिन घरभित्र पसेका छन्। मलाई पनि यता आउनुस् भनेर तान्दै छन् तर म गएको छैन। मेरो इतिहास र मेरो जिन्दगीको गोरेटो मैले पूर्णविराम लगाउन चाहन्छु। मलाई आत्महत्या गर्ने आँट छैन। म प्राकृतिक रूपमा मर्न चाहन्छु।

यस्तो सोच्दासोच्दै ठूलो हावा र पानी आयो। बर गर्‍याम्म गरेको आवाज आयो। मैले केही थाहा पाइनँ। सायद मेरो इहलीला समाप्त भएको हुनुपर्छ। म कुनै पुनर्जन्ममा पुगेको छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?